• कार्तिक ५ २०८१, सोमबार

बिक्रम सम्बत् २०७८को शुभकामना !

बैशाख १ २०७८, बुधबार

२०७८ साल बैशाख १ गते बुधवार बिक्रम सम्बतको नयाँ वर्ष प्रारम्भ भएको छ । मीन राशि समाप्त भई मेष राशि प्रारम्भ हुनासाथ अर्थात् मेषमा सूर्यले प्रवेश गरेको दिन वैशाख १ गतेको नववर्ष प्रारम्भ हुन्छ । ‘अथ सूर्यवंश प्रभावान्नेपाले किराँत राजन निजित्य लिच्छवि वंश प्रवर्ततेः ।’–(पशुपति पुराण) अर्थात् सूर्यवंशी लिच्छवि राजाकोे प्रभावले किराँत राजालाई जिती लिच्छविवंश सुरुभएपछि लिच्छविवंशका पहिला राजा धर्मपाल, भूमिवर्मा बिक्रमादित्य उपाधिवाट पुकारिएका सूर्यवंशी पराक्रमी चक्रवर्ती राजाबाट विशालनगर र बत्तीसपुतलीमा राजधानी स्थापना गरेर शासन गरेको बेलादेखि बिक्रम सम्बत उठान भएको हो ।

बैसाख १ बाट सुरु भएको बिक्रम सम्बत :

हिमवत्खण्डका ससाना राज्यहरु सेनवंशी, बाइसी, चौबिसी तथा काठमाण्डौं उपत्यका लगायत ब्रह्मपुत्रदेखि गंगाको आसपाससम्म बिक्रम सम्बत चलनचल्तीमा आएका प्रमाण छन् । बिक्रम सम्बत वैदिककालदेखि प्रचलित तिथि र बारहरुको अवलम्वन् गर्दै आएको राष्ट्रिय सम्बत हो । बिक्रम सम्बत पनि शक सम्बत, नेपाल सम्बत झैं तिथिको आधारमा चल्दै आएको हुँदा तिथिहरु थपघट भइरहने हुँदा शासन व्यवस्थामा धेरै अप्ठयारो भएकाले ज्योतिषको सम्मेलनको सुझावको आधारमा तिथिहरुमा अन्तर नपर्ने गरेर चन्द्रशमशेरले बिक्रम सम्बत १९६१ सालमा शासन व्यवस्थामा सजिलोको लागि वैशाख १ गते, मेष संक्रान्तिदेखि गतेमा लेख्ने चलन चलाएका हुन् ।

बिक्रम सम्बतमा गतेबाट लेख्ने चलन चलेपछि अरु सम्बत्भन्दा यो लोकप्रिय हुन गएको हो । तिथिहरु कहिले एकैदिन दुइटा आइपर्ने हुँदा धेरै असजिलो भएकाले गतेमा लेख्ने चलनपछि शक सम्बत र नेपाल सम्बतहरुको दाँजोमा बिक्रम सम्बत व्यवहारिक हुनपुगेको हो । शनिवार सार्वजनिक विदा दिने चलन पनि चन्द्र शम्सेरकै पालादेखि चलेको हो ।

नेपाल सम्बत र सक सम्बत :

नेपाल सम्बत र शक सम्बत अध्यावधि तिथिको आधारमा मात्र चलेका छन् । बिक्रम सम्वत् १९६१ सालदेखिको मेष संक्रान्तिलाई वैशाख १ गते मानी वर्षभरिका १२ महिनाका महिनाका दिनहरु निर्धारण गरिएका हुन् । बिक्रम सम्बत हिमवतखण्ड नेपालका विभिन्न साना राज्यहरुमा प्रचलित भइरहेको र विशाल नेपालको सिर्जना भएपछि पनि बिक्रम सम्बत नेपालको राष्ट्रिय सम्बतको रुपमा स्थापित भएको छ ।

बिक्रम सम्बत भन्दा १३५ वर्षपछि शक सम्बतको उठान र ९३७ वर्षपछि नेपाल सम्बतको उठान भएको हो । बिक्रम सम्बतको वर्षमा ३६५ दिन र शक सम्बत र नेपाल सम्बत र शक सम्बतमा ३५४ दिन मात्र हुनेहुँदा अन्तर्राष्ट्रिय हिसाबले ईस्वी सम्बतसँग तालमेल मिलाउन बिक्रम सम्बत धेरै व्यवहारिक भएको छ । ईस्वी सम्बत, शक सम्बत, नेपाल सम्बत भन्दा बिक्रम सम्बत जेठो सम्बत भएकाले ऐतिहासिक तथ्यलाई जीवन्त राख्न पनि योसम्बत सफल बनेकोछ ।

