• मंसिर १३ २०८१, बिहीबार

एमसीसी पुनः संसदमा पेश गरेर पारित गर्न खोजेकोप्रति नेपाल कम्युनिष्ट पार्टीको गम्भीर ध्यानाकर्षण 

बैशाख ३ २०७८, शुक्रबार

काठमाडौं । सभामुख समक्ष प्रस्तुत विवादास्पद र सन्देहास्पद राष्ट्रघाती एमसीसी सम्झौता पुनः संसदमा सरकारले अगाडि बढाउने तयारी र त्यो पारित गर्न विशेष जोड दिएकोप्रति नेपाल कम्युनिष्ट पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

आज एक प्रेस वक्तव्य जारी गर्दै पार्टीले नेपालको सार्वभौमिकता, सार्वभौमिक अखण्डता, स्वाभिमान र परराष्ट्र नीतिमा समेतमाथि गम्भीर र दूरगामी असर पार्ने यस्तो देशघाती सम्झौतालाई अस्वीकार गरेको विश्वका विभिन्न देशहरुका अनुभव रहेको जनाउँदै संसद र सरकारले देशलाई भड्खालोमा हाल्ने यस्तो सम्झौता खारेज गर्नेतिर कदम चालोस् र सभामुख समक्ष प्रस्तुत रहेको एमसीसी सम्झौता सरकारले फिर्ता लेओस र खारेज गरोस् र अमेरिकाको आइपीएस रणनीति अन्तरगतको यो सम्झौताको बोझबाट नेपाललाई मुक्त गरोस् भन्ने जोडदार माग गरेको छ । 

बढ्दो कोरोना महामारीले सर्बत्र सन्त्रास फैलिदै गएको सन्दर्भमा सरकारले यस महामारीसँग लड्न र पीडित जन समुदायलाई समयमै यथोचित स्वास्थ्य सावधानी, सुरक्षा र उपचारको युद्ध स्तरमा व्यवस्था गर्न पनि नेपाल कम्युनिष्ट पार्टीले जोडदार माग गरेको छ ।