काठमाडौँ। गण्डकी प्रदेश सरकारमा सहभागी नेकपा माओवादी केन्द्रका दुई मन्त्रीले राजीनामा दिएका छन् । बुधबार आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमान र भूमिव्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापाले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई राजीनामा बुझाएका हुन् ।
बुधबार बिहान बसेको माओवादी केन्द्र संसदीय दलको बैठकले दुवै मन्त्रीलाई राजीनामा दिन निर्देशन दिएको थियो । यद्यपि माओवादीले सरकारलाई दिएको समर्थन फिर्ताको घोषणा भने गरेको छैन ।
हाल गण्डकी प्रदेश सभामा ६० जना सांसद छन् । जसमा एमालेको २८ जना सांसद छन् । एकल बहुमतका लागि ३ सिट मात्रै अपुग छ । कांग्रेसको १५, माओवादी केन्द्रको १२, जनमोर्चाको ३ र जनता समाजवादी पार्टीको २ जना सांसद छन् ।