बिक्रमादित्य बारे किम्बदन्ती :

इतिहासविद् श्री नयनाथ पौड्यालले नेपालको पुरातत्व विभाग राष्ट्रिय पुस्तकालयवाट प्रकाशित भाषा वंशावलीमा बिक्रमादित्य राजा बारेमा किंवदन्तीहरु प्रस्तुत गर्दै बज्रयोगिनीवाट पारसमणी सहित आसिरवाद प्राप्त गरेको राजप्रसादको दक्षिणतर्फ (हालको नारायणहिटी) चतुर्मुख नारायण स्थापित गरी जोडीधारा बनाई तीर्थस्थल समेत बनाई बिक्रम सम्बत चलाएको कुरा उल्लेख गरेकाछन् । साँखु बज्रयोगिनीको मन्दिरदेखि केही माथि एक मन्दिरमा बिक्रमादित्य राजाको टाउको रहेको र जस्को अध्यावधि बज्राचार्यवंंशका पूजारी बिक्रमादित्य राजाको टाउकाको पूजा गरेर बसेका छन् । साँखुमा अवस्थित बिक्रमादित्यले नेपालमा राज्य गरेका यो ज्वलन्त प्रमाण हो ।

उनैबाट काभे्र जिल्लाको नालामा उत्तरापुर राज्यको नाममा बिक्रमादित्य राजाले राज्य गरेको किंवदन्ती प्रचलित छ । योगी नरहरिनाथले भन्नु भएकोछ–“श्री वीर पालः नृपतिः ततः अभूत तस्मात अभूत बिक्रमपाल भूपः” भन्ने उल्लेख गर्दै देवमाला वंशावलीमा कुनै चक्रवर्ति राजा बिक्रमादित्यको बत्तिसपुतली राम मन्दिर भएको ठाँउमा राजसिंहसान थियो भन्ने पाइन्छ, भन्नु भएकोछ । यसबारेमा काभ्रे नालामा बिक्रमादित्यले शासन गरेको कुरा बाशुपाशाबाट काभ्रे सिन्धु वृत्तान्त पुस्तकमा लेखेका छन् । लिच्छवि शासनकालमा निर्मित हरिसिद्धि मंन्दिरमा बिक्रम सम्बत ७११ उल्लेख भएको वंशावली छ र बिक्रम सम्बत ९४५मा हरिसिद्धिनाटक मञ्चन भएको हरिसिद्धि उपपुराणमा उल्लेख छ ।

बिक्रम सम्बतको प्रचलन :

जयस्थिति मल्लको पालाको सुवर्णपत्रमा ‘बिक्रम राज वर्ष १४४८ श्रीमत नेपालीकेः श्रेयोस्तु’ उल्लेख छ । त्यसपछि त्यसरी नैं मल्लकालभरि बिक्रम सम्बत चलनचल्तीमा भएको कुरा अभिलेखहरुमा प्राप्त छन् । मोरङ्गका राजा हरिश्चन्द्र सेन र बृषशेनको स्याहामोहरमा बिक्रम सम्बत १७१९ पौष वदी ४, मकवानपुरका राजा मानिकसेनले बिक्रम सम्बत १७८४ कार्तिक शुदी ७, विजैपुरमा बुद्धिकर्ण राईले बिक्रम सम्बत १८२४ नेपाली भाषामा लेखिएका कैयौं प्रमाणहरु भएको कुरा इतिहासविद् शंकरमान राजवंशीले पुरातत्व संग्रह (२०१८)मा प्रकाशित गराएका छन् । फर्पिङ्मा कनकेशरको ढोका फेरेर मुकुट चढाएको अंकित अभिलेखमा बिक्रम सम्बत १२९७ उल्लेख छ ।

गोरखाको रामेश्वर मन्दिरको रामशाहको अभिलेखमा बिक्रम सम्बत १६९३ उल्लेख छ । अछामको वरदादेवी मंदिरमा बिक्रम सम्बत १७७९ पौष उल्लेख छ । भक्तपुर दरबार नजिकैको गहिरो धाराको पश्चिमपट्टिको भित्तामा बिक्रम सम्बत १७३५ र भक्तपुर दरबारको तलेजु चोकको देवद्वारको तोरणको स्वर्णपट्टामा बिक्रम सम्बत १७४१ र भक्तपुरको डोलेश्वर महादेवको मन्दिरमा बिक्रमाब्द १७६४ साथै नेपाल सम्बत ८२८ माघ उल्लेख भएको र भक्तपुर राजदरबार कुमारी चोकमा जितामित्र मल्लको अभिलेखमा बिक्रम सम्बत १७३४ उल्लेख भएको कुरा नयनाथ पौडेललबाट अभिलेख संग्रहमा उल्लेख गरिएको छ ।

