• मंसिर ११ २०८१, मंगलवार

पार्टीभित्र मौलाइरहेका ‘बिनाश्रीपेचका टाकुरेतन्त्र’ !

चैत्र ३१ २०७७, मंगलवार

वेष्टमिनिष्टर संसदीय व्यवस्थाको मोडल पछ्याउनेहरुले निर्वाचन जितेमा सरकार निर्माण र हारेमा प्रतिपक्षी बनेर छायाँ सरकार गठन गर्ने मान्यता स्थापित गर्न खोज्नु नौलो कुरा होइन । यसको अभ्यास नेपाली कांग्रेसले पनि गरिरहेको छ भने एमालेले पनि धुमधडकापूर्ण प्रचारका साथ गरेको पनि हो । यो जनताको लोकप्रिय मतका आधारमा बहुदलीय संसदीय मान्यताको व्यवहारिक अभ्यास पनि हो । संसदीय व्यवस्थाले यसलाई अभ्यासको रुपमा लिने गरेको छ ।

यसका केही तथ्यपूर्ण कारण पनि छन् । सरकारले गल्ती गरेमा सच्याउन र सही बाटो हिंडाउनका लागि छायाँ सरकारको अभ्यास गरिन्छ । सरकार र छायाँ सरकारको अभ्यासले व्यवहारिक रुपमा कमीकमजोरी थाह पाउन मद्दत पनि गर्छ । प्रतिपक्षी आफैमा वैकल्पिक वा ‘वेटिङ गभमेन्ट’ भएकाले आइपर्दा सरकार सम्हाल्ने जिम्मा लिने तयारीका लागि पनि यो आवश्यक हुन्छ । दलका नेताहरुलाई संसदीय परिपाटीको व्यवहारिक अभ्यास गराउन र सिकाउन पनि यसो गर्नु जरुरी छ । यसका साथै, छायाँ सरकारको अभ्यासमार्फत् जनसम्बन्ध बिस्तार गर्न पनि यो कामयाबी हुन्छ । वास्तवमा यो संसदीय सरकार सञ्चालनका लागि जीवन्त रिहर्सल पनि हो ।

आफैमा अल्पविकसित देश र संसदीय व्यवस्थाको छोटो इतिहास भएकाले पनि नेपालमा छायाँ सरकारको प्रयोगात्मक अभ्यास सापेक्षतामा राम्रै हुन्छ पनि । तर नेपालमा रहेका राजनीतिक पार्टीहरुले यसको अभ्यास त कता हो कता, उल्टै पार्टीभत्रै ‘राजाको छायाँतन्त्र’को अभ्यास गरिरहेका छन् । पार्टी विचार विमर्श ग्रहण गर्नसक्ने दलीय चरित्रका छैनन् । हरेक पार्टी नेता–निर्देशित विचारबाहक संस्थाका रुपमा रहेका छन् ।

आफूभन्दा ठूला मान्छेको आज्ञा शिरोपर गर्नुपर्ने हिन्दू संस्कारले सिकाएको परिपाटीमा कार्यकर्ता चलिरहेका छन् । फरक विचार ग्राह्य छैन । आत्मालोचना गराएर ठेगान लगाउने परिपाटी छ । ‘वाद, विवाद र सम्वाद’ अर्थात् ‘थेसिस, एन्टिथेसिस र सिन्थेसिस’ को प्रयोग कहिं पनि देखिदैन ।

एक सन्दर्भमा बनेका नेताहरु नमर्दासम्म नेता भैराख्ने, लाजै नमानी आफ्ना उत्तराधिकारी खोज्ने र स्थापित गर्न थाल्ने र पारिवारिक स्वकीय सचिवालय निर्माण गरेर आफ्ना कमीकमजोरी पारिवारिक माहौलमा लुकाउने काम गरिरहेका छन् । यो राजतन्त्रको छायाँ अभ्यास हो । यसमा रुपान्तरण त परै जाओस्, बहुदलीय तथा संसदीयपनको गन्धसम्म पनि भेटिदैन ।

नेपालको लोकतान्त्रिक तथा गणतान्त्रिक आन्दोलनको नेतृत्व गर्ने प्रजातान्त्रिक पार्टी मानिन्छ नेपाली कांग्रेस । तर यसको अभ्यासमा वीपीका सोच र अभिव्यक्ति अपवादमा रहे पनि अन्य नेता प्रजातान्त्रिक रहेनन् । गिरिजाप्रसाद कोइराला पनि नमर्दासम्म सत्तामा टाँसिइरहे । उनी पनि बाँच्दासम्म नेपाली कांग्रेसभित्र र देशमा पनि विनाश्रीपेचका राजाका रुपमै रहे ।

