काठमाडौँ। कर्णाली प्रदेशमा पार्टीका सांसदहरूले नै फ्लोर क्रस गरेर माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका महेन्द्रबहादुर शाहीको सरकार जोगाइदिएपछि नेकपा एमालेको ओली समूह क्रुद्ध बनेको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओली समूहका सांसदहरूले मुख्यमन्त्री शाहीको विपक्षमा मतदान गरे पनि नेता माधवकुमार नेपाल पक्षका चार जना सांसदहरूले फ्लोर क्रस गरेपछि शाहीको मुख्यमन्त्री पद जोगिएको हो ।
फ्लोर क्रस गर्नेमा एमाले सांसदहरुमा प्रकाश ज्वाला, अमर थापा, कुर्मराज शाही र नन्दसिङ बुढा रहेका छन् ।
उनीहरुलाई नेकपा एमालेले आजै कारबाही गर्ने भएको छ । पार्टीको ह्वीप उल्लंघन गरेको भन्दै कारबाही गर्न लागिएको कर्णाली प्रदेशका मुख्य सचेतक गुलाबजंग शाहले जानकारी दिए ।
यसअघि एमालेले शाहीविरुद्ध विश्वासको मतदान दिन आफ्ना सांसदलाई ह्विप जारी गरेको थियो ।