बिक्रम सम्बतको बिस्तार :

राजा भूपतेन्द्र मल्लले बिक्रम सम्बत १७६३ उल्लेख गरेको कुरा भुवनलाल प्रधानले उल्लेख गर्नु भएको र जयप्रकाश मल्लले बिक्रम सम्बत १८१४मा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहलाई नेपाली भाषामा धर्मपत्र गरी दिएको कुरा इतिहासविद् नयराज पन्तले ‘इतिहास संशोधनको प्रमाण प्रमेय’ मा उल्लेख गर्नुभएको छ । बिक्रम सम्बत यसक्षेत्रको प्रचलित सम्वत्को रुपमा मानिएकाले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले उपत्यका विजय गरेपछि बिक्रम सम्बत १८२५को वसन्तपुर दरबारको अभिलेखमा– ‘राजा पृथ्वीनाराण शाहको बंश गुह्येकाली र पशुपतिका दुई पाउका धुलाका प्रसादले स्थिर भइरहोस्’ भनेर बिक्रम सम्बत १८२५ उल्लेख गरेका थिए ।

जंगबहादुरले मुलुकी ऐनलाई संग्रह गरी त्यसमा बिक्रम सम्बत १९१० उल्लेख भएको छ । इतिहासकार दिनेशराज पन्तले ‘राजीवलोचन जोशीका बराज्यू’ नामक पुस्तकमा बिक्रम बिक्रम सम्बत १७२१मा लमजुङमा वीरमर्दन शाह राजा थिए र बिक्रम सम्बत १७४१मा लमजुङमा केहरिनारायण शाह राजा थिए । बिक्रम सम्बत १७९६मा पृथ्वीनारायण शाहसँग चेपेघाटमा सन्धि गर्ने लमजुङे राजा रिपुमर्दन शाह हुन् भनी (पूर्णिमा १० पूर्णाङ्कको ३९) उल्लेख गर्दै बिक्रम सम्बत १७२१ प्रयोग भइआएको देखाएका छन् ।

बिक्रम सम्बतबारे इतिहासकार :

इतिहासकार ज्ञानमणि नेपाल लेख्छन्- बिक्रम सम्वत्को प्रचलन मध्यकालमा बाइसी–चौबीसी, सेन, मल्ल, शाह राजाहरले बिक्रम सम्बत चलाउदै आएका थिए । केन्द्रका तीन सहरका मल्लराज्यमा पनि पूर्व मल्लकालदेखि नैं अभिलेख, हस्तलिखित, पाण्डुलिपिका वाक्यहरुमा बिक्रम सम्बतको प्रयोग हुँदैआएको थियो । भक्तपुरमा नवर्ष प्रारम्भ हुनुभन्दा अगाडि धमधामसाथ बिस्केटजात्रा मनाइन्छ । तराइमा थारुहरु बैशाख सुरु हुने दिनदेखि नैं सिरुवा जात्रा मनाउँछन् ।’
बिक्रम सम्बत प्रकृतिसँग संवन्धित छ भन्ने एउटा आश्चर्यजनक कुरा नेपाल भित्र नैं देख्न सकिन्छ । ‘हरेक बर्ष मेष संक्रान्ति, नवबर्षका दिन बिक्रम सम्बत वैशाख १ गते सलहेस नामक फूलले उजागर गर्ने गर्छ । सिराहाको लाहानदेखि चार किलोमिटर पश्चिममा बर्षमा एकदिन मात्र फूल्ने सलहेस फूल जस्मा एउटै मात्र माला जस्तो लामो झयाम्म परेको लटरम्म फूल हो । अचम्मको कुरा अघिल्लोदिन कोपिला लाग्ने बिस्तारै आकार दिदै नयाँ बर्षको बिहानी वैशाख १ गते मालाको आकारमा फूल्दछ । बिहान फक्रने र वैशाख १ गतेको साँझदेखि ओइलिदै भोलिपल्छ झर्ने गर्छ ।

विज्ञहरुबीच बिक्रम सम्बत :

