नेपाल कला र संस्कृतिको खानी हो । यति सानो भूगोलमा पनि १२० भन्दा बढी जातजातिको बसोबास रहनु र तिनीहरुको आआफ्नै भाषा, संस्कृति, भेषभुषा र परम्परा हुनुले पनि जातैपिच्छेका संस्कृति र कला बनेका र रहेका हुन् । सानो मुलुकमा रहेको मानवजातिको ठूलो समूह र फरकफरक परम्पराका कारण सबैको अलगअलग संस्कृति निर्माण भएको हो । हजारौं वर्षदेखि तराइमा बसोबास गरिरहेका थारु, मधेसी, पहाडमा हुर्केका मगर, तामाङ, राई, लिम्बु, पश्चिमका खस, देशैभरि छरिएका बाहुन तथा हिमालको सेरोफेरोमा हुर्केर हिमालसँगै मितेरी लगाएका शेर्पा लगायत सबैको आआफ्नै परम्परा र संस्कृति छन् । यतिधेरै संस्कृति मिलेर बनेको नेपाल वास्तवमा संस्कृति र कलाको माला हो । जसरी फूलका थुङ्गाहरु मिलेर माला गाँसिएको हुन्छ ठीक त्यसैगरी सयौं जातजातिका संस्कृति मिलेर नेपालको समग्र संस्कृति बनेको छ ।
यता इतिहास हेर्दा आजको नेपाल कसरी बन्यो भन्नेसम्म पुग्नै पर्छ । आजको यो सानो सन्दर्भमा नेपालको इतिहासको व्याख्या गर्न खोजिएको त होइन, तर संसारका सबै देशहरु जसरी मारकाटबाट बनेका छन् त्यसैगरी नेपाल पनि सानासाना राज्यमा छरिएर रहेको अवस्थामा एकीकरणको नाममा पृथ्वीनारायणहरुले मारकाट गरेरै आजको नेपाल बनाएका हुन् । त्यसकारण त नेपालको इतिहासमा थोरै र एकतर्फी मात्रै भएपनि राजा महाराजाहरुले मारबाटबाट राज्य बनाएका कथाहरु सुन्न र पढ्न पाइन्छ ।
त्यस्तै ५२ सालदेखि सुरु भएको माओवादी जनयुद्धमा पनि मारकाटकै प्रसङ्ग आउँछ । लामो समयसम्म राजा महाराजाहरुले राज्य चलाएका कारण जनतामा वितृष्णा, असुविधा, बहिष्करण, दमनजस्ता कुराहरुबाट मुक्ति पाउन र स्वतन्त्र भएर आफ्नो राज्य आफै चलाई अधिकार सम्पन्न हुने चाहनासहित सुरु भएको माओवादी जनयुद्धले के के उपलब्धि दियो त ? भन्ने विषयमा व्यापक छलफलको विषय होला तर माओवादी जनयुद्धमा २ चोटी भएको भीषण हमलामा ध्वस्त भएको रुकुमको खाराको लडाइँको बारेमा कलाकारहरुले गीत बनाएर गाएको र सो घटनाको बारेमा थोरै भएपनि जानकारी दिएको प्रसङ्गलाई आजको यो सानो लेखाइमा उल्लेख गर्न खोजिएको हो ।
पक्कै पनि गीत संगीतमा माया र पिरतीका कुराहरु आउनुलाई स्वभाविकै मानिन्छ, तर त्यससँगै आउने सामाजिक र राजनीतिक प्रसङ्गले पनि जनतालाई त्यतिबेलाको अवस्थाको बारेमा जानकारी दिइरहेका हुन्छन् । यसैगरी रुकुमका कलाकारले पनि खारामा भएको युद्ध र सिंगो रुकुम जिल्लाको बारेमा गीतमा समेट्न भ्याएका छन् । ‘सुनको माया’ बोलको सो गीत युटुबमा भेट्न र सुन्न सकिन्छ । गीतमा रुकुमेली कलाकार तिलक परियार र चर्चित गायिका देवी घर्तीमगरले सुमधुर स्वर दिएका छन् ।
