दाङ । लामो समयदेखि खाली रहेका दाङका दुई उपमहानगरपालिका र बङ्गलाचुली गाँउपालिकामा निर्वाचित सरकार आएपछि नागरिकले परिवर्तन महशुस गरेका छन् । शिक्षा, स्वास्थ्य, सिञ्चाइ, फोहरमैला व्यवस्थापनजस्ता लोकप्रिय काम गरेकाले स्थानीय सरकारप्रति मतदाता खुशी हुन थालेका हुन् ।
ब्यावसायिक खेतीको रिहर्सल :
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १३ का नवराज रावतले टनेलमा तरकारी खेती गर्दै आएका छन् । बेमौसमी तरकारी खेतीबाट वार्षिक ७ लाखसम्म आम्दानी गरेको उनी बताउँछन् । व्यावसायिक रुपमा ठुलो परिमाणमा खेती गर्न एक्लै सम्भव नभएपछि रावतले अहिले साथीहरुसँग मिलेर १८ विगाहा जमीनमा विभिन्न तरकारी लगाएका छन् । ‘राम्रो होला भन्ने अपेक्षा छ, नतिजा आउन वाँकी छ’ उनले भने ।
त्यसैगरी तुलसीपुर उपमहानगरपालिका ७ का भदे पुनले लामो समयदेखि च्याउखेती गर्दै आएका छन् । उनले वार्षिक १७ हजार डल्ला च्याउ उत्पादन गरिरहेका छन् । तुलसीपुर उपमहानगरपालिकाले कृषकलाई प्रोत्साहित गर्नका लागि नगरभित्रका ५ जना उत्कृष्ट कृषकलाई नगद ५ हजारसहित सम्मान गरेको छ । यसरी पुरस्कृत हुने तरकारी खेती गर्ने किसानमा नवराज रावत, भदे पुन, दोलकबहादुर खत्री, सुरज चौधरी र जनदिश भण्डारी छन् । ‘सम्मानले अझै केही नयाँ काम गर्ने उत्साह जगाएको छ’ अर्का सम्मानित कृषक जनदिश भण्डारीले भने । उनले बेसार खेती गर्दै आएका छन् ।
पहिचान र परिचयपत्र :
उपमहानगरपालिकाले १२ जना किसानलाई पोशाक दिएर सम्मान गरेको छ । यसैगरी उपमहानगरपालिकाले व्यावसायिक कृषकको पहिचानका लागि कृषक परिचय पत्र समेत वितरण गरेको छ । उपमहानगरपालिका भित्रका २२ जना किसानलाई यस्तो परिचय पत्र वितरण गरिएको हो । सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर बृद्धि गर्न तुलसीपुर उपमहानगरपालिकाले रणनीतिक योजना बनाई लागु गरेको छ । पहिलो चरणमा विद्यार्थी संख्या कम भएको १३ वटा सामुदायिक विद्यालयको १ देखि ५ सम्मका कक्षा बन्द गरेको छ । विद्यालयमा विद्यार्थी कम भएका र नजिकै दुरीमा दुई वटा सामुदायिक विद्यालय भएकाले त्यस्ता विद्यालयको विद्यार्थी भर्ना अभियान रोकिएको तुलसीपुर उपमहानगरपालिकाको शिक्षा महाशाखाले बताएको छ ।
शिक्षामा आँखा :
बिद्यार्थी बढाउन तथा भौतिक पूर्वाधार सुधारका लागि उपमहानगरपालिकाले अघिल्लो बर्ष नै म्याद तोक्दा पनि बिद्यार्थी नबढेपछि कक्षा स्थगन गरेको जनाएको छ । ती विद्यालयमा कार्यरत स्थायी, अस्थायी र राहत दरबन्दीका शिक्षकलाई अन्य विद्यालयमा गाभिएको छ । कार्यालयका अनुसार कक्षा स्थगन गरिएका विद्यालयमा बालविकास कक्षा भने सञ्चालन भइरहेको छ । आगामी बर्षमा ती बिद्यालयका लागि मापदण्ड तयार गरी कक्षा भर्ना गर्न अनुमति दिने वा नदिने भन्ने विषयमा छलफल नभएको उपमहानगरपालिकाका शिक्षा संयोजक देवराज विश्वकर्माले बताए ।
