प्रतिनिधिसभा पुनस्र्थापना भएपछि ‘नैतिकताका आधारमा प्रम ओलीको राजीनामा आउँछ’ भन्ने अपेक्षाले पनि हावा खाएको छ । त्यसो नभए ‘प्रम ओलीविरुद्ध अविश्वासको प्रस्ताव पारित गरी हटाइन्छ’ भन्ने शुभेच्छाले पनि धोखा पाएको छ ।
संसद विघटन गर्ने सरकार फेर्ने र नयाँ सरकार गठन गर्ने कुरामा राजनीतिक दलहरु अलमलिएको अलमलियै भएका छन् । आखिर आउँदा न त प्रम ओलीले बहुमत सिद्ध गरी विश्वासको मत लिन सक्ने, न त सरकारइतर पार्टीहरुले बहुमत पुर्याई सरकार गठन गर्न सक्ने अवस्था सिर्जना हुन पुगेको छ ।
यस्तो राष्ट्रिय राजनीतिक संकटमा वर्तमान सरकार फेर्न र नयाँ सरकार गठनका लागि जनता समाजवादी पार्टी (जसपा) ‘किङ मेकर’ का रुपमा देखा पर्न आएको छ । त्यो पनि एउटा सर्पको दुईवटा मुख बनाएर, एउटामुख ठाकुर–महतो र अर्को मुख भट्टराई–यादव । आखिर किन खडा भयो ‘किङ मेकर’ बनेको जनता समाजवादी पार्टी दुई मुख बाएर ? यसका तीनवटा मुख्य कारण छन् ।
पहिलो कुरा, जसपा आफै पार्टीभन्दा पनि मोर्चाको रुपमा रहिरहेको छ । गत बैशाख महिनामा प्रम ओलीले तात्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फुटाउनका लागि रातारात अध्यादेश ल्याएका र सोही रात मधेशकेन्द्रित पार्टीका नेता तथा सांसद काठमाडौं ल्याउनमा पूर्व प्रहरी प्रमुख सर्वेन्द्र खनाललाई समेत प्रयोग गरेका थिए । प्रम ओलीको यो कार्यबाट असन्तुष्ट दिल्लीले तत्काल मध्यरातमा राजनीतिक ‘रिटालिएशन’ गरी मधेशवादी पार्टीहरु एक बनाएर जनता समाजवादी पार्टी (जसपा) निर्माण गरिदिएको थियो ।
त्यतिबेला महन्थ ठाकुरको नेतृत्वमा रहेको राष्ट्रिय जनता पार्टी र उपेन्द्र यादवको नेतृत्वमा रहेको संघीय समाजवादी पार्टी मिलाएर जनता समाजवादी पार्टी बनाइएको थियो । आज यो यही दुई चिरामा देखा परिरहेको छ । फलतः जसपा बन्नुभन्दा पहिले एकसाथ रहेका ठाकुर–महतो प्रम ओलीसँग सरकार निर्माणका लागि वार्ता गरिरहेका छन् भने भट्टराई–यादव सरकारइतरका पार्टीसँग मिलेर सरकार गठनका लागि पहल गरिरहेका छन् । त्यसैले पनि यो दुई मुख भएको पार्टीका रुपमा देखा परिरहेको छ ।
दोस्रो कुरा, नेपालको राजनीतिक रंगमञ्च आफैमा ओलीपक्षधर र ओलीविरोधीका रुपमा सिंगो दुई भागमा विभक्त हुन पुगेको छ । यस्तो अवस्थामा पूर्ववत् दुई गुटमा विभक्त जनता समाजवादी पार्टीका ठाकुर–महतो पक्षलाई लिएर आफ्नो सरकार टिकाइ राख्ने खेलमा लागिपरिरहेका छन् ओली । प्रम ओली ठाकुर–महतो पक्षलाई लिएर सरकार चलाउने, टिकाउने र त्यसो पनि गर्न नसकिए ‘अर्लि–इलेक्शन’मा जाने मुडमा देखिन्छन् ।
