• मंसिर ११ २०८१, मंगलवार

कोरोनाकाबीच नयाँ वर्षका कुरा

बैशाख १ २०७८, बुधबार

कोरोना भाइरसको दोश्रो चक्रकाबीचमा पनि हामी नयाँ वर्ष २०७८ को कुरा गरिरहेका छौं । मानिस प्रकृतिको उत्कृष्ट सन्तान भएर पनि मातृरुपी प्रकृतिको मनपरी दोहन र शोषण जसरी गर्दै आयौं र गरिरहेका छौं । त्यसको विरुद्ध खपिनसक्नु भएपछि प्रकृतिले समय समयमा रौद्ररुप लिएर मानिसहरुलाई अत्यन्तै पीडादायी शिक्षा दिन्छ, दिंदै आएको र दिइरहेको छ । त्यसैले केवल सयम फेरिएर मात्र त्यसको सार्थकता केही हुँदैन । मानिस र समाजका गलत परम्परा, पद्धति र प्रवृत्तिहरु फेरिएर असल परम्परा स्थापित र विकसित हुनुपर्दछ । अनि नयाँ वर्षोत्सव प्रसन्नमय, सुखमय र उत्सवमय हुन्छ ।

पात्रो फेरिएको औपचारिकताको आदान–प्रदान गर्नु एउटा कर्मकाण्डीय कुरा होला । तर यो रुप पक्षीय कुरा मात्र हुनपुग्दछ । सार पुरानै रुपमा नयाँको न्यानोको पातलो लेप लगाएर रमाउनुको क्षणिक र भ्रमपूर्ण आनन्दले वास्तबिक जीवन र जगतको सही प्रतिनिधित्व पनि गर्दैन । त्यसमा पनि जुन समाजमा असमानता, गरीबी, अभाव, बेरोजगारी र विभेद ब्याप्त हुन्छ त्यहाँ साल या वर्ष फेरिंदैमा केही फरक पर्दैन । मूल कुरा त उल्लिखित बोझहरुबाट मुक्त भएर समानता, न्याय, सम्बृद्धि र सम्पन्नता प्राप्त गर्नु हो । अनि तिनको अविच्छिन्नता र शतत निरन्तरता हो ।

हामीले सर्सरी मात्र हेर्यौं भने मात्र पनि समाजका तल्लो वर्गका विभिन्न तप्काहरुमा विषादको छायाँ परेको छ, जसले असीम दुःख, अथाहा सागर जस्तै तिनले कति गहिरो, कति अन्धकार, कति पर्वत गुफा अदिलाई आफ्नो पेटमा समेटेको छ । बाहीर त केवल समयको स्वप्नाभाष मात्र देखिने गर्दछ । नव वर्षमा आफूलाई ल्याउनु त्यसको मर्ममा मल्हम लगाएर दुःख कष्टमा आशा, भरोसा तथा सही प्रकाश दिनु हो । आखिर यो त कसैले पनि कालखण्डको गर्भको तितीर्षा देख्नु, भोग्नु र त्यसबाट मुक्ति खोज्नु न हो । एउटा मानिसले कतिसम्म अन्धकार सहन सक्तछ ? बितेका वर्षहरुमा यस्ता अन्धकारका घटनाहरुले जुन हस्ताक्षर गरेका छन् त्यो केवल एउटा पक्ष हो । सुन्दर भविष्यको मागको रुपायन पनि बिचार तथा साहित्यको काम हो । नववर्ष त्यसपछि मात्र बन्दछ ।

प्रत्येक वर्ष यस्ता नयाँ वर्षहरु आउँछन् जान्छन् । वर्षैपिच्छे यस प्रकार नव वर्षको यथार्थ के हो ? भन्ने कुरा नबुझी केवल औपचारिकता पूरा गरेर यो समाप्त हुन्छ । यही क्रम पुनः दोहोर्याउने गरिन्छ । नयाँ वर्षमा अन्तरनिहीत भावनाको गहिरो र गम्भीर अध्यन, चिन्तन, मनन र अनुगमन केही हुँदैन । अहिलेसम्मको हाम्रो इतिहासका कालखण्डहरु यसरी नै बित्दै गएका छन्, जान्छन् ।

