काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्यमी व्यवसायीलाई दोहन गर्ने हिंसात्मक द्वन्द्वको वातावरण अन्त्य भएको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको ५४औं वार्षिक साधारण सभा तथा उद्योग वाणिज्य दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन ।
प्रधानमन्त्री ओलीले उद्योगी, व्यवसायीलाई डर, धाक, धम्की दिने वातावरण अन्त्य भएको भन्दै शान्तिपूर्ण युगमा देश प्रवेश गरेको पनि बताए । उनले सरकार, मजदूर युनियन र व्यवसायी एक-अर्कामा संघर्षरत पक्ष नभएर आपसमा सहकार्य गर्ने पक्षहरू भएकोमा जोड दिए । तीनओटै पक्षका बीचमा सन्तुलित सम्बन्ध र मिलेर समस्या समाधान गर्ने बाटोमा अघि बढेको प्रधानमन्त्री ओलीको भनाइ थियो ।
प्रधानमन्त्री ओलीले यो सरकार कुनै वर्ग विशेषको नभएर सबै पेशा, व्यवसायमा रहेका र जुनसुकै क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण नेपालीको सरकार भएको बताए । उनले सरकारको गन्तव्य ‘समृद्ध नेपाल, सुखी नेपाली’ भएको पनि बताए । संविधान जारी भएपछि विभिन्न राजनीतिक घटनाक्रम देखिएको भन्दै उनले राजनीतिक परिपक्वता नहुँदासम्म त्यस्ता समस्या आइरहने बताए । ‘जबसम्म आम जनताले सही र गलत अनि देशका हित र व्यक्तिगत स्वार्थका लडाइँ छुट्याउँदैनन्, तबसम्म यस्ता समस्या देखिरहन्छन्,’ उनले भने, ‘देश बनाउने संकल्प गर्नेहरू र बनावटी कुरा गर्नेहरूको भेद पाउँदैनौं भने देश अलमलमा परिरहन्छ ।’
उनले सरकारको एकमात्र ध्यान र एकमात्र लक्ष्य ‘समृद्ध नेपाल, सुखी नेपाली’ रहेको भन्दै त्यसको एउटा पाटो ‘सम्मानित निजी, समुन्नत नेपाल’ क्षेत्र भएको बताए । प्रधानमन्त्री ओलीले निजी क्षेत्र सम्मानित भएर मात्र नभइ सुदृढ पनि हुनुपर्ने बताए । प्रधानमन्त्री ओलीले ‘सम्मानित’ शब्दले उद्यमी, व्यवसायीको पीडा झल्किएको बताए । ‘उत्पादन गर्ने, रोजगारी सृजना गर्ने यस्तो क्षेत्रलाई सम्मान नगर्ने भन्ने हुँदैन,’ उनले भने, ‘सरकार निजी क्षेत्रलाई सम्मानसँगै सुदृढ पनि बनाउने पक्षमा छ ।’