अर्कोतिर, नयाँ सरकार गठन गर्न सकिने वातावरण निर्माण हुन नसकेकाले माओवादी केन्द्रले न त ओली सरकारप्रतिको समर्थन फिर्ता लिन सकेको छ, न त अविश्वासको प्रस्ताव लान सकेको छ । यस्तो अवस्थामा नेपाली कांग्रेस पनि नयाँ सरकार निर्माण र नेतृत्वका लागि तयार भएको देखिदैन । कांग्रेसमा वरिष्ठ नेता रामचन्द्र पौडेल निकै तातिए पनि सभापति देउवा चिसा देखिएकाले यसलाई ‘ताप्के नतातेर बिंड तातेको’ भनी खिल्ली उडाउन थालेपछि यो पनि थाती रहने देखिएको छ । यही दुई धार वा पक्षमा विभाजित देशको राष्ट्रिय राजनीति अनुसार जनता समाजादी पार्टीले आफूलाई दुईमुखे सर्पका रुपमा राजनीतिक बजारमा अभिव्यक्त गरिरहेको छ ।
तेस्रो कुरा, एकातिर यही सरकारलाई निरन्तरता दिनका लागि ओली सरकारसँग वार्तालापमा रहेको ठाकुर–महतो पक्ष र अर्कोतिर यो सरकार ढालेर नयाँ सरकार निर्माणका लागि पहल गरिरहेको भट्टराई–यादव पक्षका कारण आफैमा दुईमुखे सर्पझैं बनिरहेको जनता समाजवादी पार्टीलाई साधनका रुपमा उपयोग गर्दै दुईधारे तरवार प्रहार गर्न दिल्ली लागि परिरहेको देखिन्छ । वर्तमान ओली सरकार पनि अमेरिकी पक्षधर र ‘बन्न सक्ने’ देउवाको सरकार पनि अमेरिकी पक्षधर हुने भएपछि यी दुवैको विकल्पमा ‘प्रो–इण्डियन’ या प्रचण्डको भाषामा ‘दिल्ली मैत्री’ सरकार निर्माणका लागि भारत लागि परिरहेको आफैमा स्पष्ट छ ।
तर दिल्ली–मैत्री नयाँ सरकार निर्माणका लागि पनि भारतीय जासुसी संस्था ‘रअ’ र भारतीय प्रधानमन्त्री मोदीका बीच मेल देखिदैन, लामो खाडल छ । यी दुईका बीचमा अन्तरविरोध छ । ‘रअ’ आफैमा पश्चिम वा अमेरिका नजिक छ । प्रम मोदी भने ‘लुक इष्ट, एक्ट इष्ट’ को पक्षमा छन् । त्यसैले भारतको यो अन्तरविरोध पनि नेपाली राजनीतिमा सिर्जित दुईधारमा ठ्याम्मै मिल्ने गरी अभिव्यक्त हुन गएको छ । ठाकुर–महतो नेपालमा रहेका अमेरिकी लबीका नजिक हुन चाहिरहेका छन् भने मोदी–लबी त्यसविरुद्ध ‘सकिन्छ, सरकार नै दिल्ली–मैत्री निर्माण गर्ने र यदि सकिएन भने अमेरिकी समर्थक पात्र भए पनि फेर्ने’ वा प्रम ओलीका ठाउँमा देउवा ल्याउने कसरतमा देखिन्छ ।
तर यी दुवै भारतीय शक्ति ओलीको समर्थनमा सरकारमा हेरफेर गरेर महन्थ ठाकुरको नेतृत्वमा सरकार निर्माण गर्ने वा बाबुराम भट्टराईको नेतृत्वमा नयाँ सरकार बनाएर जाने भनी जबर्जस्त गृहकार्यमा लागिपरिरहेका देखिन्छन् । यिनै खेलका कारण पनि नेपाली कांग्रेसको पोल्टामा सरकार पर्छ भन्नेमा देउवा विश्वस्त हुन सकिरहेका देखिदैनन् । पछिल्लो चरणमा त प्रचण्ड पनि सरकार निर्माणका कुरा निकै कम मात्रामा गर्न थालेका छन् । त्यसमा पनि आफ्ना सांसदहरु एमालेमा बसिदिए भनेर कारवाही गर्न थालेपछि संसदीय जोडघटाउमा प्रचण्डको हैसियत निकै साँगुरो हुँदै गैरहेको छ । यस्तो अवस्थामा दुईमुखे जसपा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वातावरणका कारण चर्चामा आइरहनु अनौठो होइन ।