काठमाडौँ । साताको सुरुदेखि नै नेप्से परिसूचकले नयाँ रेकर्ड बनाउदै आएको छ । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक मंगलबार २ हजार ६ सय ७४ दशलमव ४६ अंकमा पुगेको छ ।
जलविद्युत् र होटल तथा टुरिजम समूहको परिसूचक सबैभन्दा उच्च क्रमशः ४ दशलमव ४६ र ५ दशमलव ६२ प्रतिशतले बढेका छन् । मंगलबार नेप्सेमा ट्रेडिङ समूह सबैभन्दा धेरै ९ दशलमव ४६ प्रतिशतले घटेको छ । साल्ट ट्रेडिङको सेयरमा ऋणात्मक सर्किट ब्रेक लागेको छ ।
बोनस प्राप्त गरेपछि मंगलबार साल्ट ट्रेडिङको सेयरमा विक्रीको चाप देखिएको हो । सोही कारण परिसूचक ओरालो लागेको आकलन गरिएको छ । त्यसोत बैंकिग, फाइनान्स, निर्जीवन बीमा कम्पनी, अन्य समूह र जीवन बीमा कम्पनी समूहको परिसूचक ओरालो लागेको छ ।
जलविद्युत् कम्पनीको सेयर १० प्रतिशतले बढेको छ । चिलिमे हाइड्रोपावर, युनिभर्सल पावर कम्पनी, युनाइटेड आइडीआइ मार्दी हाइड्रापावरको सेयर कारोबारमा सर्किट ब्रेक लागेको छ । चन्द्रागिरि हिल्सको सेयर मूल्य पनि १० प्रतिशतले बढेर २,३४४ रुपैयाँमा अन्तिम कारोबार भएको छ । नेप्सेमा २१३ कम्पनीको ७ अर्ब ४७ करोड ७७ लाख रुपैयाँ मूल्यका १ करोड ६१ लाख आठ हजार ४ सय ९९ कित्ता सेयर ८१ हजार सात सय ५३ पटकको कारोबारबाट खरिद–विक्री भएको पनि नेप्सेले जनाएको छ ।
चैत मसान्त नजिकिंदै जाँदा बजारमा उत्साहले पुन गति लिन थालेको हो । सेयर बजारमा सामान्य अंकको तलमाथि हुन स्वभाविक हो । यति नै पुग्छ भनेर भन्न सक्ने अवस्था भने बजारमा कहिले पनि हुँदैन । नयाँ वर्ष नजिकिने क्रम सुरु भएको कारण सरकारको पुँजीगत खर्चमा पनि वृद्धि हुने आकलन गरिएको छ । अहिले पनि वित्तीय प्रणालीमा अधिक तरलताकै अवस्था रहेको छ । यी समग्र परिदृश्यकै कारण बजारमा सुधार आएको आकलन विज्ञहरुको छ । यस्तो अवस्थामा लगानीकर्ताले योजनाबद्ध तथा रणनीतिक हिसाबले अघि बढ्नु नै उपयुक्त हुने देखिएको छ । सबल वित्तीय सूचक भएका कम्पनीमा होल्ड गर्ने अवधिको पूर्वअनुमान सहित लगानी गर्न सकेमा थप सजिलो हुन सक्छ ।