तुलसीपुर उपमहानगरपालिकाका ७० वटा सामुदायिक विद्यालयमध्ये ५ वटालाई नमुना विद्यालय बनाउने योजना उपमहानगरपालिकाले तय गरेको छ । शिक्षा महाशाखाका प्रमुख भाष्कर गौतमका अनुसार सिकाई उपलब्धि सबैभन्दा कमजोर भएका बिद्यालयलाई छनौट गरी नमुना बनाउन लागिएको हो । “नमुना विद्यालयका विद्यार्थीलाई खाजा तथा अतिरिक्त कक्षा र विषयगत शिक्षक उपलब्ध गराएको छौं” गौतमले भने । गौतमका अनुसार नमुना बनाउन छनौट गरिएका विद्यालयका शिक्षकले पाठयोजना बनाएर त्यसकै आधारमा पढाउनु पर्छ । नमुना स्कुलका गतिविधिको नियमित अनुगमन गरिने कुरा पनि गौतमले बताए ।
बहुप्राविधिक शिक्षालय र दक्ष जनशक्तिमा जोड :
तुलसीपुर उपमहानगरपालिकाले दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य पनि लिएको छ । यसका लागि बहुप्राविधिक शिक्षालय स्थापना गरी कक्षा सञ्चालन गरेको छ । उपमहानगरपालिका आफैले सञ्चालन गरेको मेट्रो कलेजमा ३ वर्षे वन विज्ञान, मेकानिकल इन्जिनियरिङ, डिप्लोमा इन एग्रिकल्चर, डिप्लोमा इन इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङ र डिप्लोमा इन फुड एण्ड डेरीको पढाइ भैरहेको छ । कक्षा सञ्चालनका लागि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सीटीईभीटीबाट स्वीकृति लिएको छ । शिक्षालयका लागि तुलसीपुर १२ हरिपौरीमा भवन निर्माण गरिएको छ ।
तुलसीपुरलाई प्राविधिक शिक्षाको केन्द्रका रुपमा स्थापना गर्नका लागि उपमहानगरपालिकाले वहुप्राविधिक शिक्षालय सञ्चालनको अवधारणा अगाडि बढाएको मेयर घनश्याम पाण्डेले बताए । पाण्डेका अनुसार आगामी दिनमा थप विषय अध्यापन गराइने छ । अहिले विभिन्न प्रकारका सिप सिकाउने उद्देश्यले १४ प्रकारका तालिम पनि सञ्चालन भैरहेको उनले जानकारी दिए । उक्त तालिमपश्चात् उनीहरु स्वरोजगार बन्न सक्नेछन् ।
आमा तथा शिशु स्याहारमा प्रोत्साहन :
तुलसीपुर उपमहानगरपालिकाले सुत्केरी भत्ता वितरण गरेको छ । अहिलेसम्म १५ सय ५ जनाले सुत्केरी भत्ता लिएको तुलसीपुर उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख डाक्टर गोकर्ण दाहालले बताए । डाक्टर दाहालका अनुसार स्वास्थ्य महाशाखाले बनाएको नियम पुरागरेका १ हजार २ सय ३२ जना हरेकले ४१ सय, नियम पूरा नगरेका २ सय ४२ जना हरेकले २५ सय र ३१ जना हरेकले १ हजारका दरले प्रोत्साहन भत्ता पाएका छन् । उनका अनुसार नियमानुसार सुत्केरी हुनुभन्दा पहिले ४ पटक मान्यताप्राप्त स्वास्थ्य संस्थामा गर्भ जाँच गराएको, मान्यताप्राप्त स्वास्थ्य संस्थामा सुत्केरी गराएको, बच्चा जन्मेको ३५ दिनभित्र जन्मदर्ता गरेको र बच्चालाई बीजीसी खोप लगाएकोलाई ४१ सय, गर्भ चेक नगराएर अन्य प्रक्रिया पूरा गरेको भए २५ सय र घरमै बच्चा जन्माए पनि अन्य प्रक्रिया पूरा गरेको भए १ हजार दिइने छ ।
सुत्केरी महिलाहरुले आवश्यकताअनुसार स्वस्थ्य जाँच गराउन्, पोषिलो खानेकुरा खाउन् र न्यानो कपडा लगाउन सकून् भन्नका लागि सुत्केरी भत्ता वितरण गरिएको पाण्डेले बताए । पाण्डेले निम्न वर्गका जनतालाई लक्षित गरेर सञ्चालन गरिएको कार्यक्रम निकै प्रभावकारी भएको समेत दाबी गरे । अर्को वर्षदेखि वडाबाटै सुत्केरी भत्ता वितरण गर्ने उनले बताए । त्यस्तै दुर्गम गाँउमा रहेका बर्थिङ सेन्टरमा बच्चा जन्माउने सुत्ेकरीलाई पनि ५ हजार भत्ता दिंदै आएको उनले जानकारी दिए ।
