काभ्रे जिल्लाको ऐतिहासिक, साँस्कृतिक नगरहरुमध्ये सबभन्दा प्राचीन मानिएको नगर उग्रचण्डी नाला हो । वास्तवमा नाला विभिन्न दृष्टिकोणबाट महत्वपूर्ण रहेको कुरा इतिहास, शिलापत्र, पुराना वंशावली लोककथा, अनुश्रुती, किंवदन्ती, लोककथा, अनुश्रुती, किंवदन्ती, लोकउक्ति र ताडपत्र आदिबाट हामी सजिलै जानकारी पाउन सक्छौं । काभ्रेका ७ नगरको सभ्यता जोगाउन नाला क्षेत्रले निकै योगदान दिएको कुरा नालालाई सबैले कला र कर्मीहरुको केन्द्रीय नगर मान्ने गरेबाट स्पष्ट हुन आउँछ ।
नेपालकै प्रसिद्ध ४ भगवतीमध्ये एक उग्रचण्डी भगवती नालामा रहेको तथा नेपालकै चार करुणामयमध्ये एक श्रष्टिकान्त लोकेश्वर करुणामय यहीँ हुनुले पनि पुष्टि गर्दछ । शाक्य मुनी गौतम बुद्ध, च्यवन ऋषि, वाल्मिकी ऋषि जस्ता शिद्ध पुरुषहरुले उक्त स्थानमा गई ध्यान गरेको जस्ता थुप्रै प्रमाणहरु पनि यहाँ सजिलै पाउन सकिन्छ । तर समयसमयमा भएका भूकम्प र आगजनीले त्यहाँका प्रचीन इतिहास र साँस्कृतिक महत्व बोकेका मठ, मन्दिर, गुफाहरु पुुरिएर रहेको अनुमान गरिएको छ । इतिहासका कयौं पानाहरु दन्त्यकथा र जनश्रुसतीहरुमै अहिलेसम्म आधारित भएर बाँचेका छन् ।
यी सबै कुराहरुमा ध्यान लगाई यहाँको माटोमा पुरिएका इतिहासलाई फेरि एक पटक उत्खनन् नगरी भएको छैन । नेपालको मौलिक र आफ्नै वैज्ञानिक विक्रम सम्बत पनि यसको एउटा ज्यवलन्त उदाहरण हो । विक्रम सम्बत कलि सम्बत ३०४४ मा सुरु भएको सबै भन्दा प्राचीन सम्बत हो । यो सम्बत कृत सम्बत, माधव सम्बत आदि नामबाट पनि प्रसिद्ध भएको इतिहासमा पाइएता पनि नेपालको भाषा वंशावलीमा विक्रमादित्य सम्बत भन्ने उल्लेख गरेको पाइन्छ । यो संवत नेपालको आफ्नै र पुरानो संवत मानिन्छ ।
यो आफ्नै माटोको संवत हो । उग्रचण्डी नाला नगरका राजा विक्रमादित्यले नै यो संवत चलाएका हुन् । उत्तरापन्थ नागिरीपुरका राज नै विक्रमादित्य हुन् । उग्रचण्डी नालाका नाम त्यतिखेर नागिरीपुर थियो । विक्रमादित्यको टाउको मुर्ती अझैपनि साँखुको बज्रयोगीनी मन्दिरमा देख्न सकिन्छ । यसबारेमा निम्न किंवदन्ती रहेको पाइन्छ । कुनै समय विक्रमादित्य राजाले उग्रचण्डी नालामा राज्य गर्थे । त्यस राज्यमा एकजना ब्राहमणलाई राज्यकै कामको लागि राज्य भन्दा बाहिर पठाउनु पर्ने भयो । ती ब्रहामणलाई राजाले बाहिर पठाउने आदेश दिए । तर ब्राहमणले आफ्नी स्त्रीको जिम्मा राजाले लिनुपर्ने र फर्किएपछि सकुसल फिर्ता पाउनुपर्ने सर्त राखे ।
