• मंसिर ८ २०८१, शनिबार

टेस्ला प्रविधिमाथि चिनियाँ सूचना चासो

बैशाख २ २०७८, बिहीबार

पछिल्लो समयमा अमेरिकी कार निर्माता कम्पनी टेस्लाले चीनमा धेरै संख्यामा ब्राण्डेड कार निर्यात गरेको छ । आधुनिक र सुविधासम्पन्न यो कारमा धेरै उपकरणहरु पनि जडान गरिएका छन् । कारमा जडित यिनै उपकरणको विषयलाई लिएर चीनले सूचना र सुरक्षा चासो व्यक्त गरिरहेको छ । यीमध्ये कारमा जडित आधुनिक क्यामरामाथि चीनको आँखा गढेको छ ।

विद्युतीय कार निर्माता कम्पनी टेस्लाले पनि यी विषयमा चीनको मन जित्ने प्रयास गरिरहेको छ । यसले यी कारमा जडित लेन्स, ऐना, क्यामरा, अप्टिकल उपकरण आदिबाट चीनलाई भयभित नहुन भनेको छ । यसका लागि टेस्ला र चिनियाँ पक्षबीच धेरै पटक कुराकानी पनि भैरहेको छ ।
कुरा त यति सम्म पनि भैरहेको छ कि भर्खरै मात्र टेस्लाका एक उच्च तहका कार्यकारीले चिनियाँ अधिकारीसँगको कुराकानीका क्रममा टेस्लाले संकलन गर्ने गरेका चिनियाँ उपभोक्ताका डाटा चीनको सिमानाभित्रै भण्डारण गरिने कुरा राखेका छन् । यसबाट देखिन्छ अति विकसित दुई ठूला महाशक्ति देशहरु एकआपसमा कति सतर्क छन् भनेर ।

tesla

टेस्ला चाइना बाञ्चका अन्तर्राष्ट्रिय मामिला उपाध्यक्ष ग्रेस ताओ लिन रहेका छन् । उनले चिनियाँ अधिकारीसँगको कुराकानीमा टेस्लाद्वारा चीनमा संकलित डाटा देश बाहिर नलगिने वचन दिएका छन् । यसका साथै, टेस्ला कारमा राखिएका क्यामरा जासुसीका लागि नभएको पनि प्रष्ट्याएका छन् ।

टेस्ला कारहरुमा अत्याधुनिक क्यामरा जडान गरिएको भन्दै हालैका दिनमा चिनियाँ सेनाले टेस्ला–गाडीलाई सैनिक क्याम्पका नजिक भएर आउजाउ गर्न र गुड्न दिएको छैन । यसका साथै, टेस्लाले पछिल्लो समयमा उसका कारमा धेरै समस्याहरु देखिएको भनी विश्व बजारबाट आलोचना पनि खेपिरहेको छ ।

यसैबीच साङ्घाइस्थित कारखानाबाट उत्पादिन टेस्ला–कारको गुणस्तरको विषयमा जवाफ दिन चिनियाँ नियामक निकायले टेस्लालाई बोलाएपछि यी विषयमा छलफल गरिएको थियो । हालैका दिनमा चीनले आफ्नो देशभित्र रहेका ठूला प्रविधि कम्पनीहरुमाथि सख्त निगरानीको नीति अख्तियार गरिरहेको छ ।

हालैमात्र चीनले एकाधिकार कायम गर्ने क्रियाकलाप गरेको भन्दै चिनियाँ कम्पनी अलिबाबामाथि २ अर्ब ८० करोड डलर जरिवाना गरेको छ । साथै चीनले अलिबाबाको स्वामित्वको वित्तिय कम्पनी एन्ट ग्रुपमाथि चिनिया केन्द्रीय बैंकका सख्त नियमहरु लागू गरेको छ र प्रयोगकर्ताका व्यक्तिगत विवरणहरुको सुरक्षालाई मजबुत बनाउने बताएको छ ।
उता कार निर्माता कम्पनी टेस्लाका सीईओ एलन मस्कले चीनलाई आस्वस्त पार्ने कोसिसमा कुनै पनि कमी ल्याएका छैनन् ।