• माघ १८ २०८१, शुक्रबार

शीरमाथि झुण्डिएको अर्को पृथ्वी

चैत्र २६ २०७७, बिहीबार

प्रकाश गुरागाईं:

पृथ्वी झुण्डिएको छ रूखमा

अन्तरीक्षमा घुमिरहेका छन् अरिङ्गालहरू !

रूख कटुस हो

रूख चिलाउने हो

रूख उत्तिस हो

रूख जेसुकैको होस्

त्यो पृथ्वीको टेको हो ।

बोलीमा खिल नभएकाहरू

अरिङ्गालबाट लखेटिएर

पृथ्वी भन्दा तल झरेका छन् ।

रूखको फेदमा उभिएका केटाकेटी

गुलेलीले पृथ्वी ताकेर उभिएका छन्

टुप्पोबाट झारेर भूइँमा

उनीहरू चाहन्छन् पृथ्वीको भकुन्डो खेल्न

भकुन्डो बनाउन अरिङ्गालको गोलो

अरिङ्गालहरू अन्तरीक्षमा फन्को मारिरहेका छन् ।

केटाकेटाहरू पृथ्वीमै उभिएका छन्

तर रूखमाथि

कसैले झुण्डाएको छ अर्को पृथ्वी त्यो पृथ्वीको विभाजन हो ।

शासकहरूको झैँ

अरिङ्गालहरूको पनि सिमाना हुन्छ

केटाकेटीहरू अरिङ्गालको राज्यमा छन्

केटाकेटीहरू गुलेली खेलिरहेका छन्

अरिङ्गाल केटाकेटीतिरै आइरहेछन् ।

अब केटाकेटीहरूले सिक्नेछन् विद्रोहको गीत ।

(स्रोत : साहित्यिक मासिक, श्रृंखला, २०७७ जेठबाट)