• मंसिर १३ २०८१, बिहीबार

प्रम ओली र नेकपाका नेता विश्वकर्माबीच भेटवार्ता

बैशाख ४ २०७८, शनिबार

काठमाडौं । प्रधानमन्त्री खड्कप्रसाद ओली र नेकपाका नेता  खड्कबहादुर विश्वकर्माबीच शनिबार बालुवाटारमा भेटवार्ता भएको छ । भेटमा सरकार र विप्लव नेकपाबीच भएको तीन बुँदै सहमति कार्यान्वयनको प्रगति, बन्दी रिहाई र झुट्ठा मुद्धा खारेजीको विषयमा छलफल भएको बताइएको छ ।

छलफलमा नेकपाका नेता, कार्यकर्ताको रिहाई र उनीहरुमाथि लगाइएको मुद्धा खारेजी गर्ने कार्य अन्तिम चरणमा पुगेको र वार्ता र सहमति प्रगतिमूलक भएको निष्कर्ष निकालिएको छ ।

भेटमा विश्वकर्माले देशमा दोस्रो चरणको कोरोना संक्रमण अत्यधिक बढेको र त्यसको रोकथामको लागि सरकारी धारणाको माग गरेका थिए भने प्रधानमन्त्री ओलीले कोरोना नियन्त्रणमा सरकारले चालेका कदमको बारेमा जानकारी गराएको बताइएको छ ।

भेटवार्तामा देशको जटिल राजनीतिक अवस्था र त्यसको अग्रगामी निकासको बारेमा समेत छलफल भएको छ । यसैगरी सरकारले गर्ने विकास निर्माण र जनसरोकारका कामहरुलाई घनिभूतरुपमा अगाडि बढाउनुपर्ने विषयमा समेत छलफल भएको बताइएको छ ।