काठमाडौँ । कोरोनाका कारण ३५ प्रतिशत उद्योग व्यवसायको अवस्था नाजुक रहेको छ । नेपाल सरकार, नेपालस्थित संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) र नेपाल उद्योग वाणिज्य महासंघले संयुक्त रूपमा गरेको अध्ययनमा ३५ प्रतिशत उद्यम व्यवसायलाई व्यवसायिक पुनरुत्थानको तत्काल आवश्यकता भएपनि उनीहरू आफैं पुनरुत्थान योजना कार्यान्वयनमा असमर्थ रहेको उल्लेख गरिएको छ ।
देशभरका उद्योग, व्यवसाय समेटेर नमूना सर्वेक्षणका आधारमा तयार पारिएको ‘ह्युमन राइट्स ड्यु डिलिजेन्स एसेसमेन्ट अफ विजनेस सेक्टर इन कोभिड–१९ रेस्पोन्स’ नामक अध्ययनले ३१ प्रतिशत व्यवसायको पुनरुत्थान योजना तयार रहेको र त्यसलाई कार्यान्वयन गर्ने प्रतिवेदन तयार पारेको छ । त्यस्तै, ६ प्रतिशत व्यसायले कसरी संकट व्यवस्थापन गर्ने भन्ने सम्मको अवस्थामा समेत नरहेको सोही प्रतिवेदनमा उल्लेख छ ।
सर्वेक्षणका सहभागी भएकामध्ये २८ प्रतिशतले पुनरुत्थानका लागि नयाँ रणनीति आवश्यक नभएको र तिनीहरू आर्थिक गतिविधि सुचारु भएसँगै स्वतः पुनरुत्थानको क्रममा रहेको उल्लेख गरेका थिए । कोभिड-१९ महामारीपछि कार्यस्थलको सुरक्षा, कोभिड-१९ सम्बन्धी सूचना प्रवाहको अवस्था, स्वास्थ्य सुरक्षा सामग्रीको उपलब्धता, श्रमिक अधिकार कार्यान्वयन, वातावरणीय र सामुदायिक प्रभाव, सरकार तथा अन्य सरोकारवाला निकायसँगको समन्वय लगायतका विषयलाई समेटेर देशभरका उद्यमी तथा व्यवसायीमाझ यस्तो सर्वेक्षण गरिएको थियो ।
कोभिड महामारी फैलन नदिन सर्वेक्षणमा सहभागी मध्ये ६८ दशमलब २९ प्रतिशत उद्यम तथा व्यवसायले कार्यस्थलको सुरक्षा सम्बन्धी उपाय अपनाएको पनि उल्लेख छ । विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार त्यस्ता व्यवसायीहरुले मास्क, सेनिटाइजर, पर्सनल प्रोटेक्टीभ सुट आदिको व्यवस्था गरेको साथै बढी जोखिम हुनसक्ने कामदारलाई घरबाटै काम गर्न अनुमति दिएको विषयलाई प्रतिवेदनले समाबेश गरेको छ । घरबाटै काम गर्ने सुविधा भने ३७ प्रतिशत उद्योगले मात्रै दिएका थिए ।
कोरोना कहरमा ५७ दशमलव ३२ प्रतिशत उद्यम तथा व्यवसायले श्रमिकको अधिकार रक्षा गरेको देखिदैंन । श्रमिक अधिकार रक्षा गरेको दाबी गर्ने ४२ दशमलव ६८ प्रतिशत कम्पनी रहेका छन् । तर श्रमिकलाई तोकिएको तलब सुविधा समयमा उपलब्ध गराउने भने ३७ प्रतिशत उद्यम, व्यवसायमात्र रहेको सर्वेक्षणले देखाएको छ । यी मध्ये ३३ दशमलव ७४ प्रतिशतले भने कोभिड-१९ संक्रमित भएर काममा जान नपाएको अवधिको तलब सुविधा श्रमिकलाई उपलब्ध गराएको जनाएका छन् ।