काठमाडौं । प्रधानमन्त्री केपी ओलीले बोलाएको सर्वदलीय बैठकमा नेकपा माओवादी केन्द्रका नेताहरु नजाने भएका छन् । संसद अधिवेशन, कोरोना महामारी लगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री ओलीले शनिबार विहान ११ बजे सर्वदलीय बैठक बोलाएका छन् तर माओवादी नेताहरुले भने सर्वदलीय बैठकबारे पार्टीलाई कुनै जानकारी नभएको बताएका छन् ।
सर्वदलीय बैठकमा कोको जाने हो भन्ने प्रश्नमा माओवादी नेता नारायणकाजी श्रेष्ठले भने, ‘कुन मिटिङ ? हामीलाई त कुनै खबर छैन ।’ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको निजी सचिवालयले पनि सर्वदलीय बैठकका लागि खबर नआएको बताएको छ ।
सचिवालयका एक सदस्यका अनुसार प्रधानमन्त्री ओलीले शुक्रबार प्रचण्डलाई टेलिफोन गरी तीन नेता (ओली, प्रचण्ड र शेरबहादुर देउवा) बीच भेटवार्ता गर्ने प्रस्ताव मात्र राखेका थिए । जवाफमा प्रचण्डले थप कुराकानी गरौंला भनेका थिए । दुई नेताबीच टेलिफोन सम्वाद भए लगतै सर्वदलीय बैठक बोलाएको समाचार सञ्चार माध्यमहरुमा आए पनि पार्टीलाई खबर नभएको एक सदस्यले बताए ।
प्रधानमन्त्री केपी ओलीका प्रेस ल्लाहकार सूर्य थापाले भने माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई पनि सर्वदलीय बैठकमा बोलाइएको बताए । उनले भने, ‘बैठकमा उहाँलाई पनि बोलाइएको हो, आउने र नआउने कुरा उहाँहरुकै हो ।’