खोज र अनुन्धानले मानव इतिहासलाई उजिल्याउँदै लैजाने काम गरिरहेको छ । आफ्नै विगत र इतिहासको खोजका क्रममा इजिप्टको बालुवाभित्र ३,४०० वर्ष पुरानो सुनको सहर फेला परेको छ । इजिप्टको लक्जर भन्ने ठाउँमा भेटिएको यो पुरानो सहरको अवशेषले मानव इतिहासको अध्ययनमा ठूलो सहयोग पुर्याउने देखिएको छ ।
पुरातत्वविदका अनुसार यो सहर इजिप्टको दक्षिणी राज्य लक्जरस्थित नाइल नदीको किनारामा फेला परेको छ । हजारौं वर्ष पहिले हराएकाले यसका बारेमा इजिप्टमा अनेकन किम्बदन्तीहरु थिए र छन् पनि । यसको परिकल्पना गर्दै इजिप्टमा बगैचा, चोक तथा अन्य पर्यटकीय स्थलहरु निर्माण गरी तृष्णा र मनोकांक्षा पूरा गर्ने गरे पनि आखिर यो सहर कहाँ थियो भन्ने बारेमा कौतुहलता कायमै थियो ।
पुरातत्वविदहरु यही सहरकै खोजीमा त थिएनन् । तर पनि उनीहरुको खोजी कार्य अपूरो भए पनि अटुट र बढी आशावादी हुँदै गैरहेको थियो । सन् १९२२ मा इजिप्टको सर्वाधिक चर्चामा रहेको फेरो वा राजा तुतन खामेनको समाधिस्थलको प्राप्तिपछि अहिलेको यो सुनको सहरको प्राप्ति निकै ठूलो उपलब्धी मानिएको छ ।
पत्ता लगाइएको सुनको सहर सबैभन्दा पुरानो ठूलो सहरमध्येको एक हो । यो आफैमा पनि आश्चर्य यस कारणले बनेको छ कि हजारौं वर्षसम्म यो सहर कसरी बालुवामुनि हराउन सक्यो ? जुन बालुवा हावाले उडाएर ढाक्यो, त्यही बालुवा त्यहाँबाट उडाएर सुनको सहर छोटै समयमा मानिसका लागि देखिन किन सकेन ? यो भेटिने बित्तिकै इजिप्टका पुरातत्वविद जाही हवासले निकै उत्साहका साथ घोषणा गरेका थिए कि हराएको सुनको सहर भेटिएको छ, यो राजाहरुको सहर हो ।
त्यति बेला ‘एटेन’ सहरका नामले चिनिने यो प्राचीन सहर मानव इतिहासमा एक चाखलाग्दो उपलब्धी बनेर आएको छ । विश्वका धेरै धेरै पुरातत्व विदहरुले समय समयमा यसको खोजी गरे पनि यसको बारेमा थाह पाउन सकेनन् । उनीहरुका लागि यो किम्बदन्ती जस्तो बनिसकेको भए पनि हाल पत्ता लागेर यो यथार्थता बनिसकेको छ ।
राजधानी सहर कायरोदेखि ५०० कि.मि. दक्षिणमा पाइएको यो ‘एटेन’ वा सुनको सहरले पुरातत्वविदहरुलाई चक्मा दिएको छ । कारण के थियो भने स्वयम् पूरातत्वविद यो सहरको खोजीमा थिएनन् । पाउने आशा त उनीहरुमा छदै थिएन । तथापि यो सहर भेटियो । वास्तवमा उनीहरु राजा तुतन खामेनको शवगृहको खोजीमा थिए ।
यो खोजीमा भएको ७ महिनासम्मको उत्खनन्मा स्थानीय जनता तथा प्रशासन र स्थानीय निकायहरुको उत्साहपूर्ण सहभागिता रहेको थियो । त्यति बेला एटेनमा अमेनहोटेप तृतीयले शासन गर्दथे । उनको १३५४ बि.सी. तिर निधन भएको थियो । उनले करबि ४ दशकसम्म शासन गरे । उनको शासनकाल निकै समृद्ध र विकसित मानिन्थ्यो । उनको स्मरण रहिरहोस् भन्नका लागि दुई ठूला ढुंगाहरु राखिएको थियो । यी दुई ठूला ढुंगाहरुले राजा र रानीको प्रतिनिधित्व गर्दछन् ।
त्यहाँ भेटिएका अन्य सामग्रीले यो सहर हिजो मात्र हराएको हो कि भन्ने जस्तो भावनात्मक सन्देश प्रवाह गरिरहेको छ । तथापि यो ३ हजार ४ शय वर्ष हामीहरुको आँखाबाट ओझेलमा पर्यो र हामीबाट हरायो । वास्तवमा यो इजिप्टको स्वर्णकाल थियो ।
यो सहरको उत्खनन्सँगै भेटिएका समाधिस्थलबाट मानिसका अस्थिपञ्जरसँगै बहुमूल्य सामग्री पनि भेटिएका छन् । यस अघि भटिएको राजा तुतनखामेनको मम्मीफाई गरिएको समाधिस्थलसँगै १० किलो सुनबाट बनेको मुखौटो भेटिएको थियो । यससँगै करबि पाँच हजार निकै महंगा कलाकृति पनि भेटिएका थिए ।
इजिप्टले आफ्नो खस्कदो पर्यटन व्यवसायको साख माथि उठाउन निकै प्रयास गरिरहेका बेला भेटिएको सुनको सहरले ठूलो त्राण भर्ने देखिएको छ । त्यसो त प्राचीन कुराहरुप्रति विश्वका मानव समुदायको चासो र लगावमा निकै बृद्धि हुँदै गैरहेको छ ।
यो अनुसन्धान र उत्खनन्बाट इजिप्टले आफ्नो पर्यटन व्यावसायमा निकै ठूलो उपलब्धी हासिल गर्ने छ । हालसम्म इजिप्टले १८ वटा राजाहरु तथा २ वटी रानीहरुको मम्मीफाइ गरिएको (मुखाकृतिलाई जस्ताको तस्तै राख्ने बनाइएको) अवशेषहरु आफ्नो ‘न्यु न्याश्नल म्युजियम’मा सारिसकेको छ । अहिले त अमेनहोटेप तृतीय र उनकी रानीको अवशेष पनि त्यहाँ सारि सकिएको छ ।