काठमाडौं । श्रीलङ्कामा आयोजित सौन्दर्य प्रतियोगिताका बखत ताज खोसाखोस गर्दा मिसेज श्रीलङ्का घाइते भएकी छिन् भने मिसेज वल्र्ड पक्राउ परेकी छिन् । सौन्दर्य प्रतियोगीहरु नै एकासपसमा बाझ्न र जुध्न थालेपछि यो अप्रिय स्थिति सिर्जना हुन गएको हो । विवादलगत्तै कोलोम्बो प्रहरीले वर्तमान मिसेज वल्र्डलाई पक्राउ गरेको छ । मिसेज वल्र्ड क्यारोलिन जुरीले बिजेताको टाउकोबाट जबर्जस्ती ताज निकाल्ने कोसिस गरेका कारण मिसेज श्रीलङ्काको टाउकोमा गम्भीर चोट लाग्न पुगेको छ ।
आइतबार भएको प्रतियोगितामा क्यारोलिन जुरीले मिसेज श्रीलङ्का छानौटपछि एक्कासी झम्टिएर पुष्पिका डी सिल्वाको टाउकोबाट ताज निकालेकी थिइन् । जुरी अघिल्लो वर्षकी मिसेज श्रीलङ्का हुन् । अहिले यो ताज विजेताका बारेमा उनको चित्त नबुझेपछि उनी आवेगमा आएकी हुन् ।
जबर्जस्त ताज खोसिने क्रममा पुष्पिका डी सिल्वाको टाउकोमा लागेको गम्भीर चोटका करण उनलाई अस्पताल भर्ना हुनु परेको छ । प्रत्यक्ष प्रसारण भैरहेको कार्यक्रममा उपस्थित सबै दर्शक यो घटना देखेर आश्चर्यमा परिरहेका थिए ।
जुरी र डी सिल्वा एकअर्कामा मिल्न र माफी दिन सक्ने अवस्थामा छैनन् । डी सिल्वाका अनुसार आफूले माफी गर्न तयार भए पनि घटनालाई भने कहिल्यै बिर्सन नसक्ने भनेकी छिन् । जुरीलाई हाल धरौटीमा रिहा गरिएपछि यसका बारेमा आउँदो सातासम्म निर्णय लिइने बताइएको छ ।
मिसेज श्रीलङ्काको नाम बिजेताका रुपमा घोषणा भएलगत्तै मिसेज वल्र्ड जुरी अचानक स्टेजमा आएर सबैको अगाडि डी सिल्वाको उनको लोग्नेसँग सम्बन्धबिच्छेद भैसकेकाले नियमअनुसार उनी यो विजेताको हकदार नभएको दाबा गर्दै ताज जबर्जस्त निकालेकी थिइन् ।
तर डी सिल्वाले स्पष्टिकरण दिँदै आफू श्रीमानसँग अलग बसे पनि सम्बन्धबिच्छेद नगरेको बताएकी थिइन् । उनी कानूनी रुपमा अहिले पनि बिबाहित नै छिन् र उनी मिसेसको ताजको हकदार छिन् ।
(एजेन्सीको सहयोगमा)