सौभाग्यको कुरा नै मान्नुपर्दछ कि नेपालमा सबैखाले कृषिका लागि उपयुक्त हावापानी उपलब्ध छ । तथापि प्रकृतिप्रदत्त उक्त उपहारको यथोचित उपयोग गर्न हामी चुकिरहेका छौ । अर्थात् माल पाएर पनि चाल पाउन सकिरहेका छैनौ, हामीले । यसैको ताजा उदाहरण हो, पुष्प खेती । जहाँ नेपाल कृषि प्रधान मुलुक भैकन पनि पुष्प निर्यात गर्नु पर्नेमा आयात गर्ने गरिएको छ ।
जहाँसम्म नेपालमा पुष्प ब्यवसायको इतिहिासिक पृष्ठभूमिको सवाल छ, नेपालमा पुष्प खेतीको संस्थागत र ब्यावसायिक रुपमा थालनी भएको २७ बर्ष ब्यतित भैसकेको छ । नेपालमा २००७ सालदेखि थोरबहुत सुरुआतभएको थियो भने बि.स. २०१०÷११ मा नर्सरी सुरुआत गरिएको इतिहास छ । नेपालमा बि. सं. २०४२-४३ मा आइपुग्दा कृर्षक पुष्प खेतीतर्फ विशेष आकर्षित भए । यसै सिलसिलामा पुष्प क्षेत्रको संस्थागत विकास गर्न निजी क्षेत्रको पहलकदमीमा नेपाल फ्लोरिकल्चर एसोसियन (फ्यान) को स्थापना २०४९ कार्तिकमा भयो । हालसम्म ७ सय ब्यवसायीले संस्थागत रुपमा पुष्प व्यवसाय संगठित भएका छन् ।
तथापि, २०७५-७६ सम्ममा ४३ जिल्लाका १ सय ५७ हेक्टर क्षेत्रफलमा संगठित रुपमा पुष्पब्यवसाय बिस्तार भएको छ । करिब ६ अर्ब ५० करोड लगानी रहेको पुष्प क्षेत्रले प्रत्यक्ष्य र अप्रत्य गरी ४३ हजार ५ सय जनालाई रोजगारी उपलब्ध गराएको छ । ०७५-७६ मा आन्तरिक र बाह्य गरी कूल २.४२ अर्बको कारोवार भएको छ । पुष्प क्षेत्रको प्रबद्र्धनका लागि सरकारले पुष्प प्रबद्र्धन नीति, २०६९ सरकारले अगाडि सारेको छ भने पुष्पक्षेत्र वार्षिक १०-१२ प्रतिशतले ब्यापार बृद्धि भइरहेको छ । स्मरण रहोस् विश्वमा पुष्प ६५ सय प्रजाति रहेकोमा नेपालमा मात्र ७ सय प्रजातिको पुष्प नेपालमा पाइन्छ । त्यस्तै विश्वमा पुष्पको २ सय अर्ब डलरको बजार रहेको छ । जसमा नेदरल्यान्डले मात्र ८० प्रतिशत ब्यापार गर्दछ । यी सबथोका बाबजुद नेपालमा पुष्पक्षेत्रमा वैदेशिक लगानी भने अझै भित्रिएको छैन ।
पुष्प उत्पादनको हकमा हाल नेपालमा मखमली, गोदाबरी, सयपत्री, लालुपाते, बकमबेली, जाँईजुई, टिउबरोज, जबेरा, वर्ड अफप्याराडाइज, कार्नेसन, लिलि, निलोसिस, रातोसिस, पेटेनिया, तेन्जिनिया, असर्फी लगायका ७ सय प्रकारका पुष्प नेपालमा उत्पादन हुने गरेको छ । ब्यवासायिक रुपमा पुष्प खेती काठमाडौं, पाल्पा, झापालगायत ४३ जिल्लामा बिस्तार भएको छ । गुलाब, कारनेसन, सयपत्री, गोदावरी, जर्बेरा लगायतका पुष्पको नेदरल्यान्ड, हल्यान्ड, थाइल्यान्ड र अमेरिकामा उच्चमाग रहेको छ ।