राजाले स्वीकारे । केही समयपछि विक्रमादित्य राजाको दरबारमा ती स्त्रीलाई राखिएको कोठामा आगो लाग्यो । र आगोका कारणले ती स्त्रीको मृत्यु भयो । अब भने राजालाई अफ्ठेरो पर्यो । राजाले गुरु र पुरोहित सित छलफल गरे । उनीहरुको सल्लाह अनुसार राजाले भेष बदलेर काठमाडौंको राजाको दरबारमा नोकरी गर्न सुरु गरे । काठमाडौंका राजा बिहान सबेरै साँखुको बज्रयोगीनी मन्दिरमा गएर तेल भकभक उम्लिरहेको कराईमा आफूलाई पकाउँदा रहेछन् । पाकिसकेपछि त्यहाँ रहेका देवगणहरुले उनको मासु खाँदा रहेछन् । मासु खाइसकेपछि पुन जीवित गराइँदा रहेछन् ।
देवगणहरुले आफ्नो भोजनपछि राजालाई थुप्रै धन सम्पति प्रदान गर्दा रहेछन् । यसरी राजाको सधै कृयाकलापको निगरानी विक्रमादित्यले गरिरहेका थिए । एकदिन विक्रममादित्यले राजा जानुभन्दा अघि नै बज्रयोगीनीकोमा गई आफ्नो शरीरलाई विभिन्न प्रकारको लेपन लगाई भकभक तेल उम्लिरहेको कराईमा आफूलाई पकाएछन् । बज्रयोगीनीमा रहेका सबै देवगणलाई राजा विक्रममादित्यको मासु खुवाएछन् । मासु खाँदा अन्य दिनको तुलानामा स्वाद ज्यादै राम्रो भएकोले देउताले खुशी भई राजालाई पुनः जीवित गरेर थुप्रै धन सम्पति दिनुका साथै चिन्तामणी झोला (इच्छा पुरा गर्ने झोला) पनि दिएर पठाएछन् ।
अनि अब उप्रान्तदेखि पकाएर खुवाउन आउन नपर्ने भनी पठाएछन् । विक्रमादित्यले चिन्तामणी झोला प्राप्त गरेपनि आफ्नो राज्य नालामै फर्किएर आफ्नो कबुल अनुसार ब्राहमणलाई आफ्नो स्त्री झोलाबाट झिकेर फिर्ता दिएछन् । यो कुरा उपत्यकाका राजाले चाल पाएपछि आफ्नो सम्पूर्ण राज्य नै विक्रमादित्यलाई सुम्पेछन् । यसरी नालाबाट विक्रमादित्यको राज्य काठमाडौं उपत्यकासम्म विस्तार भयो । राजाले पनि नयाँ राज्यका जनताको सम्पूर्ण ऋण तिरिदिए र विक्रम सम्बत चलाउन सुरु गरे ।
सो संवत नै विक्रम सम्वत हो । राजा विक्रमादित्य अविवाहति थिए । जुन उपत्यकाको राजाले आफूलाई राजा बनाइदिए उनैले देह त्याग गरेपछि अब म पनि नेपाल त्याग गर्छु भनी भारतको बैसाली तर्फ लागे । त्यहाँ पनि उनले आफ्नो कृतिलाई फैलाई जनतामा प्रभावित गरी उनले सो विक्रम सम्वत भारतमा समेत चलाए । साँखुको बज्रयोगीनी मन्दिरमा आज पनि विक्रमादित्यको टाउको मुर्ती र फलामको कराई रहेको छ । विक्रम सम्वत सम्बन्धि विभिन्न शिलालेखहरु काठमाडौंको विशालनगर लगायतका विभिन्न स्थानहरुमा आज पनि रहेका छन् । ती अभिलेखहरुको विस्तृत अध्ययन गरी यसबारेमा गर्भमा रहेका तथा नालाको माटोमा पुरिएर रहेका थुप्रै कुराहरु विश्वसामू देखाउने आवश्यकता महसुस भएको छ । यसरी यो संवत अन्य ठाउँबाट आएको नभई आफ्नै देशको ऐतिहासीक तथा मौलिक संवत हो भन्ने ठोकुवा गर्न सकिन्छ ।