काठमाडौं । त्यसै त चितवनको सौराहा ! त्यसमाथि अञ्जलीको दौडाह ! तर कुरा सुनेर कसैलाई पनि लाग्दैन औडाह ! किनकि साता दिन पुगेकी अञ्ली केटी राष्ट्रिय प्रकृति संरक्षण कोषमा आइपुगेकी छिन् ।
भाग्यमानी केटी ! यस अर्थमा कि उनी मर्नबाट जोगिइन् । समयमै उद्दार भयो । साथसाथै, अभागी पनि ! किनकि उनकी आमा मारिन् कि बाघबाट, चोरी सिकारीबाट, बिरामीबाट वा आलो सुत्केरीका कारणबाट ! तर के भइन् थाहै भएन । रात पर्दासम्म पनि उनी आफ्नो छोरी खोज्न आइनन् । कसलाई के थाह, आउन पो पाइनन् कि ?
तर सातादिन नपुगेकी अञ्जलीको उद्दार भयो । उनी संरक्षण कोषको उद्दार कक्षमा आइ पुगिन् । त्यहाँ एक्लै हुर्किरहेकी १४ महिनाकै दिदी पुष्पा अचम्म परिन् । उनले पनि आमा हराइन् ! रोइन् कराइन् । उद्दार गरिएरै उनी पनि त्यहाँ आइन् ।
आफू त्यहाँ आउँदाको बखत सम्झिइन् अली अली । उत्रैउत्रै लाग्छिन् पुष्पाञ्जली ! एक हप्ताकी, सानी बैनी ! उनी त अब सोच्न सक्ने भएकी छिन्– ‘के मेरी आमा र बैनी पुष्पाञ्जलीकी आमा एउटै होलिन् त ?’ यदि हुन् भने महाभारतकी गंगालाई जस्तै हामी जन्मने बित्तिकै अलपत्र जंगलमा छोड्नु पर्ने श्राप पर्नाको कारण के होला ? पुष्पा प्रायः यसै गरेर सोच्छिन् होली ।
उनमा मायाको छाल उर्लेर आउँछ, निकुञ्जभित्र असार–साउन राप्ती उर्लिए झैं । बिछट्टै माया गर्छिन् बहिनी अञ्जलीलाई ! यसो सुघ्छिन्, कतै आमाको गन्ध आउँछ कि ! अञ्जली पनि यन्त्रवत् यसै गर्छिन्, तर उनले आमाको गन्ध थाह पाउन हो वा दिदीको संरक्षकत्व स्वीकार गर्न हो, अनुमान लगाउन गाह्रो छ ।
रामायणमा महाकाव्यमा अयोध्याका राजकुमार राम १४ वर्ष वनबास बसे । महाभारतमा पाण्डु पुत्र राजकुमार पाण्डवहरु १२ वर्ष वनबास र २ वर्ष गुप्तबास बसे । के पुष्पा र अञ्जलीसहित अन्य दिदी बहिनी पनि १४-१४ महिनामा भेट भइरहने क्रमले निरन्तरता पाउने हो त ? छुट्टिने बेला पनि कतै यही १४ महिना त पर्ने होइन ? गैंडा गणनाको क्रममा गत चैत २३ गते चितवन राष्ट्रिय निकुञ्जको नवलपुरस्थित दिव्यपुरी क्षेत्रमा अलपत्र अवस्थामा उद्दा गरिएकी साता दिनकी अञ्जलीलाई हेर्दै पुष्पा घोरिन थालेकी देखिन्छिन् ।
बाघका पाइलाहरु चरैतिर, आमा नआउने, रात पर्दै गएको, अञ्जली लड्खडाउँदै राइरहेकी, गैंडा गणकहरू दुविधामा परिरहेका बेला भोकले रन्थनिएकी अञ्जली उद्धार गरिएकी थिइन् । हुन पनि त सक्थ्यो, छोडौं बाघले मार्ने, नछोडौं आमा रोएर विरक्त पार्ने ! यति बेला विवेकी निर्णय नै उचित, भावनाको पनि सम्बोधन हुने ।
सौराहा कोषमा ल्याइएपछि अञ्जलीको धर्मआमा बनेका छन्, लालबहादुर महतरा । उनले अञ्जलीलाई नुहाइदिन्छन् , तोरीको तेल घसिदिन्छन्, न्यानो ठाउँ मिलाइदिन्छन् र बारम्बार ख्याल गरिरहन्छन् । उनले पुष्पाकै बहिनी ठानेर उनको नामाकरण गरिदिए– ‘अञ्जली’ । ल जा, अब पुष्पा र अञ्जली सँगै खेल्न, रमाउन र जीउन थालेका छन्– पुष्पाञ्जली बनेर । यिनीहरुकी आमा जीउँदै छिन् भने यो पुष्पाञ्जली एकदिन भेट्न जाने छन् । किनकि, संरक्षण कोषले यिनीहरुलाई पाल्तु नबनाएर जंगली बनाउने भनेको छ । यदि आमा यो संसारमा छैनिन् भने यिनको समासरुपी नाम पुष्पाञ्जली नै आमाका लागि असिम श्रद्धा र स्मरण हुने छ ।
चिरञ्जीवी भवः पुष्पाञ्जली !