कपिलवस्तु । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ले सरकार र आफ्नो पार्टीबीच भएको सहमतिलाई लिएर केही व्यक्तिले वार्ता भाड्न खोजेको बताए ।
नयाँ वर्षको दिन बुधबार गृहजिल्ला कपिलवस्तुको शिवगढिमा आफ्नो पार्टीको केन्द्रीय सम्पर्क कार्यलयको शिलान्यास गर्दै विप्लवले आफूहरु ३ बुँदे सहमतिप्रति दृढ रहेपनि केही व्यक्तिहरु वार्ता विथोल्न लागिपरेको आरोप लगाए ।
गृहमन्त्री समेत रहेका केपी शर्मा ओली समूहका नेता रामबहादुर थापाले मंगलबार मात्रै ‘विप्लव समूहसँग हतियार रहेको र उनीहरुलाई सुरक्षा निकायले निगरानी’मा राख्नुपर्ने निर्देशन दिएका थिए ।
आफैं सहमति गरेर विप्लवलाई शान्तिपूर्ण राजनीतिमा ल्याएको दाबी गरिरहेका रामबहादुर थापाले विवादास्पद अभिव्यक्ति दिएपछि विप्लवले युद्ध र अशान्ति चाहनेहरु वार्ता भाँड्न लागेको आरोप लिए ।
विप्लवले भन्नु भयो , ‘हामी ३ बुँदे सहमति कार्यान्वयन गर्न दृढ छौं। ३ बुँदे सहमतिलाई युद्ध र अशान्ति चाहनेहरुले वार्ता बिथोल्न खोजिरहेका छन्।”
जनताले निकै लामो समयदेखि न्याय र मुक्तिको आवाज उठाउदै आएको भन्दै विप्लवले जनताको न्यायपूर्ण आवाजमाथि दमन गरिएकोले आफ्नो पार्टीले निरन्तर संघर्ष गर्दै आएको बताउदैै भनेे ‘जनताको न्यायपूर्ण आवाजमाथि गरिएको दमनविरुद्ध हामी लड्दै आएको छौं र वैज्ञानिक समाजवाद प्राप्त नहुँदासम्म अविराम लडिरहन्छौं।´खुल्ला राजनीतिमा आएलगत्तै नेकपाले आफ्नो केन्द्रीय सम्पर्क कार्यालय निर्माण सुरु गरेको हो।भवनको शिलन्यासपछि महासचिव विप्लवले जनताकै सहभागिता र लगानीमा पार्टी सम्पर्क कार्यालय स्थापना गर्न लागिएको जानकारी दिए ।