हेटौंडा । नेकपा माओवादी केन्द्रले वाग्मती प्रदेशसभाको आजको बैठक शुरु भएलगतै मुख्यमन्त्री डोरमणि पौडेलको राजीनामा माग गर्दै बैठक अवरुद्ध गरेको छ ।
झण्डै डेढ महिनापछि बसेको बैठकमा माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जम्मकट्टेलले प्रदेशसभाका बहुसङ्ख्यक सदस्यले मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध ल्याएको अविश्वासको प्रस्तावमाथि छलफल गर्ने मौका नदिएको भन्दै विरोध जनाए ।
नेता जम्मकट्टेलले सरकार भावानात्मक, सांगठनिक र वैचारिक रुपमा एक्लिएको बताउँदै मुख्यमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताए ।
उनले सरकारले पछिल्लो समय गुटको राजनीति गर्न राज्यकोषको पैसा खर्च गरिरहेको आरोप लगाएका छन् । उनले मदन भण्डारी फाउन्डेसनलाई प्रदेश सरकारले दिएको ५० लाख रुपैयाँको औचित्य पुष्टि गर्नसमेत सरकारलाई चुनौती दिए ।
प्रदेशसभाको बैठक बुधबार विहान ११ बजेसम्मका लागि स्थगित भएको छ ।