चितवन । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मुलुकलाई निकास दिलाउन कांग्रेस नेतृत्वको सरकार आवश्यक रहेको बताएका छन् ।
मंगलबार चितवन पुगेका नेता सिंहले पत्रकारहरुसँग कुराकानी गर्दै वर्तमान सरकारले मुलुकलाई अस्थिरतातर्फ लगेको र नैतिकता गुमाएकाले मुलुकलाई विधिसम्मत तरिकाले निकास दिनुपर्ने बताए ।
उनले भने, ‘जनताले कांग्रेसलाई प्रतिपक्षमा बस्न भनेको तर देशको अवस्थालाई हेरेर, अस्थिर राजनीतिलाई स्थिर बनाउन र बाँकी समयमा विकास निर्माणका काम गरी निवार्चन गराउन कांग्रेसको नेतृत्वको सरकार आवश्यक छ ।’
‘अहिलेको सरकारले न भष्ट्राचार रोक्यो,न सुशासन कायम गर्यो, न विकास निर्माणका कार्य गर्यो, विकास बजेटसम्म पनि खर्च गर्न सकेन’ उनले भने, ‘राजनीतिमा नैतिकताको धेरै महत्व हुन्छ । यो सरकारले नैतिकता गुमाइसकेको छ । अब यसको विकल्प तत्काल दिनुपर्छ ।’