फोहरबाट उर्जा :
घोराही उपमहानगरपालिकाले आगामी एक वर्ष भित्रमा फोहोरबाट खाना पकाउने ग्याँस निकाल्ने तयारी गरेकोे छ । उपमहानगरपालिकाको १६ नम्वर वडामा रहेको ल्यान्डफिल साइटमा फोहोरबाट ग्याँस निकाल्न लागिएको हो । उपमहानगरपालिका, वैकल्पिक ऊर्जा केन्द्र र नेपाल ऊर्जा विकास कम्पनीको सहकार्यमा यो काम भैरहेको छ । ग्याँस उत्पादन गर्न करिब २० करोड लगानी लाग्ने अनुमान गरीएको छ । २ हजार घन मिटरको प्लान्टबाट ग्याँस उत्पादन भएपछि सिलिन्डरमा भरेर बजारमा पठाउने बताइएको छ ।
ग्यास उत्पादनका लागि अहिले भौतिक संरचना निर्माण भइरहेको नेपाल ऊर्जा विकास कम्पनीका प्लान्ट म्यानेजर हरिशरण श्रेष्ठले बताए । उनका अनुसार अहिले लगभग ९० प्रतिशत भौतिक निर्माणको काम सकिएको छ भने अबको ६ महिनाभित्र ग्यास उत्पादन गर्नेगरी काम अगाडि बढाइएको छ । “प्राविधिक समस्या भएमात्र केही ढिलाइ हुन सक्छ”, प्लान्ट म्यानेजर श्रेष्ठले भने । गत मंसिरमा सम्झौता भएपनि ल्याण्डफिल साइटको दुर्गन्धले स्वास्थ्यमा असर पुग्ने भन्दै स्थानीय बासिन्दाले विरोध गरेपछि काममा केही समय ढिलाइ भएको थियो ।
ग्यास प्लान्ट निर्माणमा उर्जा विकास कम्पनी :
कम्पनीले स्थानीयवासीलाई पोखरामा निर्माण गरिएको ग्याँस प्लान्ट देखाएपछि ग्याँस प्लान्ट निर्माण गर्न दिन उनीहरु सहमत भएको श्रेष्ठले बताए । ग्याँस उत्पादन गर्नका लागि घोराही उपमहानगरपालिकाले साढे दुई बिगाह जग्गा उपलब्ध गराएको हो । कम्पनी र उपमहानगरपालिकाबीच २० वर्षको सम्झौता समेत भएको छ । त्यसपछि संरचनासहित सबै पूर्वाधार चालु अवस्थामा घोराही उपमहानगरपालिकालाई हस्तान्तरण गर्नेगरी सम्झौता गरिएको घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीले बताए ।
नेपाल उर्जा विकास कम्पनीले ग्याँससँगै कम्पोष्ट मल पनि उत्पादन गर्ने योजनामा छ । फोहोरबाट ग्याँस उत्पादन भएपछि ग्याँसको मूल्य घट्ने आशा स्थानिय बासिन्दाले गरेका छन् । यस अघि दाङमा फोहोरबाट उर्जा उत्पादन गर्ने प्रयास गरिएको थिएन । यसबाट उपमहानगरपालिकालाई फोहर व्यवस्थापनमा समेत सजिलो हुने अपेक्षा गरिएको छ । अहिले त्यहाँ बजार क्षेत्रमा गल्ने र नगल्ने फोहर घरमै छुट्टाउनु पर्ने नियम बनाइएको छ । फोहर बोक्ने गाडीहरुले गल्ने र नगल्ने फोहर छुट्टाछुट्टै उठाउने गरेका छन् ।
अस्पताल निर्माणमा पहल :
त्यस्तै बङ्गलाचुली गाँउपालिकाले स्वास्थ्य क्षेत्रमा सुधार ल्याउने प्रयत्न गरेको छ । पाँच नम्वर प्रदेशमै १५ सैयाको अस्पताल सञ्चालन गर्ने पहिलो गाँउपालिका बन्न पुगेको छ बङ्गलाचुली । “सामान्य बिरामी भएपनि २ सय रुपैया एकतर्फी भाडा तिरेर उपचारका लागि घोराही जानुपर्ने समस्याको अन्त्य गरेका छौं”, गाँउपालिकाका अध्यक्ष भक्तबहादुर वलीले भने । अस्पतालमा एक जना एमबीबीएस् डाक्टर, ३ जना नर्स, २ जना अहेव र एक जना ल्याव असिस्टेन्ट छन् । अस्पतालमा कार्यरत डाक्टर बसन्त शाहका अनुसार दैनिक १० देखि १५ जनासम्म बिरामी सो अस्पतालमा आउने गरेका छन् ।