• मंसिर १३ २०८१, बिहीबार

वामदेव गौतम चुपचाप, पार्टी एकता अभियान गुमनाम !

चैत्र २५ २०७७, बुधबार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपश्चात् तत्कालिन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुई समूहमा विभाजन भएको थियो । एउटै पार्टी दुई समूहमा विभाजित भएसँगै प्रधानमन्त्री ओली र पूर्वप्रधानमन्त्रीद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल (प्रचण्ड–नेपाल) समूहबीच विवाद चर्कियो ।

प्रचण्ड–नेपाल समूहले संसद् पुनःस्थापनाको माग गर्दै देशव्यापी आन्दोलन तथा विरोध सभा गर्यो । त्यतिमात्रै होइन, उसले प्रधानमन्त्री ओलीको चर्को विरोध पनि गर्यो । संसद् पुनःस्थापनको माग गर्दै दुई महिनासम्म सडक आन्दोलन भयो ।

त्यसपछि पुष ५ गते विघटित संसद् सर्वोच्च अदालतले फागुन ११ गते पुनःस्थापना गर्यो । संसद् पुनःस्थापित भएपनि ओली र प्रचण्ड–नेपाल समूहबीच चर्किएको विवाद अन्त्य हुन सकेन ।

यो बीचमा नेता वामदेव गौतम कुनै पनि समूहमा संलग्न भएनन् । बरु उनले ओली र प्रचण्ड–नेपाल समूहलाई एकढिक्का बनाएर लैजाने अभियान नै चलाए । पुष २६ गते नेता गौतमले आफूले कुनै पनि समूहलाई समर्थन नगरेको भन्दै पार्टी एकता अभियान चलाउने बताएका थिए ।

त्यसपछि नेता गौतमले पार्टी एकताको अभियान नै चलाए । उक्त अभियानमा आवद्ध हुन आफूनिकटका नेताहरूलाई गौतमले आग्रहसमेत गरे । उनको आग्रहलाई बेवास्ता गर्दै कतिपय नेता ओली र प्रचण्ड–नेपाल समूहतिरै लागे । कतिपय भने गौतमकै एकता अभियानमा सक्रिय रहेका थिए ।

पार्टी एकताको अभियान चलाएर गौतमले पटक–पटक ओली र प्रचण्ड–नेपाललाई भेट्न पुगे । गौतमले उनीहरूलाई कहिले एक्लै, कहिले सामुहिक भेट पनि नगरेका होइनन् । तर, उनको पटक–पकटको एकल र सामुहिक भेटले कुनै सार्थकता पाउन सकेको छैन ।

नेता गौतमले एकता अभियानकै क्रममा उनले ओली, प्रचण्ड र माधव नेपाललाई मात्रै होइन । नेकपाका अन्य नेताहरूसँग पनि भेटवार्ता बाक्लै गरेका थिए । तथापि उनको भेटवार्ता र एकता प्रस्तावलाई उनीहरूले सकारात्मक लिए पनि कार्यान्वयन भने गर्न कसैले मानेनन् ।
त्यसपछि फागुन २३ गते अदालतले नेकपा बदरको फैसला गर्यो । गौतमले एकता अभियानलाई निरन्तरता दिने बताए ।

नेकपा बदर भए पश्चात् पुनः तत्कालिन ठूला दुई राजनीतिक पार्टी नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ब्युँतिएका छन् । यी दुई पार्टी ब्युँतिएसँगै ओली र प्रचण्ड आआफ्नै पार्टीमा फर्किएका छन् ।

तथापि एमाले र माओवादी केन्द्र औपचारिक रूपमै अलग भए पनि गौतमले पार्टी एकताको प्रयासलाई निरन्तरता दिएका थिए । उनले यतिबेला एमाले पार्टीभित्र देखिएको अन्तरद्वन्द्व र ओली, नेपाल–खनाल समूहबीचको मत भिन्नता र दरारलाई एकता गर्न चैत ४ गतेबाट एमाले एकता राष्ट्रिय अभियान नै सञ्चालन गरेका थिए ।

तत्कालिन नेकपा रहँदा पनि उनले पार्टी एकताका लागि जोड दिएका थिए भने अहिले एमालेभित्र देखिएको दरार र ओली, नेपाल–खनालबीच एकीकरण प्रयासमा छन् । यसका लागि उनी कहिले ओली समूहको बैठकमा उपस्थित हुन्छन् भने कहिले नेपाल पक्षकोमा सहभागी हुन्छन् ।

उनी यो बीचमा एमाले अध्यक्ष ओली, बरिष्ठ नेता नेपाल र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टीका लागि राखेको बैठक र छलफलमा वामदेवले उपस्थिति जनाएरै एकताको प्रस्ताव राख्ने गरेका थिए । तर, उनको यो कार्यले आजसम्म कुनै पूर्णता पाउन भने सकेको छैन ।

उनको एकताको प्रस्ताव ओली, नेपाल–खनालले खेलाची सम्झिएका छन् । वामदेवले पार्टी एकताको लागि पहिलेदेखि बारम्बार प्रस्ताव राखे पनि यसबारेमा यी नेताले बेवास्ता गर्दै आएका हुन् । तर, पनि उनले पार्टी एकतालाई छोडेनन् ।

तथापि पछिल्लो समय पार्टी एकताको विषयलाई लिएर उनी चुपचाप जस्तै देखिएका छन् । ओली र नेपाल–खनाल समूहको मनसुबा नहुने भएपछि उनी मौन बसेका छन् भने पार्टी एकता अभियान गुमनाम भएको छ ।

गौतमनिकट एक नेताका अनुसार, –‘अब ओली र नेपाल–खनाल समूहको एकमत हुने सम्भावना अत्यन्तै न्यून छ । यसो भएपछि एकता अभियानलाई बेवास्ता गरिएको हो । तर, पनि यसबारेमा अब के गर्ने भन्ने विषयमा गौतमज्यूले सोच्दै हुनुहुन्छ ।’

उनी भन्छन्, –‘सायद यस विषयमा अब थप सोच्नु र छलफल गर्नु सम्भव छैन जस्तो लाग्छ । तर, गौतमज्यूले सोच्दै हुनुहुन्छ ।’ तथापि पछिल्लो चरणमा उनले सार्वजनिक रूपमा एकता बारेमा कुनै अभिव्यक्ति धारणा सार्वजनिक गरेका छैनन् ।

ओलीनिकट एक नेताका अनुसार गौतमको अभियान सकारात्मक भए पनि एकता सम्भव नभएको बताएका छन् । त्यस्तै नेपाल–खनालनिकट एक नेताका अनुसार गौतमज्यूको अभियानको कुनै अर्थ नभएको बताएका छन् । बरु उहाँ एमालेमै रहने हो भने कुनै एक पक्षमा लाग्नु नै बुद्धिमानी हुन्छ । यसरी निष्पक्ष बस्नु राम्रो होइन ।