हरेक देशको आफ्नो मौलिक पहिचान हुन्छ । हाम्रो पहिचान भनेको यहाँको मौलिक कला, धर्म, संस्कृति, परम्परा, चाड, पर्व नै हो । विदेशीहरु यहाँको मौलिकतालाई राजनीतिलाई ध्वस्त पारेझैं ध्वस्त पार्न कम्मर कसेर लागेका छन् । राजनीति विदेशी खेलाडीको इशारमा चल्नाले देश ऋणको चपेटामा परेको छ भने मौलिक संस्कृतिलाई छिन्न भिन्न पार्न पछिल्लो समय कोरोनालाई बहाना बनाइएको छ । राजनैतिक भीडभाड गर्न कुनै बन्देज छैन तर धर्म, संस्कृतिको जगेर्ना र रक्षा गर्न नचाहनेहरुले कोरोनालाई बहना बनाउँदै अनेकौं हथ्कण्डाहरु अपनाइ रहेकाछन् । पछिल्लो समय पशुपतिनाथको दर्शन गर्न आम सर्वसाधारणलाई हम्मेहम्मे पर्दैै गएको छ भने नवीन वर्षको सेरोफेरो भक्तपुरको बिस्केट जात्रालाई प्रशासनले रोक लगायो । स्थानीयहरुले चर्को विरोध गरे ।
अदालतमा मुद्दा गयो, अन्ततः अदालतले आदेश दियो बिस्केट जात्रा नरोक्नू बरु स्वास्थ्य सावधानी अपनाउनू । यसपटकको २०७८ को बिस्केट जात्रा मनाउन पनि अदालकै गुहार माग्नु पर्यो । त्यसो त अघिल्लो मत्स्येन्द्रनाथको जात्रा रथ तान्ने र भोटो देखाउने विषयमा जनताको व्यापक विरोध भयो । पुल्चोकमा ठूलै झडप भयो, अन्ततः स्थनीयहरुले जात्रा मनाएरै छोडे । कोरोनालाई विदेशी सिमानामा नरोक्ने अनि यहाँँको मौलिक कला, धर्म संस्कृतिमा प्रहार गर्ने कस्तो अचम्मको कुरा । संयोग नै हुन सक्छ । वर्षा र सहकालका देवता मत्सयेन्द्रनाथको जात्राका विषयमा अघिल्लो समयको बिवादले होला यो वर्ष मौसममा व्यापक समस्या देखियो, पानी पर्दै नपरेको, सर सामानको भाउ वृद्धिले अनिकाल लागेको, व्यापारघाटा चुलिएको छ ।
चैत्र शुक्ल अष्टमी अर्थात् चैते दशैँ भवानीको उत्पत्ति भएको दिन बडो उल्लासमय दसैँ सुरुवाती दिन यसै ०७८ वैशाख ७ गते देखि वर्षा र सहकालका देवता सेतो मत्स्येन्द्रनाथको रथ जात्रा शुरु हुँदैछ । हरेक वर्ष चैत्र शुक्ल अष्टमीदेखि शुरु हुने यो जात्रा काठमाडौंको दरबरमार्गस्थित तीनधारा पाठशालाबाट शुरु हुन्छ । शहरको भित्री भागमा ३ दिनसम्म चल्ने यो जात्राका लागि रथ निर्माण कार्य भने चैत्र शुक्ल प्रतिपदा अर्थात् यसै चैत्रको ३१ गते नै शुरु हुन्छ । अष्टमीका दिन सेतो मत्स्येन्द्रनाथलाई खटमा राखी मच्छेन्द्रबहालबाट तीनधारा पाठशाला पुर्याइन्छ । त्यसै राति राष्ट्र प्रमुखबाट असनमा दर्शन हुन्छ । गत वर्ष यो रथजात्रा नै भएन, बहाना कोरोनाको गरियो तर पछि हालसम्म राम्रो पानी परेन, दोष लगाइयो जलवायु पविर्तनलाई ।
वर्षेनी काठमाडौं र पाटनमा सेतो र रातो मत्स्येन्द्रनाथको रथयात्रा भइरहन्छ । सबैभन्दा लामो जात्राको रुपमा लिइन्छ यसलाई । नेपाललाई हिन्दु, बुद्ध धर्म दर्शनको केन्द्रस्थल मानिन्छ । हिन्दु, बुद्ध संयुक्तरुपमा मान्ने चाडपर्वहरु यहाँ धेरै छन् । दुवैकालागि परिचित काठमाडौंँ उपत्यकाको प्रमुख जात्रा हो भोटो जात्रा ! हाम्रो मुलुक कृषि प्रधान नै हो । जाडो र गर्मी दुवै समयमा जात्रा मनाई आफ्नो परम्परा कायम राख्ने हाम्रो परम्परा युगीन र आदिम पनि छ । सहकाल र वर्षाका देवता मानिने मत्स्येन्द्रनाथको रथयात्रासँग भोटोजात्रा पनि गाँसिएको छ ।
