• मंसिर १३ २०८१, बिहीबार

निजामती प्रशासन ‘झिङ्गे टसाइ’ सोचबाट मुक्त हुन सकेन : ईश्वर पोखरेल

चैत्र २५ २०७७, बुधबार

काठमाडौँ। उपप्रधानमन्त्री ईश्वर पोखरेलले निजामती प्रशासन ‘झिङ्गे टसाइ’ सोचबाट मुक्त हुन नसकेको बताएका छन् । बुधबार सिंहदरबारमा आयोजित नेपाल सरकारका सचिवहरूबीच निजामती सेवाका विभिद पक्ष सम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री पोखरेलले निजामती प्रशासनमा झिङ्गे टसाई सोच प्रमुख समस्याको रूपमा रहेको बताएका हुन् ।

उनले समयको गतिसँगै निजामती प्रशासन परिवर्तन हुन नसकेको पनि टिप्पणी समेत गरे । त्यसैले निजामती प्रशसनले परिणामलाई भन्दापनि प्रक्रियालाई जोड दिने गरेको उनले बताए ।

“अहिले निजामती प्रशासन भित्र रहेको प्रमुख समस्या हो । सोचमा सकारात्मक परिवर्तनको अभाव, निजामती प्रशासन अझैसम्म (माफ गर्नुहोला एउटा शब्द प्रयोग गर्न चाहन्छु) झिङ्गे टसाइ सोचबाट मुक्त हुन सकेको छैन,” उनले भने,“त्यसैले होला निजामती प्रशासनले परिणामलाई भन्दापनि प्रक्रियालाई जोड दिने गरेको छ ।”

कर्मचारीतन्त्रले जनताको विश्वास जित्न नसकेको पनि उपप्रधानमन्त्री पोखरेलको बताए । ढिलासुस्ती, भ्रष्ट्राचार, जिम्मेवारी पन्छाउने, निर्णय गर्न हिचकिचाउने, समस्यासँग तर्सनेलगायतका प्रवृतिका कारण कर्मचारीतन्त्रमाथि प्रश्न उठ्ने गरेको उनको भनाइ थियो ।

‘कर्मचारीतन्त्र आफैमा सक्षम हुँदाहुँदै पनि जनताको विश्वास राम्ररी जित्न सकिरहेको छैन । यसका पछाडि केही यस्ता कारणहरू छन् जसले कर्मचारीतन्त्रको गरिमालाई कमजोर र जिर्ण बनाउँदै लगेका छन भनेर भन्न सकिन्छ,’ उनले भने , ‘ढिलासुस्ती, भ्रष्टाचार, जिम्मेवारी पन्छाउने, निर्णय गर्न हिचकिचाउने, समस्यासँग तर्सने र राम्रो उद्देश्यका लागि पनि जोखिम बोक्न नचाहने प्रवृतिजन्य संस्कारका ऐजरुहरु कर्मचारी तन्त्रमा पलाउँदै गएका छन् भनेर आम टिप्पणी हुने गरेको छ । यसले नागरिक र कर्मचारीतन्त्रको बीचमा दूरी बढाउँदै लगेको छ ।’