• मंसिर ११ २०८१, मंगलवार

जसपा अध्यक्षद्वय ठाकुर र यादवको विवादले नयाँ सरकार गठन अलमल

चैत्र ३० २०७७, सोमबार

काठमाडौं । सर्वोच्च अदालतले नेकपा बदरको फैसला गरेसँगै तत्कालिन दुई पार्टी नेकपा (एमाले) र माओवादी केन्द्रले पुनर्जीवन पाएका छन् । यी दुई पार्टीले पुनर्जीवन पाएसँगै औपचारिक रूपमै एमाले र माओवादी केन्द्र अलग–अलग भएका छन् ।

दुवै पार्टी अलग–अलग भएसँगै सत्ताको जोड, घटाउले निरन्तरता पाएको छ । तर, यो निरन्तरताले अहिलेसम्म सार्थकता पाउन सकेको छैन । विघटित संसद् पुनःस्थापना भएको पर्सिपल्टदेखि सुरु भएको सत्ता गठबन्धको हिसाब महिनौ बित्दा पनि योगफल निस्किन सकेको छैन ।

गठबन्धनको फल मिल्न नसक्नुको कारण देशका चार ठूला राजनीतिक दल नेपाली काँग्रेस, एमाले, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)बीच आपसी लेनदेन नमिल्नु नै हो । फागुन १३ गतेदेखि सुरु भएको सत्ता गठबन्धको दौडाहा चैत अन्तिमसम्म आइपुग्दा पनि गन्तव्य भेट्न सकेको छैन ।

सत्ता गठनकै लागि माओवादी केन्द्रले ताकेता गरिरहेको छ । तथापि उसको ताकेताले मात्रै सम्भव छैन । त्यसका लागि उसले जसपासँग साझेदार गर्नेपर्ने हुन्छ । काँग्रेस र माओवादी केन्द्र गठबन्धन गरेर सरकार गठन गर्न सम्भव छैन ।

अब बन्ने नयाँ सत्ता गठबन्धका लागि जसपासँग काँग्रेस, एमाले वा माओवादी केन्द्रले साझेदार गर्नैपर्ने हुन्छ । किनकि यतिबेला जसपा नयाँ सरकार गठनका लागि निर्णायक मोडमा छ ।

जसपा निर्णायक भएकोेले काँग्रेस र माओवादी केन्द्रले उसँग पटक–पटक भेटवार्ता र छलफल गरेको छ । भेटवार्ता र छलफलको क्रममा काँग्रेस र माओवादीले सत्ता गठबन्धन गर्न चाहे पनि जसपाले मानिरहेको छैन ।

बरु उसले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँगै गठबन्धका लागि छलफल गरिरहेको स्रोत बताउँछ । ओलीसँग जसपाको एकपक्षले पटक–पटक भेटवार्ता गरेको छ भने अर्को पक्षले विरोध गर्दै आएको छ ।

नयाँ सत्ता गठनको जोड, घटाउ चलिरहेको बेला जसपाभित्र दुईधार देखिन्छ । जसका कारण जसपा महिनौँदेखि अनिर्णयको बन्दीमा फसेको छ । पार्टी अध्यक्ष महन्थ ठाकुरपक्ष ओलीसँगै सत्ता साझेदारी गर्ने पक्षमा उभिएको देखिन्छ भने अर्का अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराई काँग्रेस, माओवादी केन्द्रसँग गठबन्धन गरेर ओलीको विदाइ गर्ने पक्षमा देखिन्छन् ।

पार्टी अध्यक्ष महन्थ ठाकुरपक्ष ओलीसँगै सत्ता साझेदार गरेर अगाडि बढ्नुपर्ने बताउँछ भने अर्का अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईपक्ष ओलीसँग कुनै हालतमा गठबन्धन गर्ने पक्षमा छैन ।

तर, गठबन्धनलाई लिएर गिजोलिएको तीन दल (काँग्रेस, माओवादी र जसपा)को शुक्रबार बैठक बसेको थियो । बैठकमा काँग्रेसले आफ्नै नेतृत्वमा सरकार गठन हुनुपर्ने प्रस्ताव राखेको थियो । उसले उक्त प्रस्ताव राखेपछि जसपाले यस विषयमा पछि छलफल गर्ने भन्दै बैठकबाट बाहिरिएको थियो ।

त्यसपछि आइतबार (हिजो) जसपाका शीर्ष ६ नेताबीच छलफल भएको छ । छलफलमा जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई, वरिष्ठ नेता अशोक राई, राजेन्द्र महतो र राजेन्द्र श्रेष्ठ सहभागी थिए ।

बैठक समापन पश्चात् बोल्दै वरिष्ठ नेता महतोले भने, –‘बैठकमा नयाँ सरकार गठनको विषय संसद्को एजेन्डा नै नबनेकोले निर्णय गरेका छैनौँ । हामी अनौपचारिक रुपमा बैठक बसेका हौँ । तर, सरकार गठनका लागि उपयुक्त समय नभएकोले हामी तयार छैनौँ ।’

महतोका अनुसार, जसपा आफ्नो माग सम्बोधन प्रक्रियाका लागि अगाडि बढेकोले तत्काल कुनै पनि निर्णय गर्ने पक्षमा छैन । पार्टीका मुद्दा सम्बोधनका लागि आफूहरू अगाडि बढिरहेको बेला सरकार परिवर्तनको एजेन्डा बनेको छैन । र, कुनै निर्णय गर्नेवाला पनि छैनौँ ।’

जसपाका शीर्ष नताहरूको अभिव्यक्ति सुन्दा र उनीहरूले हालसम्म नयाँ सत्ता गठनका लागि कुनै पनि औपचारिक निर्णय नगर्नुले पार्टी नै अनिर्णयको बन्दीमा परेको छ । उसले अब बन्ने नयाँ सरकारका लागि काँग्रेस, माओवादी वा एमाले कसलाई समर्थन गर्ने भन्नेमा दोधार देखिन्छ ।

नयाँ सत्ता गठनको जोड, घटाउ चलिरहेको बेला जसपाभित्र दुईधार देखिन्छ । जसका कारण जसपा महिनौँदेखि अनिर्णयको बन्दीमा फसेको छ । पार्टी अध्यक्ष महन्थ ठाकुरपक्ष ओलीसँगै सत्ता साझेदारी गर्ने पक्षमा उभिएको देखिन्छ भने अर्का अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराई काँग्रेस, माओवादी केन्द्रसँग गठबन्धन गरेर ओलीको विदाइ गर्ने पक्षमा देखिन्छन् ।