यद्यपि नव वर्ष केवल नयाँ समयको पर्व मात्र होइन । यो जीजीविषा, सामुहिकता, वैभव, समृद्धिको कामना, संकल्प, नूतनताको उन्मेषको प्रकटीकरण पनि हो । विषादको छायाँको विरुद्ध नविनताको उद्घोष पनि हो । वास्तवमा विगत वर्षले हामीबाट हाम्रो आँकलन र मूल्यांकन चाहन्छ । नयाँ वर्ष उज्यालो बिम्बको रंगीन माछा जस्तै हाम्रो मनको संरचनामा छचल्किन्छ । नव वर्षको पक्ष आवश्यकरुपले विगत वर्षको अघिल्लो चरण हो । यो मिठो, अमिलो, तीतो, पीरो, टर्रो आदि विभिन्न स्वादहरुबाट संपृक्त छ । नयाँ वर्षले विगत वर्षको सन्धिविन्दूमा हामीलाई धेरै पटक एकान्त चिन्तन मननको सुविधा प्रदान गर्दछ । नव वर्षले हामीलाई भविष्यका दृष्यहरुसँग परिचय गराउनतिर लैजान्छ । हाम्रो दृष्टिमा संसार उसै पनि युग्महरुबाट सिर्जित छ (पुरानो या नयाँ, परम्परा या आधुनिकता, स्थिर र जंगम आदि इत्यादिबाट ।)

नयाँ समयको अर्थ मनको रंगमा नयाँ सिर्जनाको संकल्पको रुपमा जोडिएको हुन्छ । दुःख, विषाद अभाव, बेरोजगारीको बज्र र संकट :– यी सबै कुरा हुँदाहुँदै पनि नव वर्षले हामीलाई नयाँ दुष्चक्रलाई भेदन गर्नतिर आलोकित गराउँदछ र यसका लागि उष्मा तथा ऊर्जा दिन्छ भने मात्र त्यो वास्तवमा नव वर्षको महिमा गानको अर्थ पनि हुन्छ । प्रष्ट छ नयाँ वर्षलाई सार्थक तुल्याउन हामीले मानवीय जीवनका सबै आवश्यक आधारहरू प्राप्त गरेकै हुनु पर्दछ ।

त्यसैले नव वर्षलाई साँच्चै सार्थक र मूर्तरुपमा रुपमा मान्ने मनाउने हो भने पुराना या विगतदेखिका सारा विकृति र विसंगतहरुलाई फाल्नु पर्दछ र फाल्ने दिशामा सचेतनरुपमा अग्रसर हुनै पर्दछ । त्यो साहस, त्यो दृिष्ट, त्यो संकल्प, त्यो नैतिकता, त्यो इमानदारीताको परिपालना अथक संघर्षको द्योतक बन्नु पर्दछ । पाखण्ड प्रदर्शन र त्यसलाई दोहोर्याइरहने औपचारिक गतिविधिले केही हुँदैन यो समयले सिकाएको अखण्डनीय पाठलाई मनन गर्नु आवश्यक छ । अन्यथा हामी एउटा औपचारिकताको अन्ध अभ्यासको निरन्तरतामा खोक्रो आडम्बरमा मात्र रमाइरहेका हुन्छौं र त्यसैमा अभ्यस्त भइरहेका हुन्छौं । मनमा विषाद मुखमा फिस्स हाँसोको आडम्बरी जीवन बाचिरहेका हुन्छौं ।

त्यहाँ समयोत्सव एउटा यस्तै बिडम्बनाको क्रम उपक्रम मात्र बनिरहन्छ र अभ्यस्त भइरहन्छ । हामीले आज देखिरहेको समाजको भित्री तह र सतहको वास्तविकता यही नै हो । त्यसर्थ, समयलाई आज क्रमभंगता चाहिएको छ । त्यो क्रमभंगता समाज र प्रकृतिमाथिको निर्मम दोहन र शोषण बिरुद्धको गलतबाट सहीतिर, खराबबाट असलतिर, परनिर्भरताबाट स्वनिर्भरतातिर, दुर्बलताबाट सबलतातिर, अवसरबादबाट सत्यनिष्ठातिरको अर्थपूर्ण, आधारभूत र दूरदर्शी तथा कालभेदी क्रमभंगता हो । अनि मात्र नव वर्षोत्सवको वास्तविकता सही अर्थमा जनताको सामूहिक इच्छाकोरुपमा हाम्रा बीचमा अभिब्यक्त हुन्छ । हामी त्यस्तो समानतामा अधारित न्यायपूर्ण समाज र परिवेश निर्माण गर्न अग्रसर होऔं । सबैमा नव वर्ष २०७८ को अवसरमा यही मंगलमय शुभकामना छ ।