• मंसिर ११ २०८१, मंगलवार

कुलतमा किशोर : सत्र नपुग्दै सुर्तीको फूर्ति !

चैत्र २८ २०७७, शनिबार

पहिलेको जस्तो बाबुआमा लगायतका अभिभावकको डर पनि छैन, असल बानी र लोकलाजले पनि त्यति च्यापिरहेको छैन । समाज खुल्ला हुँदै गएको छ । युवाहरुको आनीबानी बिग्रदै गएको छ । पहिले बजारमा खैनी र चुरोट अनि गाउँमा कक्कड वा खस्रेको जमाना थियो । अहिले पुकार, गुट्खा, पराग र अन्य गुलिया मोलिएका सूर्तिजन्य पदार्थ गाउँ होस् वा बजार, जहाँ पनि छ्यापछ्याप्ती पाइन्छन् ।

किशोरहरु चकलेट किनेर खाए झैं यी सूर्तीजन्य कुराहरु निशंकोच किनेर मुखमा राखी जथाभावी थुक्न थालिहाल्छन्– ‘पिचिक्, पिचिक् ।’ जमाना फेरिएका छन् । पहिले त साना नानीहरुले ठूलाको आदर गर्दथे । अरुका केटाकेटीलाई पनि नराम्रो काम गर्न लागेको देख्दा हप्काउने र त्यस्तो गलत काम गर्न नदिने गरिन्थ्यो पनि । तर अहिले जमाना अर्कै छ, केही भन्यो भने उल्टै ‘तँ को होस् मलाई सिकाउने’ भन्ने जवाफ आइहाल्छ ।

कुलतमा किशोर :

किशोर वय आफैमा कौतुहलतापूर्ण जीवनको चरण हो । यो बेलामा सोच, विचार, सपना पनि रंगीन हुन्छन् । सानो कुराले पनि जीवनमा कति ठूलो मोड ल्याउन सक्छ भन्ने उनीहरुलाई कमै जानकारी हुन्छ । जीवनमा डरलाग्दो मोड एउटा मामुली सानो कुराले पनि ल्याइदिनसक्छ । सूर्ती सेवन स्वास्थ्य जीवनमा यस्तै खराब कुराको मोड हुन सक्छ । यो किशोरका लागि जानकारीमा हुनु अति आवश्यक छ ।

यसले युवालाई लक्ष्य र सपना अनुसार अघि बढ्न समस्या सिर्जना गर्न सक्छ । हाल केही होनहार युवा सुधार गृहमा थन्किएका छन् । चुरोट र सुर्तीको लतमा फसेका २० वर्षमुनिका युवा पनि सूर्तीजन्य कुलतबाट समयमै सतर्क रहनु पर्छ । यसका लागि सरकार र अन्य सम्बन्धित पक्षले किशोरलाई सुर्तीजन्य पदार्थको लतमा पर्न नदिन सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नु जरुरी छ ।

अभिभावकीय भूमिका :

नेपाली समाजमा हराउँदै गएको अभिभावकीय भूमिका पुनस्र्थापित गरिनु जरुरी छ । यसले समाजमा सुधारका लागि क्रियाशील र सहभागितामूलक अभियानको पुनर्जागरण ल्याउन सक्छ । यसका लागि विद्यालयका पाठ्यपुस्तक र अन्य सन्दर्भ सामग्रीमा नैतिक शिक्षाको नयाँ रुपमा प्रयोगमा ल्याउनु पर्छ । यस्तो अभिभावकीय भूमिकामा पहिले सरकार आउनु पर्छ, त्यसपछि सिंगो समाज र बाबुआमा तथा ज्येष्ठहरु आउन सक्नुपर्छ ।

हामी बाँचेको भविष्यका लागि हो । भविष्य भनेको आजको किशोर हो । त्यसैले यो भविष्यलाई बचाउन र स्वस्थ बनाउन हामी सबै लागि पर्नुपर्छ । किशोर अवस्थामा कुलतबाट जोगाउन सकियो भने त्यसपछि उमेरका हिसाबले आउने परिपक्वतासँगै उनीहरुमा सूर्तीको लत लाग्ने संभावना कम भएर जान्छ ।

निषेधित इलाका र उमेरको छनौट :

यसका लागि सकिन्छ कानुनी पनि र सकिदैन भने सामाजिक हिसाबले उमेर हद र इलाकाहरुको पनि छनौट गरिनु जरुरी छ । यसको अर्थ पाका उमेरकाले खाँदा केही हुँदैन भन्ने पनि होइन । तर के राम्रो र के नराम्रो भनेर खासै पहिचान गर्न नसक्ने उमेर समूहका लागि भने यो अनिवार्य हुनु पर्छ ।

कानुनी प्रावधान, सामाजिक मान्यता र प्रशासनिक कारवाही जस्ता कुराहरुले युवा पुस्तालाई सुधार्न निकै मद्दत पुर्याउने छ । सरकारले २०६८ सालमै ल्याएको सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐनलाई प्रभावकारी रुपमा कार्यान्वयन ल्याइनु पर्छ । विद्यालय र कलेज पढ्ने बालबालिकामा चुरोट खाने प्रवृत्ति बढेको, त्यसपछि क्रमशः युवा दुव्र्यसनमा फस्ने तथा लागुपदार्थ सेवनमा लाग्दा घरपरिवार तथा राष्ट्रकै लगानी खेर जाने, दक्ष जनशक्ति उत्पादनमा ह्रास आउनेजस्ता काम भइरहेको अवस्थाको बोध किशोरलाई गराइनु जरुरी छ ।

स्वास्थ्य र जनस्वास्थ्यबारे जानकारी जरुरी ः जनस्वास्थ्य सबैको चासोको विषय हो । यो आम विषय पनि हो । झट्ट हेर्दा आफूले सबै कुरा थाह पाइसकेको जस्तो पनि हुने तर यथार्थतामा त्यसबारेमा आवश्यक ज्ञान पनि नहुने हुनसक्छ । त्यसैले स्वास्थ्य र जनस्वास्थ्यका विषयमा प्रवचनात्मक होइन, अन्तरक्रियात्मक कार्यक्रम देशव्यापी रुपमा चलाइनु पर्छ । त्यसको टार्जेट किशोरमाथि हुनु पर्छ ।