सम्बतहरुको विषयमा बिक्रम सम्बत १९३७ मा भारत गुजरातका विद्वान खोजकर्ता पं.भगवानलाल इन्द्रजी नेपालमा आई यहाँबाट २३वटा अभिलेख खोजी लगी लिच्छविकालमा उल्लेखित सम्बतहरुलाई बिक्रम सम्वत् ठह¥याएका थिए । त्यसैगरी कलकत्ता विश्वविद्यालय इतिहासका प्राध्यापक राधागोविन्द बासकले भारतको उत्तरपूर्व भागको इतिहासमा लेखेका छन–‘मानदेवको सम्बत् ३८६को चाँगुको अभिलेखको संवत बिक्रम सम्बत हो । यसरी बिक्रम सम्बत ३८६देखि प्रारम्भ भएर चपली गाउँमा रहेको अभिलेखमा लेखिएको सम्बत ४८९ सम्मका सम्बत बिक्रम सम्बत हुन् ।’

यसैगरी नेपालका खोजकर्ता इतिहासविद् शंकरमान राजवंशीले पूर्व लिच्छविकाल र उत्तर लिच्छविकालका सम्बतहरु शक सम्बत होइनन् भन्दै लिच्छविकालका अभिलेखमा उल्लेखित सम्बतहरुलाई बिक्रम सम्बतनै मानेका छन् । ‘लिच्छविकालमा उल्लेखित सम्बतहरुलाई शक सम्वत् होइनन्’ (लिच्छवि सम्बतको निर्णय, नयराज पन्त–नेपाल राजकीय प्रज्ञाप्रतिष्ठान २०४३ । ज्योतिषी पंं. सूर्यप्रसाद ढुगेल भन्छन्– ‘बिक्रम सम्बत प्रकृतिसँग आवद्ध छ । दिन र रात सूर्यले नैं निर्धारण गर्ने र सूर्यले एकबर्ष अर्थात ३६५ दिन १५ घडि ३१ पला ३१ प्रतिपला, यति समयमा एक चक्कर ३६० डिग्री पूरा गरेको हुन्छ ।

सूर्यले जब ३६० डिग्री अर्थात् रासी, अंशा, कला, विकला ०० हुन्छ, त्यही समयमा मीन रासी समाप्त भई मेष रासी सूर्यमा प्रवेश गर्छन् र बिक्रम सम्बतअनुसार नयाँवर्ष प्रारम्भ हुन्छ । यसैगरी ३० अंशको एक महिना हुनेहँदा पहिलो ३० अंश सिद्धिएपछि वैशाख सिद्धिएर जेष्ठ महिना प्रारम्भ हुन्छ । यहि क्रमबाट ३०-३० अंश काटेपछि वर्ष पूरा हुन्छ ।’

संस्कृतिसँग सम्बन्धित :

बिक्रम सम्बतको उठान प्रकृतिसँग संवन्धित भएकाले विश्वका सबै सम्बतहरुको दाँजोमा बिक्रमसम्बत धेरै वैज्ञानिक मानिन्छ । बिक्रम सम्बतको आधारमा वैशाख १ गते भक्तपुरमा बिस्केट जात्रा, सुदुर पश्चिमाञ्चलमा विसपर्व, तराईमा सिरुवा पर्व, माघे संक्रान्तिमा थारुहरुको माघी पर्व, गुरुङ, तामाङ, शेर्पाहरुले मनाउने लोसार पर्व सबै बिक्रम सम्बतकै आधारमा चलेका हुन्छन् ।
बिक्रम सम्बत नेपालको सार्वभौम अस्तित्वसँग पनि संबन्धित छ । किनकि एशीयाका धेरै राष्ट्रहरु चीन तथा भारत साम्राज्यवादी शक्तिको दपेटामा परेकाले त्यहाँका आदि सम्बतहरु सबै विस्थापित गरिएर इस्वी सम्बत लागु गरियो तर नेपाल साम्राज्यवादीले प्रभाव जमाउन नसकेकाले बिक्रम सम्बत पनि यथावत रुपमा प्रचलीत रहिरह्यो ।
त्यसैेले यो सम्बत ऐतिहासिक रुपमा यो नेपालको लागि गौरव हो । नेपालमा विदेशी प्रभाव नपरेको प्रमाण स्वरुप बिक्रम सम्बतको निरन्तरता हो । अतः यो बिक्रम सम्बत २०७८ सालमा नेपाल र नेपालीहरुको लागि शुभ रहोस् ।