• आश्विन १३ २०८१, आईतवार

आमाबाबुको पारिवारिक कर्तव्य

चैत्र २९ २०७७, आईतवार

१. संयुक्त परिवारमा यदि आपसी सद्भावना र समन्वयको वातावरण कायम राख्न सकियो भने नेपालका लागि यसभन्दा उपयुक्त पारिवारिक व्यवस्था अरु छैन । तर परिवारभित्र विश्वासको संकट आउन थाल्यो भने समझदार किसिमले अलग हुनु नै राम्रो । अंशबण्डा गर्दा सहज तरिकाले गोलाप्रथाबाट गरिनु उचित हुन्छ ।

२. मानिस पशु होइन, खुरुखुरु बच्चा जन्माएर मात्र आमाबाबुको कर्तव्य पूरा हुँदैन । बच्चा जन्माएपछि उनीहरुलाई राम्ररी हुर्काउनु पर्यो, शिक्षा र संस्कार दिनु पर्यो । अन्यथा, मैले जन्माएको सन्तानले मैलाई नै मान्नु पर्छ र पाल्नु पर्छ भनी अधिकार खोज्न पाइँदैन ।

३. छोराछोरीले आमाबाबुलाई दिनु पर्ने सम्मान र सहारा दिएर कर्तव्य पालना गरेपछि मात्र आमाबाबुको माया प्राप्त गर्ने अधिकार हुन्छ । आमाबाबुलाई सधैं ‘टेकन फर ग्रान्टेड’का रुपमा लिन पाइँदैन । ‘मलाई वास्ता गर्दैनन्’ भनी बुहारीले सासूससुरालाई लान्छना लगाउनुभन्दा पहिले आफूले बूढाबूढीको कति सेवा गरेको छ, त्यसको लेखाजोखा गर्नुपर्छ ।

४. बुहारीबाट सम्मान पाउन सासूससुराले उनलाई आफ्नै छोरीजस्तै व्यवहार गरी बाबुआमा झैं कर्तव्य निर्वाह गर्नुपर्छ । अधिकार मात्र खोजेर माया पाउन सकिदैन । यदि आफूले माया दिन सकिदैन भने अरुबाट पनि मायाको आशा गर्न सकिदैन ।

५. अहिलेको जमानामा कसैले पनि आफ्नो छोरीलाई नोकर बनाउनका लागि बिबाह गरेर पठाउँदैनन् । बिबाह स्त्रीपुरुषका बीचमा एउटा अटुट माया, प्रेम र सम्बन्धको सम्झौता हो । सुमधुर बैबाहिक जीवन बिताउन लोग्नेस्वास्नीबीच प्रेम मात्र होइन, त्यागको भावना पनि आवश्यक छ ।

६. बुहारीले सासूससुरालाई सेवागर्ने गर्दा ज्वाइँले ससुरालीलाई पनि सम्मान गर्न सक्नुपर्छ ।

७. आफ्ना छोराछोरीलाई अर्ति दिने बेला ‘ठूलो मानिस बन्नु पर्छ’ भनी प्रेरित गर्दा कहिल्यै पनि तल्लोस्तरको पेशालाई अपहेलना नगरौं । त्यसले बच्चाको मस्तिष्कमा नकारात्मक असर पार्छ ।

८. पैसा, पावर, पोष्ट र मोजमस्तीमा व्यस्त केही ठूलाबडाका सन्तानहरु कुलतमा लागेका देखिन्छन् । जतिसुकै ठूलो र धनी मानिस भए पनि यदि छोराछोरी कुपुत भए भने त्योभन्दा ठूलो दुःख अरु हुँदैन । त्यसैले पनि दिनको एक घण्टा बिताएर चिन्तनशील अभिभावकको भूमिका निर्वाह गरौं ।

९. मानिसको जीन्दगीमा सबैभन्दा ठूलो पक्ष शान्ति हो । शान्तिविना मानिस सुखसँग बाँच्न सक्दैन । तसर्थ आफ्ना बालबालिकाहरुलाई मनोवैज्ञानिक दृष्टिकोणले हिंसालाई उत्प्रेरित गराउने खालका खेलौना र अन्य श्रव्यदृश्य सामग्रीहरु नदिएर एउटा चिन्तनशील आमाबाबुको कर्तव्य पालना गरौं ।

१०. जीउँदो घरपालुवाका छाउरा, छाउरी, चराचुरुङ्गी, कछुवाजस्ता अबोध प्राणीहरु कुनै पनि बालबच्चालाई खेलौनाका रुपमा दिनु हुँदैन । यदि दिने हो भने त्यस अबोध पशुपन्छीसित प्रेम गर्न सिकाउने बानी बसाउनु पर्छ, यातना दिन होइन ।

(स्रोत : कर्ण शाक्यद्वारा लिखित खोज,निरन्तर प्रयास र प्रक्रिया )