झण्डै २ महिनासम्म काठमाडौंको र पाटनमा मनाइने मत्स्येन्द्रनाथ यात्रामध्ये सेतो मत्स्येन्द्रनाथ जात्रा जाडो मौसममा पर्छ भने पाटनमा मनाइने रातो मत्स्येन्द्रनाथ यात्रा गर्मी समय वैशाख शुक्ल प्रतिपदादेखि आषाढ शुक्ल चौथीसम्म चन्द्रमास अनुसार मनाइन्छ । किसानका लागि विशेष कृपा दृष्टिमा रहने मत्स्येन्द्रनाथलाई बौद्धमार्गीले बोधिसत्व, पद्मपाणि आदिनामले पुकार गर्ने गर्छन् । हिन्दुहरुले परम आदरणीय पूज्य गुरु गोरखनाथका गुरुका रुपमा हेर्ने गर्छन् । भगवान् पशुपतिनाथले वर्षमा दुईपटक बुद्धको रुप लिन्छन् र महाशिवरात्रीका दिन पशुपतिनाथलाई पनि मत्स्येन्द्रनाथका रुपमा पुजिने गरिन्छ भन्ने चिन्तनलाई आत्मसात् गर्दा मत्स्येन्द्रनाथ सवैका सदावहार साझा देवता भन्ने पुष्टि हुन्छ ।
शताब्दीयौं अघिदेखि देखिएको साँस्कृतिक मान्यताको रुपमा स्थापित मत्स्येन्द्रनाथको जात्रा सुरु गराउने श्रेय भने लिच्छवी राजा शिवदेवलाई जान्छ । मत्स्येन्द्रनाथको मूलस्थल बुङ्मती हो । ‘बुँद्यो’ भनेर नेवारी भाषामा परिचित छ जस अनुसार बुँद्यो भन्नाले बोलाउनासाथ आएका देवता भन्ने बुझिन्छ । प्राचीन काठमाडौं खाल्डोमा लामो समयसम्म वर्षा नहुँदा तान्त्रिक गुरुहरुलाई बोलाई यसको कारण खोज्नपुग्दा तान्त्रिक बन्धुदत्त यसको कारण खोज्दै अन्तरध्यान भएछन् । एकपटक गोरखानाथले यहाँको भ्रमण गर्दा उनलाई नचिनेकाले आतिथ्यता भएनछ ।
आत्मसम्मानका कारण गोरखनाथ भने बर्षाका स्रोतका रुपमा रहेका विभिन्न ९ थरि नागहरु माथि आफनो मजबूद आसन बाँधी बसेपछि यहाँ वर्षा रोकिएको कुरा तान्त्रिक बन्धुदत्तले बुझेछन् । विभिन्न राय परामर्श भएको र गुरु गोरखनाथलाई नउठाएसम्म नागहरु थिचिनै रहने कारण जलवर्षा नहुने बुझेर गोरखनाथलाई उठाउने प्रयत्न गर्दा उनका गुरु मत्स्येन्द्रनाथले उनलाई उठाउन सक्ने कुरा पत्ता लागेछ । तान्त्रिक बन्धुदत्त, ललितनामका एक किसान र राजा नरेन्द्रदेव भारतको कामाक्षमा पुगी यहाँको सवै यथार्थ बताएर यहाँ आइदिन अनुरोध गर्दा मत्स्येन्द्रनाथले यो प्रस्तावलाई स्वीकार गरेछन् । नभन्दै गुरु मत्स्येन्द्रनाथ यहाँ आउनासाथ गोरखानाथले आफ्नो आसनवाट उठी गुरुको दर्शन गर्दा नागहरु स्वतन्त्र भई घनघोर रुपमा जलवर्षा हुन थालेछ । सारा मानिसहरु उनको त्यो दिव्य कामको प्रशंसा गर्दै उनको नाममा जात्रा सुरु गर्न लागेछन् । प्रत्येक वर्ष ललितपुरको जावलाखेल बुङ्मतीवाट सुरु भई बुङ्मतीमै अन्त्य हुने यो जात्रा काठमाडौं उपत्यका मात्रै होइन मुलुककै लामो जात्रा मानिन्छ ।