परन्तु जुनरुपमा पुष्प क्षेत्रको विकास हुनु पर्ने हो सो अनुरुप भने यो क्षेत्र फराकिलो हुन सकेको छैन । २०५७-५८ मा २० करोडको पुष्प निर्यात भएकोमा २०७५-७६ मा १ करोडमा झर्नु वा २०७५-७६ मा १९ करोडको पुष्प आयात हुँदा १ करोडको मात्र पुष्प निर्यात हुनुले उक्त कुराको सबुत दिन्छ । घरेलु उत्पादनले आन्तरिक मागको ६० प्रतिशतमात्र धान्न सक्नु पनि अर्को प्रमाण हो । त्यसो त पुष्प निर्यात सम्भवना रहेको कृषि बस्तुमध्ये एक महत्वपूर्ण वस्तु हो । नेपालले पुष्प क्षेत्रको प्रबद्र्धनबाट लाभलिन सक्ने थुप्रै आधार छन् । पहिलो–नेपालको हावापानी तथा भूबनावट पुष्पका लागि बास्तवमै उपयुक्त रहेको छ । दोस्रो, सयपत्रीलगायत कतिपय पुष्पबाट तीन महिनामै प्रतिफललिन सकिन्छ । तेस्रो, पुष्प क्षेत्रका उत्पादक र ब्यबसायीले अन्य क्षेत्रको तुलनमा आकर्षक लाभ लिन सक्दछन् ।
नेपालले आयोजना गरेको पुस्प एक्सोमा बेकमबेल नामक पुष्पको मूल्य २० हजार तय गरिने त्यसको ज्वलन्त उदाहरण हो । चौथो, कम उब्जाउ जमिन वा बारीका काल्नामा समेत पुष्प खेती हुन सक्दछ । पाँचौ, पुष्प खेतीका लागि बिशेष तालिम वा प्राबिधिक ज्ञान आबश्यक पनि पर्दैन । छैठौं, पुष्पको प्रयोग दिनानुदिन बृद्धि हुनुले पुष्प बिक्री नहोला कि भन्ने सूर्ता गर्नु अबस्था छैन । अर्कोतर्फ आन्तरिक आवश्यकता पूरा गर्न पुष्प आयात गर्नुपर्ने अबस्था रहेकाले बजारको अभाब नरहेको अबस्था छ । सातौं, कोरिया, जापान, हल्यान्ड, जर्मनी, नेदरल्यान्ड, थाइल्यान्ड, अमेरिका, कतार लगायतका मुलुकमा नेपाली पुष्प रुचाइएको छ । यी सब थोक नेपालको पुष्प क्षेत्रको मजबुत पक्षहरु हुन् ।
मर्निङ ग्लोरी नर्सरी थानकोटमा पुष्प ब्यवसायी तथा विकासकर्मी केशवराज शर्मा पनि नेपालको पुष्प क्षेत्रको भबिष्य निकै सुन्दर रहेको जताउँछन् । उनको कथन छ ‘नेपालमा पुष्प क्षेत्रमा थुप्रै सम्भावना छन् । पुष्पको भविष्य किन पनि सुन्दर छ भने हामीकहाँ खाले पुष्प उत्पादन हुने हावापानी उपलब्ध छ । छोटो समयमै पुष्पबाट प्रतिफल प्राप्त गर्न सकिन्छ । सयपत्रीलगायतका कैयन फूल ३ महिनमै तैयार हुन्छन् । मूल्य राम्रो प्राप्त हुन्छ । मैले नै ३÷३ हजार पर्ने एक फिट उचाइको लालिगुँरास कोरिया पठाएको छु । डेनमार्क, कोरिया लगयातका मुलुकमा नेपाली पुष्पको ख्याति निकै राम्रो छ । बारीका काल्नामा पनि सामान्य सिपकै भरमा पुष्प उत्पादन हुन सक्छ ।’ परन्तु हामी भने माल पाएर पनि चाल नपाइरहेको अबस्थामा भौतारिरहेका छौं ।
नेपालको पुष्प क्षेत्र आषातित फक्रन नसक्नुका पछाडि तमाम कारणहरु छन् । पछिल्लो समयमा नेपालको पुष्प क्षेत्रले राज्यबाट पाउनुप र्ने सेवा, सुबिधा, सहयोग र सहुलियत प्राप्त गर्न नसकिरहेको अबस्था छ । पुष्प ब्यवसायीको शब्दमा, ‘बिगतमा उपलब्ध हुँदै आएको सहुलियत समेत पछिल्लो समयमा कटौती भएको छ । अनुदानका लागि केन्द्रमा जाँदा प्रदेशमा र प्रदेशमा जाँदा केन्द्रमा देखाइन्छ ।’ जब कि पुष्प क्षेत्र निकै सम्भवना बोकेको निर्यातमूलक क्षेत्र हो । निजी क्षेत्रको बलबुतामा पुष्प क्षेत्र टिकेको कुनै सन्देह छैन । पुष्प क्षेत्रमा सरकारको लगानी बृद्धि सून्य रहँदा निजी क्षेत्रको लगानी बार्षिक औषत १० करोडका दरले बृद्धि हुनु चानचुने कुरा हुँदै होइन । जब कि पुष्प क्षेत्रमा सरकारको लगानी अत्यन्त न्युन छ । थप लगानी बिस्तार गर्ने कुनै सोच सरकारसँग छैन । सरकारी लगानी यस क्षेत्रमा वास्तवमै न्युन छ । २०७६÷७७ मा ३ करोड मात्र बिनियोजन हुनुले उक्त कुराको सबुत दिन्छ । जुन प्रशसनिक खर्च समेतको रकम हो ।
खुला अर्थब्यवस्था अबलम्बन गरेको मुलुकमा पुष्प क्षेत्र प्रतिस्पर्धाबाट अछूतो रहन सक्ने कुरै रहदैन । नेपाली पुष्प क्षेत्रले प्रतिस्पर्धा गर्नु पर्ने भनेको भारतीय पुष्प क्षेत्रसंग नै हो । प्रतिस्पर्धाको लागि लागतको अहम् भूमिका रहन्छ नै । पुष्प क्षेत्रलाई संरक्षण गरी प्रतिस्पर्धी बनाउन भारतमा ट्रक रेफ्रिजेरेशनमा ५० प्रतिशत, फ्रेटमा २५ प्रतिशतसम्म अनुदान उपलब्ध गराउने गरेको छ । त्यसमाथि अनेकन ट्याक्स होलिडेको दिइन्छ । बिऊबिजनमा समेत अनुदान उपलब्ध गराउन कन्जुस्याँइ गरिएको छैन । तर हामीकहाँ भने कोल्ड स्टोरेजमा मात्र अनुदान उपलब्ध हुने ब्यबस्था छ । गलाकाट प्रतिस्र्धामा उत्रनु पर्ने पुष्प क्षेत्रको लागि यो नगन्य सहुलियत नै हो । प्रविधि बिना प्रतिस्पर्धा असंभव कुरा हो । तर पूँजीको अभावमा नेपालका पुष्प उत्पादन हाइटेक प्रविधिप्रयोग गर्न सक्षम छैनन् । यी सबथोकका कारण भारतमा एउटा फूलको माला ५ रुपैयाँ भारुमा तैयार हुँदा नेपालमा ३० रुपैयाँ नेरु पर्न जाने ब्यवसायी बताउँछन् । यसैले नेपालको पुष्प बजारमा भारतीय पुष्पको दादागिरी चलेको हो ।
पुष्प प्रबद्र्धन नीति, २०६९ पुष्प निजी क्षेत्रको जोडबलमै आएको पुष्प ब्यवसायी जिकिर गर्दछन् । पुष्प खेतीको बिस्तार गर्ने, निजी क्षेत्रको पहुँच बृृद्धि गर्ने, कृर्षकलाई ब्यावसायी बनाउने, स्थानीय आनुवांशिक उत्पादनको संरक्षण गर्ने लगायतका कुरा नीतिमा उल्लेख छ । तर नीति कार्यान्वयन गर्न सरकार उदासिन रहेको फ्लोरीकल्चर एसोसियसन(फ्यान) को आरोप छ । एसोसियसनका अध्यक्ष कुमार कसुज श्रेष्ठ भन्दछन्– ‘पुष्प प्रवर्द्धन नीतिले हरेक कृषकलाई संगठित गरी क्षमता विकास गर्ने लक्ष्य लिएको छ । तर सरकारले नीति कार्यान्वयन गर्न चाहन्न । सरकारले कृर्षकलाई सधै कृषककै रुपमा सीमित गर्न चाहन्छ । ब्यवसायी बनाउन चाहन्न । पुष्पसम्बन्धी आयोजना तथा कार्यक्रमलाई सरकारी कर्मचारीले कमाइ खाने भाँडो मात्र बनाएका छन् । अनुदानको ५० प्रतिशत रकम पनि पुष्प क्षेत्रको ठोस उपभोग हुन सकेको छैन ।’