• बैशाख १३ २०८३, आईतवार

एक सय अर्बको अर्थतन्त्र बनाउने महासंघको भिजन पेपर सार्वजनिक

चैत्र २८ २०७७, शनिबार

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले १ सय अर्बको अर्थतन्त्र बनाउने उद्देश्य रहेको भिजन पेपर सार्वजनिक गरेका छन् । महासंघको ५५ औं वार्षिक साधारण सभामा अध्यक्ष गोल्छाले भिजन पेपर सार्वजनिक गर्दै १० वर्षमा मुलुकको अर्थतन्त्र १०० अर्ब डलरको हुने बताए । तर त्यस्का लागि १ सय ५० अर्ब लगानी गर्नुपर्ने विषय पनि भिजन पेपरमा समावेश गरिएको छ । त्यसमा १ सय ८ अर्ब डलर निजी क्षेत्रबाट हुने अध्यक्ष गोल्छाको भनाई थियो ।

भिजन पेपरका अनुसार १० वर्षमा २२ लाखले रोजगारी पाउने छन भने १४ वटा कानूनमा सुधारको समेत माग गरिएको छ । भिजन पेपर २०३० सम्ममा विश्वमा विभिन्न देशलाई हेरर आर्थिक विकासको आधार तयार गर्ने,कृषि क्षेत्र, उद्योग, उत्पादन तथा सेवा क्षेत्रलाई आवश्यकता र प्राथमिकताका साथ गरिने उल्लेख छ ।
‘हामी लाभ हुने क्षेत्र, बजारको रणनीति, सम्भावनाको खोजी र त्यसको कार्यान्वयनको लागि सुक्ष्म अध्ययन गरेर अगाडि बढ्छौं, हामीले मुख्य प्राथमिकताका क्षेत्रहरु पहिचान गरेर काम गर्छौं ’ अध्यक्ष गोल्छाले भने । उनले देशको आर्थिक विकासका लागि कोभिड पछिको आर्थिक पुनरुत्थान, नीतिगत सुधार, प्रतिस्पर्धी बजार रणनीति, लगानी प्रवद्र्वन, अन्तर्राष्ट्रिय व्यापार ग्रोथ, साना तथा मझौता व्यवसायीको आर्थिक विकास, पूर्वाधार विकास, ज्ञानमुलक अर्थतन्त्र, श्रम व्यवस्थापन , क्षमता विकास र जिम्मेवार निजी गरी १० वटा पिलरहरु सम्झेर काम गर्ने बताए ।

अबको महासंघ तथ्यांक र भिजन सहितको भएकोले सबै उद्योगी व्यवसायीहरुको हकहितका लागि  काम गर्ने उनको भनाई थियो । अर्थतन्त्रको विकासका लागि महत्वका हिसावले प्राथमिकीकरण गर्ने, लाभका क्षेत्रलाई पहिचान गर्ने देखि उत्पादनमुखि परियोजनाहरूमा देशी विदेशी लगानी र अनुसन्धानलाई समेत अघि बढाइने योजना भिजन पेपरमा उल्लेख छ । यसका साथै महासंघले मुलुकमा निजी क्षेत्रको विकाससँगै प्रयाप्त कल कारखानाको विकास गर्दै प्रति वर्ष अधिकतम ४ लाख रोजगारीको सिर्जना गर्ने महत्वाकांक्षी योजना बनाएको छ ।