गीतका शब्दहरु लक्ष्मण ओली सिर्जना गरेका छन् । जहाँ उनले खारा युद्धमा नेपालीले नेपालीविरुद्ध लडेको र धेरैले ज्यान गुमाएको प्रसङ्ग उल्लेख गरेका छन् । सो युद्धमा सरकारी तथा विद्रोही पक्षबाट के कति क्षति भयो भन्ने त गीतमा एकिनसाथ भनिएको छैन तर युद्धमा भएको क्षतिको समवेदनालाई व्यक्त गरिएको छ भने गीतमा माओवादी जनयुद्ध जनताको प्रगति र शान्तिका लागि हो भनेर स्पष्ट भनिएको छ जो यथार्थ हो । गीतको भाका संकलन तिलक परियारले गरेका छन् । मध्यपश्चिमका रुकुम, रोल्पा, दाङ, सल्यान लगायतका जिल्लामा गाइने टप्पा गीतको लयमा गाइएको सो गीतमा खारा युद्धको बयानले गीतलाई रोमाञ्चक र भावनात्मक बनाएको छ ।
केटा : हे..माया खोज्नु हृदयमा छायाँ खोज्नु वनमा (हो छायाँ खोज्नु वनमा)
छोडी जाने जाओस् तर सम्झाना छ मनमा
(हो सम्झना छ मनमा)
गलीमा लाउने पाउजु ठुमरा
कानैमा लाउने सुनकै भमरा
पाउमा लाउने पाउजु बजाउँदै
शीरफुललाएर सिउँदो सजाउँदै
उडी गए पुतला (नबोली गै गए माया जालमा) ।
केटी : सानी भेरी, ठुली भेरी (भेटने दोभान ए)
अझै मनको भाको छैन (नजा जोवन ए)
छोडेर गयो बेला बैंसैले
किनेर पाइँदैन धन पैसैले
जे गरे पनि बाँचुञ्जेल हो
२ दिनको जीन्दगी दैव खेल हो
रमाइलो गरौं (मरेर जाँदा लानु के छ र) ।
केटा : हे..रुकुमैको सिस्ने हिमाल कति राम्रो हिउँले (हो कति राम्रो हिउँले)
मान्छे राम्रो बोली बचन झनै राम्रो जीउले
(झनै राम्रो जीउले)
जीउडालै राम्रो रुपै झलमल
मन कस्तो होला परें अलमल
ढाँटेको होइन यो दिन चोखो छ
पिरती गाँस्ने साह्रै धोको छ
ढल्केला जोवन बेलैमा सो फर्कि आउँदैन ।
केटी : हे…माथि पर्यो कमल दह तल स्यार्पू ताल
साइकुमारी डिग्रे मन्दिर गाँस्छ माया जाल
(हो गाँस्छ माया जाल)
भेट गर्न आउनु डिग्रे मेलैमा
केही चिनो ल्याउनु आउने बेलैमा
म पनि आउँला त्यहीँ भटौंला
मनैको धोको अनि मेटौंला
दुवैको मन मिलेछ भने माया गाँसौंला ।
केटा : देशले कहिले भुल्ने छैन रुकुम खारालाई
(हो रुकुम खारालाई)
पटक पटक युद्ध चल्यो रुवायो सारालाई (हो रुवायो सारालाई)
हजारौं मरे युद्ध चलेर
खरानी भयो गाउँ जलेर
दिदी र बहिनीको सिउँदो पुछियो
दाइभाइको रगतले माटो मुछियो
देशले निकास पाउँछ कि भनी युद्ध लडेर ।
केटी : दश वर्षे जनयुद्ध यहीँ सुरु भयो
सयौं साथी बेपत्ता छन् कयौंको ज्यान गयो (कतिको ज्यान गयो)
सामन्ती सत्ता छिट्टै ढाल्नु’थ्यो
देशमा शान्तिको दियो बाल्नु’थ्यो
गरिब दुःखीको दिन आउनेछ
भोका र नाङ्गाले खान पाउनेछ
शासनसत्ता फेर्नुछ भनेर एकजुट भाका हुन् ।
केटी : रानी वनमा गुराँस फूल, (मुसीकोट पानी)
डाँडापाखा हरियाली प्रकृतिको खानी
रमाइलो समाज सुन्दरबस्ती छ
मिलेर बस्छन् सबलाई मस्ती छ
कल्पना गरौं कस्तो कस्तो छ
मेरो यो रुकुम स्वर्गै जस्तो छ
गाउँघरको संस्कार सेरो र फेरो अति सभ्य छ ।
केटी : मौराखारा अग्लो लेक बेसी चौरजहारी
सुंगारु र मयुर नाच्न (नाच्छौं मेखैमारी)
पैंसेरी नाचमा सँगै नाचौंला
झ्याउरेको तालैमा कम्मर भाँचौला
सिम्रुतुको मेला चैते दशैंमा
रमाउँला सबै रङ्ग रसैमा
हाम्रो यो कला (संस्कृति जोगाऔं सबै मिलेर) ।