• मंसिर ८ २०८१, शनिबार

कात्तिक महिनाबाट नेपालीको हातमा डिजिटल पासपोर्ट

चैत्र २९ २०७७, आईतवार

कात्तिक महिनादेखि नेपालमा पनि डिजिटल पासपोर्ट प्रयोगमा आउने भएको छ । यसले नेपालीहरुमा खुशी ल्याएको छ । त्यसमा पनि वैदेशिक रोजगारमा जानेहरुका लागि त ठूलो झन्झट नै समाधान गरिदिने भएको छ । यति मात्र होइन, नेपाललाई यसले अबका दिनमा डिजिटल दुनियाँमा सहभागी गराउने छ । यो नेपालीका लागि सौभाग्यको कुरा पनि हो ।

प्रविधिको प्रयोगसँगै नेपाल आफैमा निकै छोटो समयमा डिजिटल युगमा प्रवेश गर्दै छ । जनआन्दोलन–२ सँगै माओवादी शान्ति प्रक्रियामा प्रवेश गरेपछि नेपालले सञ्चार तथा प्रविधिमा निकै गति लिन थालेको हो । यो गति अहिले आएर विद्युतीय राहदानी निर्माणको अवस्थासम्म पुगेको छ ।

हालै मात्र परराष्ट्र मन्त्रालयको राहदानी विभागले आगामी कात्तिकदेखि ई–पासपोर्ट प्रयोगमा ल्याउने तयारी गरिरहेको छ । यसका लागि नेपाल सरकारले फ्रान्सेली कम्पनीसँग ई–पासपोर्ट छाप्ने सम्झौता गरिसकेको छ । गत डिसेम्बर महिनामा गरिएको सम्झौता अनुसार आइडेमिया आइडेन्टिटी एन्ड सेक्युरिटी कम्पनी फ्रान्सले उक्त कार्य सम्पादनका लागि नेपाल सरकारसँग २ करोड ११ लाख अमेरिकी डलरको ठेक्का सम्झौता गरिसकेको छ ।

विद्युतीय पासपोर्ट प्रयोगमा आउने भएपछि यसअघि बनाइएका एमआरपी पासपोर्टलाई थाति राख्न र नयाँ नबनाउन समेत अनुरोध गरिएको छ । अत्यन्तै जरुरी भए मात्र म्यासिन रिडेबल पासपोर्ट (एमआरआई) बनाउने अन्यथा केही महिना पर्खन भनिएको छ । यसको कारण हो बनेका एमआरपी अब डिजिटल पासपोर्टमा फेरिने छन् ।

डिजिटल पासपोर्ट वर्तमान एमआरपीका तुलनामा गुणस्तरीय, सुरक्षित र भरपर्दो हुने छ । यसमा फिंगर प्रिन्ट, फेसियल रिकग्निसनसहित चिप्स राखिने छ । यति सबै कुरा भैसके पछि पासपोर्ट वाहक नेपालीले अबका दिनमा विदेशमा कुनै लफडा वा झन्झट झेल्नुपर्ने अवस्था सिर्जना हुने छैन । यसका साथै नेपाल विश्वका विद्युतीय राहदानी जारीगर्ने ११५ देशमा थप हुन जाने छ ।

यसको पृष्ठभूमिमा नेपालको संवेदनशीलतालाई उठाइएको छ । नेपालको सुरक्षा तथा संवेदनशीलताको विषयलाई लिएर अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) ले नेपाललाई सन् २०२५ सम्ममा ई–पासपोर्टमा जानुपर्ने सुझाव गम्भीरताका साथ दिएको थियो । यी सबै कुरालाई मध्यनजर गरी नेपालले विना ढिलाई यसका लागि पहल कदमी लिएको देखिन्छ ।

ई–पासपोर्टमा व्यक्तिगत सूचनादेखि बाहकको ‘बायोमेट्रिक डाटा’सम्म रहछ । यसकारण ई–पासपोर्ट विश्वकै सबैभन्दा सुरक्षित मानिन्छ । हालसम्म दिइएको नेपालको एमआरपीमा बायोमेट्रिक डाटा राखिएको छैन । चिप राखिने ई–पासपोर्टमा पासपोर्ट बाहकको औंठा छाप, आँखाका नानीदेखि तस्बीरसमेत रहने हुनाले त्यो नक्कली बनाउन पनि संभावना रहँदैन ।

यसले पहिचानमा सहजता, यात्रामा सरलता, बढ्दो प्रयोग, सूचना गोप्यता कायम रहन बल पुर्याउने देखिन्छ ।