• मंसिर १३ २०८१, बिहीबार

नेपाल-भारतका परराष्ट्रमन्त्रीबीच आज टेलिफोन वार्ता

चैत्र २७ २०७७, शुक्रबार

काठमाडौं ।  नेपाल परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतका विदेश मन्त्री एस. जयशंकरबीच आज टेलिफोन वार्ता भएको छ ।

वार्तामा कोभिड–१९ को महामारीविरुद्ध लड्ने तथा त्यसलाई परास्त गर्ने निरन्तर सहयोग आदानप्रदान गर्न सहमति भएको छ ।

दुबै देशका परराष्ट्रमन्त्रीले कोभिड–१९ महामारीविरुद्धको लडाइँमा थप सहयोगको अभिवृद्धि गर्नेसहित खोपको आपूर्तिबारे विचारविमर्श गरेका परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परराष्ट्रमन्त्री ज्ञवालीले कोभिड महामारीविरुद्धको नेपालको लडाइँमा १० लाख मात्रा कोभिशिल्ड खोप उपलब्ध गराएकामा भारत सरकारप्रति हार्दिक आभार व्यक्त गरे । साथै उनले कोभिडको उच्च जोखिममा परेका नेपालीलाई दोस्रो मात्रा खोप लगाउन आवश्यक पर्ने थप खोपको आपूर्तिका निम्ति सहजीकरण गर्न भारतका विदेश मन्त्रीसँग अनुरोध गरेको मन्त्रालयले जारी विज्ञप्तिमा जनाइएको छ ।

प्रत्युत्तरमा भारतीय विदेश मन्त्री जयशंकरले खोप आपूर्तिसहित महामारीबाट पार पाउन नेपालको प्रयासमा भारतको निरन्तर साथ र सहयोग रहने आश्वासन दिए ।