• मंसिर ७ २०८१, शुक्रबार

व्यवसायीको व्यवहारले रारामा रमाउनेहरु घट्न सक्छन्

चैत्र ३० २०७७, सोमबार

नेपालको कर्णाली प्रदेश चाँच्चिकै स्वर्गको टुक्राको रुपमा चिनिन्छ । कर्णाली प्रदेशकै मुगु जिल्लामा अवस्थित राराताल, जसलाई हेर्न र घुम्न भनेर देश तथा विदेशदेखि मान्छेहरु आउने गर्छन् । साँच्चै भन्ने हो भने राराताल स्वर्ग जस्तै छ । मन्द, अनुशासित, शान्त छ राराताल । स्वच्छ हावापानी र मनमोहक वातावणीय भएको ठाउँ हो रारा । राराको बारेमा कवि, लेखक, कलाकार र साहित्यकार आदिले धेरै नै बयान गरेका छन् । धेरैले रारालाई स्वर्गकी अप्सराको उपनाम पनि दिएका छन् । कसैले यसलाई स्वर्गको टुक्रा पनि भनेका छन् ।

जे होस् रारा मन नपराउने मान्छे सायद नहोला । किनकी रारा प्रकृति हो रारा प्रकृति प्रद्धत्त संस्कृति हो । उनीहरुले जत्तिकै उचाइबाट म राराको बयान गर्न नसकुँला तर जहाँ म पुगें, रारालाई नजिकबाट चुमें, छोएँ, ऊसँग खेलें, नियालें, ऊसँग रमाएँ, लडिबुडी खेलें, प्रेम गरें, उसको अंगालोमा हराएँ, अनि म उसको बारेमा एक शब्द पनि नबोलुँ त ? हो म उसको बारेमा केही त बोल्छु । किन की म नबोलेर उसको बारेमा को बोल्ने त ? तर पछिल्लो समयमा हेर्दा सुन्दर राराको सुन्दरतालाई हेर्न र चुम्न आउने पर्यटकको भीडभाड हुन थालेपछि त्यहाँको वातावरण पनि दुर्गन्धित हुन थालेको छ र पाउनालाई उचित खाना बस्नको समस्या पनि देखिएको छ ।

आफ्नै देशको गहनाको रुपमा रहेकी सुन्दरी रारालाई बेइज्जत गर्न म चाहन्न । किनकी उसको बेइज्जत गर्नु भनेको मैले मेरै बेइज्जत गर्नु सरह हो । तर प्रकृतिको अनुपम उपहारको रुपमा रहेकी मेरी राराको सुरक्षा गर्न मेरो किन हिच्किचाइरहेको छ ? म यो जान्न चाहन्छु । मेरी रारालाई भेट्न र मित लगाउन त्यहाँ पुग्नेहरुका लागि खान र बस्न महँगो शुल्क लाग्ने गरेको छ । पर्यटकहरुका लागि खाना ठीक भएपनि बस्नको लागि भने कपडा फोहोर रहेका छन् । यता पर्यटकहरुप्रति होटेल व्यवसायीहरुको व्यवहार पनि त्यति राम्रो पाइएन । सरसफाई गरिदेऊ वा अर्को तन्ना फेरिदेऊ भन्दा सिधै छैन भनेर ठाडो जवाफ दिने गरेको पनि पाइयो ।

पक्कैपनि यस्तो व्यवहारले पाउनाहरुमा राम्रो पर्दैन होला । पाउनालाई सम्मान र सुविधाका साथमा राख्न सक्नुपर्नेमा उनीहरुका लागि बसाई नै नराम्रो रहेपछि उनीहरु फेरि त्यहाँ घुम्न जाने योजना नबनाउलान् जस्तो भान भयो । मानवीय व्यवहारकै कारण यदि रारा जाने योजना बनेन भने त्यसको असर त्यहाँ स्थानीय र सरकारलाई पर्नेछ, किनकी पर्यटकहरु त्यहाँ गएनन् भने स्थानीयको कमाई गर्ने ठाउँ पनि कमजोर हुनेछ र राज्यलाई पनि कर उपलब्ध हुन छोड्नेछ । हामीले पर्यटकहरुलाई दिने सेवा र सुविधा राम्रो भएको अवस्थामा उनीहरुले पैसा खर्च गर्न, त्यहाँ बस्न, रमाउन मन पराउने हुन् ।

 

यस्तै व्यवहार गर्ने हो भने होटलमा बसाई नराम्रो भएकै कारणले राराको सुन्दरता नियाल्न र पर्यटकीय क्षेत्रको रुपमा यसलाई चिनाउन मुस्किल पर्दै जाने सम्भावना रहेको छ र यसले समग्र यर्पटन क्षेत्रलाई हानी गर्नेछ । त्यसैले गर्दा रारामा जेजति होटलवालाहरु छन् उनीहरुले राम्रो पर्यटकहरुकालागि गासबासको उचित सुविधासँगै पाउनालाई सम्मान गर्न सक्नु र सिक्नुपर्छ र उनीहरुलाई सो स्थानको बारेमा यथार्थ जानकारी पनि दिनसक्नु पर्दछ ।

त्यहाँ पनि पक्कै होटल व्यवसाय गर्नेहरुको समिति, स्थानीय सरकार, प्रदेश सरकार होला र केन्द्रीय सरकारको उपस्थिति होला । ती सबैको ध्यान अब छिटै रारातिर जानु पर्ने देखिन्छ र सुन्दरी रारालाई थप सुन्दर बनाउन पर्दछ, त्यसका लागि सबभन्दा पहिलो त्यहाँ होटेल व्यवसाय गर्ने व्यवसायीहरुको मन सफा हुनुपर्दछ । किनकी रारा हामी सबैको सम्पति हो, जसले देश तथा विदेशबाट पाउनाहरु आउने भएका कारण रोजगारको पनि अवसर मिल्ने गरेको छ ।

यदि पर्यटकीय हिसाबले यस क्षेत्रलाई अझै सुविधा सम्पन्न बनाउनका लागि थप पहल गर्ने हो भने र साँच्चिकै नेपालीलाई सुखी र देशलाई समृद्ध बनाउने हो भने सबै तहका सरकारहरुले छिट्टै बृहद आर्थिक तथा पर्यटकीय योजना बनाउनै पर्दछ । नत्र भने कस्तुरीले आफ्नै नाभीमा रहेको बासनादार बीना देख्न नसकी बासना खोज्न भौंतारिए झैं हामी पनि राराको सुन्दरतालाई चिन्न नसकेर सुन्दरतामा रमाउन विदेशतिर भौंतारिनु बाहेक अर्को उपाय रहने छैन । यो अवस्थालाई चिन्न नसक्ने हो भोलि पछुताउनु पर्नेछ ।