• माघ १८ २०८१, शुक्रबार

अविरल बग्छिन् मेरी टिस्टा

बैशाख ४ २०७८, शनिबार

छङ्गुबाट हाम्फालेर
हिउँको चट्टानमा चिप्लिंदै
स्वर्गबाट झरेकी उर्वशी
तिलोत्तमा प्रत्येक अङ्गअङ्ग
मर्काउँदै उत्ताउलो पाराले बगेकी
मेरी टिस्टा ।

घामको पहिलो स्पर्शमा
हिमाल कुत्कुतिएको तपतप पग्लंदै
अहो..चित्तचकित चञ्चला
क्षितिजबाट टाढा
निरन्तर भाग्दैभाग्दै अलमस्तले बगेकी
मेरी टिस्टा ।

उमङ्गले उत्तेजित
मृग शावकझैँ
काल्ना काल्नाबाट उर्फंदै
बलेनी बनेलीबाट
भेलमा जाइफलका बोटहरुसँग
साउती मार्दै प्रेमधारा बगेकी
मेरी टिस्टा ।

लाजले नतमस्तक
पहिलो राजस्वलामा
बेस्सरी धुक्धुकाउँदै
मदहोस यौवना उछालिंदै बगेकी
मेरी टिस्टा ।

कतै हुनसक्छ इतिहासले
सम्झना योग्य
साँध ठोक्दै खाँदो पखालेर
मनमनमा नेपालीको
तातो रगत बगाउँदै
आज हेरिरहेछु
मेरी टिस्टा ।

अझ मेरो त कलिला
आफ्नै पदचिन्ह खोज्दै
लाचिन र लाचुङ्गमा
बाल्यापनको उन्मुक्तामा हराउँदै
सम्झनामा बगेकी
मेरी टिस्टा ।

किनारमा अवस्थित
तुङ स्मृतिको पातलो लहरमा
लहरींदै उत्ताल निमग्न जल तरङ्गमा
प्रेम र सदभावनाको झण्डा हल्लाउँदै
अझै बग्दै हुनुपर्छ
मेरी टिस्टा ।

घुमका घुम्ती र फाँटहरु
छिचोल्दै त्यो अविश्रान्त महायात्रा
शान्तिको बुद्व सन्देश फैलाउँदै
अविरल बग्नैपर्छ
मेरी टिस्टा ।

डी.कौडिन्यद्धारा प्रकाशित ‘बन्दुक, आँशु र फूलहरु’ नामक कविता संग्रहबाट ।