मत्स्येन्द्रनाथ जात्राको अत्यन्त आकर्षक पक्ष यसको अन्तिमदिन देखाइने भोटोजात्रा नै हो । उहिल्यैदेखि रत्नजडित, आकर्षक भोटो मत्स्येन्द्रनाथलाई नासोको रुपमा राख्न लगाइएको र वर्षमा एकपटक सर्वसाधारणलाई देखाइने र यो भोटो दर्शनले शरीर, मन, वचन शुद्ध हुने धार्मिक एवं साँस्कृतिक मान्यता पनि रहेको छ । भोटोको सम्वन्धमा देखिएको किंवदन्ती यस्तो छ । एकपटक ललितपुरकै टौदहका नाग आफ्नी पत्नीको आँखा दुःखेकाले उनको उपचारमा बाहिर निस्केछन् । ती नागराजा घुम्दै भक्तपुर क्षेत्रमा पुग्दा एक किसान वैद्यले बाख्रीको आँखामा औषधीमूलो गर्दैरहेको देखेछन् ।
पक्कै यिनले आफ्नी नागिनीको औषधी गर्न सक्नेछन् भनी अनुरोध गर्दै ती किसान वैद्यलाई टौदहमा लगेछन् । वैद्यसँग खासै कुनै औषधी नहुँदा आफ्नो जीउको मयल माडेर नागिनीको आँखामा हालिदिएको नभन्दै केही बेरमै नागिनीको आँखा खुलेको दृश्यले सबै चकित भएछन् । खुसी भएका नागराजाले के उपहार लिने भन्दा खासै केही उपहार नमागी वैद्यले केटाकेटीहरुका लागि लगाउने कपडा जडउरीको रुपमा मागेछन् । नागले पनि भोटो र अन्य धन सम्पति दिई पठाएछन् ।
भक्तपुरको किसान वैद्य त्यही भोटो लगाएर खेतीपातीको काम गर्ने र घरफर्कंदा खर्पनमा राखी घरमा ल्याउने गथ्र्यो । एकपटक त भोटो चोरी भएछ । चोरी गर्ने राक्षस भने अदृश्य भएछ । एकपटक उनै मत्स्येन्द्रनाथको जात्रा हेर्न जाँदा एकराक्षसले आफ्नो भोटो लगाएर आएको देख्दा किसान वैद्य तीनछक परेछन् । हत्तपत्त त्यो राक्षसलाई उनले समातेछन् । आपसमा भनाभन पनि भएछ । समस्याको चूरो खोज्ने क्रममा त्यो मुद्धा राजासामु पुगेछ र राजाले आफ्नो सबुद लिइ आउन भनेछन् । सवूद नल्याएसम्म त्यो भोटो गुरु मत्स्येन्द्रनाथको जिम्मा रहने निर्णय पनि सुनाएछन् । दुवैले सप्रमाण उपस्थित हुन नसक्ता आजसम्म पनि त्यो भोटो गुरुकै पासमा रहेको, सुरक्षित रहेको आम जनतालाई देखाउन, भोटोजात्रा चलाउने चलन कायमै रहेको देखिन्छ ।
भोटोजात्रा सकेपछि मत्स्येन्द्रनाथलाई बुङ्मती लागेर राख्ने चलन रहेको छ । ललितपुरको गाबहालस्थित पोखरीको दक्षिणतर्फ चौबीस बाराहीहरुको देवाली हुन्छ । त्यसै देवालीका दिन मङ्गलबजारका जोशी थरका चारथरी जोशीहरुले मत्स्येन्द्रनाथको रथलाई जावलाखेलतिर तान्ने साइत जुराउँछन् र रथलाई जावलाखेल पुर्याएको चारदिनमा भोटो देखाइन्छ, भोटोजात्रा गरिन्छ र प्रत्येक १२-१२ वर्षमा मत्स्येनाथको रथयात्रा गराई बुङ्मतीमा पनि भोटो देखाउने चलन रहेको छ । सर्वप्रथम रातोमत्स्येन्द्रनाथको रथ लगनखेल पुर्याई खरीको बोटमा एकपटक परिक्रमा गराइन्छ । भोलिपल्ट हल्का बलि दिइन्छ ।
भोलिपल्ट फेरि सो खरीबोटमा दुईपटक घुमाई रथको टुप्पोबाट नरिवल खसालिन्छ र यसैदिन मत्स्येन्द्रनाथको देवाली दिन तोकिन्छ । मत्स्येन्द्रनाथको मूलयात्रा सुरु गर्नु दुई हप्ताअघि पाँचफिट अग्लो, ढुंगाको मूर्ति, रातो अनुहार भएका मत्स्येन्द्रनाथलाई स्नान गराइन्छ । राम्ररी सजाएर तयार पारिएको खटमा राखी उनकै मन्दिरमा लगेर राखिने गरिन्छ । ज्योतिषीय सल्लाहले साइत गरेर मात्र रथ आरंभ गरिने हुँदा रथयात्रा एवं भोटोजात्रा पनि सधै हरेक वर्ष एउटै दिन नपर्न सक्छ ।
लेखकः धर्म, संस्कृतिका अध्येयता हुन् ।