• मंसिर १३ २०८१, बिहीबार

संसदमा बहस : सत्तामा ‘सेटिङ’ र पार्टी नेताको शाक्ति केन्द्रसँग ‘डेटिङ’

चैत्र ३० २०७७, सोमबार

काठमाडौं । अहिले प्रतिनिधि सभामा संसद विघटनको विषयलाई लिएर प्रतिनिधिसभा बैठकमा गम्भीर बहस हुन थालेको छ । विघटनसँगै विभिन्न विकल्पसहितको सेटिङ एकपछि अर्को रुपमा देखिएपछि यसले पार्टी र पार्टी आबद्ध मानिसलाई मात्र होइन, साधरण जनतालाई समेत आश्चर्यमा पारिरहेको छ । सिंगो राज्यसत्ताका हरेक निकायमा देखिएका सेटिङ र तिनको समयसमयमा भएको अनपेक्षित प्रयोगले संसदमा पनि गम्भीर सवाल उठ्न गएको देखिएको छ ।

कोठे बैठक, पार्टी मिटिङ, सभा सम्मेलन, भाषण प्रशिक्षणहुँदै यसले प्रतिनिधिसभा बैठकमा प्रवेश पाएको छ । सोमबार शुन्य समयमा सांसद अञ्जना विशंखेले राज्यसत्ताका विभिन्न अंगहरुमा सेटिङ भैरहेका भन्दै विषयलाई गम्भीर रुपमा उठाएकी थिइन् । राज्यसत्ताको चरित्र लोककल्याणकारी र जनपक्षीय हुनु पर्ने बेलामा राज्यका निकाय संस्थागत रुपमा चल्न नसकेको उनको तर्क थियो । यसको पछाडिको कारक नै ‘सेटिङ’ रहेको उनको जिकिर देखिन्थ्यो ।

राजनीतिक विश्लेषकका अनुसार यो सेटिङ पार्टीका नेताहरुको नादानी वा निरीहताका कारण हुन गएको बताइरहेका छन् । हरेक नेताहरुको निवासको चुल्होमा प्रत्येक छाक के पाक्छ, नास्ता के बनाइन्छ, गफ के चल्छ र निद्रामा कस्ता सपना देख्छन् र कसबाट के उपहार पाएपछि उनीहरुका दिन सुध्रिए भन्ने रिपोर्टिङ शक्ति केन्द्रसमक्ष क्षणक्षणमा हुने गरिरहेको हुन्छ ।

त्यसैले सांसद अन्जना विशंखेले संसदमा सेटिङका कुरा उठाउँदा अर्को पाटो छुटेको राजनीतिक विश्लेषकहरुको तर्क रहेको छ । त्यो हो, सेटिङसँगै पार्टी नेताहरुको शक्ति केन्द्रसँगको डेटिङ । यही डटिङले सेटिङलाई सहज र पाच्य बनाइरहेको छ । कुरा फरक यत्ति मात्र हो, सेटिङ कसको भएछ र कसको भएनछ । कुरा सेटिङ नहोस् भन्ने होइन, बरु कुन अमूकको पक्षमा भयो र कुन अर्को अमूकको पक्षमा भएन भन्ने हो ।

नेताहरु आफ्ना पक्षमा भएको ‘सेटिङ’को कुरा उठाइँदा ‘आरोप’ भन्छन् अरुको भने सेटिङ नै भन्छन् । अहिले प्रम ओलीको चकचकी छ । उनको सेटिङ छ, वा उनी अरु कसैको सेटिङमा निर्वाध चलिरहेका छन् । एक जमाना थियो प्रचण्डको सेटिङको, वा प्रचण्ड अर्काको सेटिङमा ‘चमत्कार हुन्छ’ भन्दै हिंडेका थिए । अरुले ‘सेटिङ’ भन्थे, प्रचण्डले त्यसलाई ‘आरोप’ मात्र भएको स्वीकार्थे ।

यो सेटिङ पहिले पनि थियो, त्यो भारतबाट हुने गरेको थियो । अहिलेको सेटिङ अमेरिकाबाट भैरहेको छ । त्यसैले यी फरक फरक समयमा भएका र हुने गरेका दुवै सेटिङ नेपाली नेताहरुको करामत थिएनन् र होइनन् पनि ।