• माघ १८ २०८१, शुक्रबार

गजल

चैत्र २९ २०७७, आईतवार

पत्करलाई साग हो यो भन्नेहरू माथि पुग्छन्

कोइलीलाई काग हो यो भन्नेहरू माथि पुग्छन्

जात के हो चिन्नु छैन नाङ्गा दाह्रा उस्तै देखी

बिरालोलाई बाघ हो यो भन्नेहरू माथि पुग्छन्

झारभित्र लुकी बस्ने मौका पर्दा झम्टि डस्ने

आँधोलाई नाग हो यो भन्नेहरू माथि पुग्छन्

अर्थशास्त्री बनी ठुलो सिङ्गै देश चलाउने

पूर्तिलाई माग हो यो भन्नेहरू माथि पुग्छन्

गणितज्ञ अल्मलिए जोड अनि घटाउमा

गुणनलाई भाग हो यो भन्नेहरू माथि पुग्छन्

(श्रृंखला, साहित्यिक मासिक, २०७७ जेठबाट)