• आश्विन १३ २०८१, आईतवार

आउनुस् बुद्धले सिकाएको सामूहिकतामा रमाऔं

चैत्र ३१ २०७७, मंगलवार

संघम शरणम गच्छामी ! यो वाक्य बुद्धले ज्ञान प्राप्त गरेपछि दिएको एक महत्वपूर्ण ज्ञानको अंश हो । बुद्ध दर्शनमा संघको व्यापक महत्व छ । उनले दुनियाँलाई दिएको ज्ञानको आजको संसारलाई पनि त्यत्तिकै महत्व छ । पूर्वीय दर्शनमा सामूहिक छलफल मार्फत् समस्याहरुको सावधान गर्ने परिपाटीको सुरुवात बुद्धकालीन समयदेखि भएको देखिन्छ । गणतन्त्रको बारेमा दार्शनिक रूपमा बुद्ध दर्शनमा ब्याख्या गरिएको छ । यसो भन्न सकिन्छ, की गणतन्त्रात्मक व्यवस्थाको आवश्यकता र परिकल्पना उतिबेलै गरिएको रहेछ ।

किनकी राजतन्त्रात्मक व्यवस्थामा एकजनाले सारा समाजको बारेमा निर्णय गर्दछ भने गणतन्त्रात्मक व्यवस्थामा हरेक कुराको सामूहिकरुपमा निर्णय गरिन्छ र लागू गरिन्छ । साथै बुद्धकालमा संघमा भिक्षुहरुलाई प्रश्नहरु गर्नबाट निषेध गरिएको थिएन अथवा त्यतिबेला हरेक कुरा छलफलबाट निष्कर्ष निकालेर गरिन्थ्यो भन्ने कुरा बुझ्न सकिन्छ । त्यतिबेला हरेक विषयका बारेमा निर्धक्कसँग प्रश्न सोध्ने अधिकार थियोे ।

यसैकारण पनि सम्राट अशोकको पालामा भएको दोस्रो महासाङ्घातिकमा वैचारिक विभाजन नै भएको थियोे । लगभग त्यही समयमा नै महायान र हिनयान समुदायको आफ्ना आफ्ना अडान थिए । सुक्ष्मरूपमा महायान भक्तिवाद थियोे भने हिनयानले बुद्ध दर्शनको ब्यवहारिकताको कुरा गथ्र्यो । दुनियाँमा धार्मिक समुदायमा रुपान्तरण भएको विचारमाथी प्रश्न गर्ने अधिकार हुन्न तर हरेक कुरामा निर्णय गर्दा बुद्धले भिक्षुहरुलाई त्यो कडा बन्धनमा राख्नु भएन । शिल, प्रज्ञा र समाधीको कुरा गर्नु भयो ।

buddha

शरणम गच्छामी भनेको संघको शरणमा जान्छु भनेको हो । यसलाई समूहमा रहन र कुनैपनि कुरालाई सामूहीक रुपमा छलफलपछि हुने निर्णयमा सहमत हुन्छु भन्ने अर्थमा पनि बुझ्न सकिन्छ । संघ अर्थात् समूहमा सामुदायिकताको अभ्यास हुन्छ । र त्यहाँ त्यहीँ खाने, बस्ने आफ्नै खालको अनुशासन हुन्छ । भिक्षुहरुको जीवनमा समुदायको आभास हुन्छ । गुम्बा, बिहार आदि पनि सामूहिक रूपमा निर्माण हुने गर्छन् । मैले आफ्नो पुस्तकमा पनि यसबारे बृहत ब्याख्या गरेको छु ।

संघको शरणले वा समूहमा आवद्ध हुनाले मान्छेलाई समाजभन्दा बाहिर जान दिंदैन । संघ अर्थात् समूहले अनुचित, निन्दनीय र गलत कार्यहरू गर्न दिंदैन । किनकि संघमा शिल अर्थात् अनुशासनको पालना हुन्छ । त्यसकारण आजको समाजमा संघको अनिवार्य आवस्यता खड्किसकेको छ । आजको स्वतन्त्र भनिएको समाजमा संघमा आवद्ध नहुने भएका कारण मानिसहरुका बीचमा मारामार हुनु स्वभाविकै छ । किनकि मानिसहरु स्वतन्त्रताको नाममा अनुशासन भन्दा बाहिर छन् । ब्यक्तिगत स्वार्थले मानिसलाई थिच्दै लगेको छ । यहीकारण मानिसले मानिसलाई नै हत्या गर्नेसम्मको अपराध गरिरहेको छ ।

gautam budda

समुदायमा रहँदा मानिस समुदाय र आफैप्रति पनि उत्तरदायी हुने भएकोले आपसमा झगडा र तनाब हुँदैन । बढी स्वन्त्रताको नाममा आज मानिसको जीवन निराशा, पीडा, अनित्य दुःखमा बितिरहेको छ । यस्तै कारणले हाम्रो समाज आज तहसनहस हुँदै गएको छ । हो मानिसलाई बाँच्नका लागि स्वतन्त्रता चाहिन्छ तर स्वतन्त्रताको नाममा छाडा हुनु राम्रो हुँदैन । छाडापनले मानिसलाई मानवीयताबाट अलग गरिदिन्छ । एक्लो र हिंस्रक बनाइदिन्छ । मानवीयताबाट अलग गर्ने र समाजलाई भाँड्ने स्वतन्त्रता वास्तवमा स्वतन्त्रता होइन । त्यो अराजकता हो । मानिसका लागि अराजकता राम्रो कुरा होइन ।

सङ्घायना मार्फत् बुद्ध दर्शनमा अनेकौं धाराहरुको विकास भएको भएपनि हामीले बुद्धले दिएको आधारभूत ज्ञानको बाटो भुल्नु हुँदैन । गौतम बुद्ध ज्ञानका आदर्श हुन् । त्यसरी दुःखको कारण मानिस आफै हो र दुःखलाई मेटाउन सकिन्छ भनेर आजभन्दा २६ सय वर्ष अघि नै दुनियाँलाई ज्ञान दिने गौतम बुद्ध हाम्रो बुझाइको अन्तिम गन्तव्य हुन् । त्यसैले आउनुस् संघम शरणको आदर्शलाई जीवन व्यवहारमा उतारौं ।

लेखकः बौद्ध धर्मगुरु हुन् ।