काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सेनालाई आफूलाई आवश्यक पर्ने सामग्री आफैं उत्पादन गरेर आत्मनिर्भर हुन निर्देशन दिएका छन् ।
आर्थिक वर्ष २०७७/७८ मा रक्षा मन्त्रालयबाट सञ्चालित विकास तथा आयोजनाको दोस्रो चौमासिकको प्रगति समीक्षा तथा मन्त्रालयस्तरको विकास समस्या समाधान समितिको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाली सेनालाई सैनिक कल्याणकारी कोषको थप उपयोग गर्न निर्देशन दिए ।
कोभिड १९ को सङ्क्रमण नियन्त्रण र रोकथामदेखि प्रकृति संरक्षण, विपद् व्यवस्थापन र पूर्वाधारहरूको निर्माण एवं राष्ट्रिय र ऐतिहासिक महत्वका गढी र किल्लाहरूको संरक्षणमा नेपाली सेनाले खेलेको भूमिकाको प्रशंसा गर्दै प्रधानमन्त्री ओलीले हाल मुलुकमा आगलागी नियन्त्रणमा नेपाली सेनाले भूमिका निर्वाह गरेको र विश्वभर शान्ति स्थापनामा महत्वपूर्ण योगदान गरी मुलुकको प्रतिष्ठा र छवि उल्लेखनीय भूमिका निर्वाह गरेको बताए ।
बैठकमा नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले दोस्रो चौमासिकमा सेनाबाट सञ्चालित अधिकांश कार्यक्रमको भौतिक प्रगति उत्साहजनक रहेको बताए । मन्त्रालयका सचिव रेश्मीराज पाण्डेले मन्त्रालय राष्ट्रिय प्राथमिकता प्राप्त कार्यक्रमको प्रगति सन्तोषजनक रहेको जनाए ।