हालका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा गिरीजाप्रसादसँग छुट्टिंदा मात्र आफ्नो पार्टीको पुच्छरमा (प्रजातान्त्रिक) भनेर गाँसेका थिए । तर अहिले उनी बाँच्दासम्म कुर्सी नछाड्ने चरम सत्तालिप्सामा तल्लिन छन् । उनी पार्टीभित्र र बाहिर राजाको लिगेसी कायम राख्न उद्दत छन् । होइनभने एकपटक पार्टीको शीर्षस्थान ‘पार्टी सभापति’मा पुगेपछि र देशको शीर्षस्थान ‘प्रधानमन्त्री’मा पुगेपछि आजीवन फेरि दोहर्याई तेहर्याई गरिराख्नु विनाश्रीपेचको राजाको लिगेसी पछ्याउनु होइन र ?

कम्युनिष्ट सिद्धान्त र व्यवहार दुवैमा राजतन्त्रका कट्टर विरोधी हुन्छन् । तर नेपालका कम्युनिष्ट पार्टीहरु त्यो आदर्शबाट हेर्न लायकका समेत छैनन् । मोहन विक्रम सिंहलाई यही विनाश्रीपेचको रोगले सिध्याइसकेको छ । उनी आजीवन पार्टीको शीर्ष स्थान महामन्त्रीमा रहिरहेका छन्, मानौ यो उनको व्यक्तिगत मामला हो । सीपी मैनालीदेखि अरुहरु पार्टी फुटाएर वा नयाँ पार्टी निर्माण गरेर भए पनि आजीवन पार्टी महासचिव रहनमै राजकीय आनन्द लिइरहेका छन् ।

नेकपा माओवादी र त्यसका विभिन्न समुहमध्ये ठूलो समूह माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड ओलीसँग नेकपाहुँदाका बखत ‘कार्यकारी’ लिन मात्र पनि निकै राइधोइ र मरिहत्ते गरेका थिए, त्यो पनि लाजै नमानी सार्वजनिक रुपमा हारगुहार माग्दै र धम्क्याउँदै । उनी पार्टीको अध्यक्ष वा महासचिव विगत ३६ वर्षदेखि निरन्तर रहँदै आएका छन् । उमेरका हिसाबले हेर्ने हो भने यिनको विनाश्रीपेचको कार्यकाल सिंगो पञ्चायती राजतन्त्रभन्दा ६ वर्षले जेठो छ । त्यसो त प्रधानमन्त्री तथा पार्टी अध्यक्ष नछाड्ने केपी शर्मा ओली श्री ३ र श्री ५ भन्दा पनि ठूला राजाका रुपमा दरिन पुगेका छन् । यिनले संविधान, नियम कानुन, मर्यादाको खिलाफमा देश र जनता विरोधी सेटिङसहित देश हाँकिरहेका छन् । यिनी वर्तमान संविधानभन्दा माथि छन् ।

व्यवस्थाका हिसाबले देशमा संसदीय व्यवस्था छ । संसदीय व्यवस्थाभित्रका मान्यता स्वभावैले राजतन्त्रभन्दा फरक हुन्छन् । इतिहासले पनि सिद्ध गरेको छ, राजतन्त्रको अन्त्य संसदीय व्यवस्थाका कारण हुन गएका हुन् । तर नेपालमा संसदीय व्यवस्थाको दलाल तथा किनाराकृत स्वरुप प्रयोगमा आइपुग्दा राजतन्त्रको विरासतको अभ्यास पार्टी तथा सत्ताभित्र आलकाँचै रुपमा भैरहेको छ । नेपालमा विनाश्रीपेचको राजतन्त्र पार्टीभित्र र सत्तामा निर्वाध चलिरहेको छ । अझैं पनि पार्टी र सत्ताभित्र मौलाउँदो अवस्थामा रहेका राजतन्त्रका छायाँ र अवशेष निर्ममतापूर्वक निमोठेर नफाल्दासम्म यस्ता हबिगतको सिकार आउँदा केही पुस्ता पनि परिरहने देखिन्छन् ।