• मंसिर २० २०८१, बिहीबार

‘यूके भ्यारियन्ट’ अनुसार खोप देऊ

बैशाख ४ २०७८, शनिबार

युके भ्यारियन्टअनुसार खोप दिएमा नेपालमा महामारी संक्रमण रोकथाममा बढि प्रभावकारिता आउने सर्वसाधरण जनताको समेत् अपेक्षा छ । नेपालमा कोरोना महामारी संक्रमणको दोस्रो लहरका रूपमा युके भ्यारियन्टको संक्रमण बढेसँगै जनजीवन फेरि अस्तव्यस्त हुँदै गएको छ । ठीक एक वर्ष पहिले बेहोरिएको संक्रमणभन्दा निकै जटिल र बढी क्षति पु¥याउँदै उकालो लागिरहेको यो लहर बढी खतरनाक र क्षति पुर्याउने खालको रहेकोमा विशेषज्ञको मतैक्यता छ ।

नेपाली जनजीवनमा यो संक्रमण निकै फैलँदो क्रममा रहेकाले यसको रोकथामका लागि अपनाइनु पर्ने उपाय तथा खोप पनि यो भ्यारिन्टको प्रकृति अनुसार हुनु पर्नेमा सबैको जोड रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय यो भ्यारियन्टबाट सतर्क रहन सूचना गरे पनि प्रभावकारी रुपमा यसको राकथामका लागि पहल गर्न सकेको छैन ।

नेपालमा फैलिएको पहिलो लहरमा बालबालिकामा त्यसको प्रभाव देखिएको थिएन । यो प्रौढका लागि बढी जोखिमपूर्ण थियो तर युके भ्यारियन्ट बालबालिकाका लागि निकै जोखिमपूर्ण रहेको देखिएको छ । हालसम्म संक्रसिमत बालबालिका सघन कक्षमा उपचाररत रहनुले पनि यो कम खतरनाक नरहेको पुष्टि हुन्छ ।

पहिलो लहरले छातीभित्र फोक्सोमा असर गर्ने र निमोनिया भएकालाई गम्भीर रूपमा आक्रमण गर्ने, अनि दीर्घरोगीलाई निकै सताउने गरेको थियो । बिरामी परेकालाई पनि संक्रमण गराई निकै च्याप्ने गरेको देखिएको थियो । तर युके भ्यारियन्टले मिर्गाैला तथा कलेजोमा आक्रमण गर्ने गरेको तथ्य खुल्न आएको छ । सबैभन्दा भिन्नता त यसले बालबालिकालाई निकै सताउने गरिरहेको छ । हाल बालबालिकामा संक्रमणदर उच्च हुँदै गएको छ ।

नेपालकै तथ्यांकमा पनि दैनिक संक्रमितमध्ये १० प्रतिशतसम्म बालबालिका रहने गरेका छन् । यो निकै जोखिमपूर्ण अवस्था हो । संक्रमणको बिस्तारसँगै अस्पतालमा भर्ना हुने संक्रमितमा बालबालिका धेरै देखिन थालेका छन् । यसै विषयलाई लिएर रोकथामका उपायमध्ये भिडभाड बन्द गर्ने, बिद्यालय बन्द गर्ने आदि विषयमा सरकार अनिर्णित हुन पुगेको छ ।

साँगुरा कक्षा कोठा, गल्ली निकै साँगुरा, फिल्ड कम तथा ट्वाइलेट सामूहिक भएका कारण पनि विद्यालयबाटै बालबालिकामा युके भ्यारियन्ट फैलन सक्ने देखिएको छ । बिद्यालयमा सामाजिक तथा भौतिक दूरी कायम गर्न सकिने अवस्था देखिदैन । हाल विद्यालय उमेरका अर्थात् १७ वर्षमुनिका बालबालिका बढी संक्रमित हुने गरेका छन् ।

छिमेकी देश भारतमा यसको संक्रमण दर निकै उच्च रहेका बेलामा खुला सीमाना आवतजावतमा ख्याल पुर्याउनु जरुरी छ । अहिले त नेपालमा कोरोना संक्रमण बिर्सिएको जस्तो देखिएको छ । प्रयोगमा ल्याइएका क्वारेन्टाइन, कारोना परीक्षण यन्त्र, अस्पताका बेड तथा मास्कको प्रयोगमा ध्यान दिइएको देखिदैन । जनस्वास्थ्यमा प्रशासनिक व्यवस्थापनलाई पर्खने र अनुशरण गर्ने हो भने युके भ्यारियन्ट निकै खतरनाक हुने देखिन्छ ।
त्यसैले युके भ्यारियन्टअनुसार रोकथामका उपाय खोजिनु र खोप दिइनु जरुरी हुन गएको छ ।