• मंसिर १३ २०८१, बिहीबार

विप्लवका दाजूलाई २१ दिने म्याद, छैन छोड्ने छाँटकाँट

चैत्र ३० २०७७, सोमबार

काठमाडौं । सरकारसित वार्ता गरेर शान्ति प्रकृयामा आएको नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’का दाजू तथा सो पार्टीका पोलिट्ब्यूरो सदस्य चन्द्रबहादुर चन्द ‘वीरजंग’लाई रिहा गर्नुपर्नेमा थप २१ दिनको म्याद थपेर अदालतमा हाजीर गराउनका लागि अदालतले म्याद जारी गरेको छ । उनलाई आज विष्फोटक पदार्थ सम्बन्धी कसुर मुद्धामा बयानका लागि उपस्थित हुन अदालतले सूचना जारी गरेको हो । चन्दलाई जिल्ला अदालत रुपन्देहीले २१ दिनभित्र अदालतमा हाजिर हुन भनेको निर्देशन दिएको छ ।

‘तोकिएको म्यादभित्र नआई म्याद गुजारी बसेमा कानून बमोजिम मुद्धा फैसला हुनेछ,’ जिल्ला अदालत रुपन्देहीले जारी गरेको सूचनामा लेखिएको छ । कपिलवस्तुको शिवराज नगरपालिका-९ शिवगढी घर भनिए पनि सो वतनमा उनी फेला नपरेपछि राष्ट्रियस्तरको पत्रिकामा सूचना प्रकाशित गरेर बयानका लागि बोलाइएको अदालतले जनाएको छ ।

गत फागुन २१ गते सरकारसँग तीन बुँदे सहमति गर्दै विप्लव नेकपा शान्तिपूर्ण राजनीतिमा आएको थियो भने वार्तामा सहमति भए अनुसार सरकारले विप्लव नेकपामाथि लगाइएको प्रतिबन्ध हटाउँदै उसका नेता कार्यकर्ताहरुको रिहाइ र उनीहरुमाथि लागेका सबै मुद्धाहरु खारेज गर्ने सहमति जनाएको थियो ।

प्रधानमन्त्री केपी ओलीको उपस्थितिमा गृहमन्त्री रामबहादुर थापा र विप्लवले सहमति पत्रमा हस्ताक्षर गरेका थिए । तर सहमति भएको महिना बित्दापनि सरकार सहमतिप्रति इमानदार नभएकोमा चौतर्फी कुरा उठ्न थालेको छ । विप्लव नेकपाका स्थायी सदस्य हेमन्तप्रकाश वली, पोलिट्ब्यूरो सदस्य भरत बम, केन्द्रीय सदस्य माइला लामा लगायतका नेताहरु झुट्टा मुद्धामा आजसम्म पनि जेल जीवन बिताइरहेका छन् ।