काठमाडौँ। दोश्रो चरणको कोरोना कहरको कारण कोरिया रोजगारी अन्योलमा परेको छ । नेपाली कामदारका लागि दक्षिण कोरिया आकर्षक गन्तब्य मुलुकको रुपमा रहेको छ । केही समय अघि कोरोना संक्रमण घटन थालेपछि उत्साहित भएका युवाहरु पुनः दोश्रो चरणको कोभिडको प्रभावसँगै चिन्तित हुन थालेका छन् ।
सङ्क्रमण अझ बढ्दै गएमा रोजगारका लागि सम्झौता भइसकेका र बिदामा नेपाल आएका कामदारले पुन: कोरिया जान पाउने अवस्था न्युन देखिन थालेको छ । नेपाल सरकारले कोरियामा नेपाली श्रमिक पठाउन पटक–पटक प्रस्ताव राखे पनि कोरिया सरकार इच्छुक नभएका कारण रोजगारीमा जाने प्रक्रिया अघि बढ्न सकेको छैन । सो सम्बन्धमा नेपालस्थित कोरियाली राजदूतावासका प्रतिनिधिसँग नेपाली कामदार पठाउन विभिन्न चरणमा वार्ता भइरहेको रोजगार अनुमति प्रणाली (इपिएस) शाखाले जनाएको छ ।
स्वदेश र विदेशमा कोरोना संक्रमण बढिरहेकाले नेपाली कामदार लान सक्ने अवस्था न्यून रहेको इपिएस शाखाका प्रमुख इन्द्र गौतमले बताएका छन् । कोरियाले नेपाललाई ‘रेड र यल्लो’ जोनमा राखेको छ । ग्रिन जोनमा राख्न थालेपछि मात्र नेपाली कामदार कोरिया जान पाउनेछन् ।
नेपालसहित अन्य मुलुकहरूबाट पनि श्रमिक लैजान कोरियाले रोक लगाएको छ । इपिएस शाखाका अनुसार १२ वटा मुलुकलाई पूर्ण रुपमा कामदार लैजान प्रतिबन्ध लगाइएको छ । नियमित र कमिटेड गरेर ७ हजार ४ सय कामदार कोरिया जाने सूचीमा रहेका छन् । कोरियाबाट विदामा आएर जान नपाएका ३ हजार कामदारहरु कोरिया जाने पर्खाइमा रहेको पनि इपिएस शाखाले जनाएको छ ।
योसँगै भाषा परीक्षा पास गरेर प्रतिक्षा सूचीमा रहेका कामदारको संख्या करिव साढे ४ हजारको आसापस रहेको छ । कोभिड संक्रमण बढ्दै गएमा यो संख्या अझ बढन सक्ने छ । परीक्षा उत्तीर्ण गरेकालाई प्रतिक्षा सूचीमा राख्ने गरिन्छ । कोरोनाको समयमा प्रतिक्षा सूचीमा रहेकाहरूको म्याद गुज्रिएका हकमा म्याद थप गर्न नेपालका तर्फबाट आग्रह गरिएको इपिएस शाखाले जनाएको छ ।
कोरियामा हाल ३१ हजार नेपाली कामदार रहेका छन् । कृषि र उद्योगको क्षेत्रमा मात्र नेपाली कामदार लाने गरिएको छ । अहिले पुनः भाषा परीक्षको विषयमा दुवै देशबीच छलफल भैरहेको इपिएस शाखाले जनाएको छ । कोभिड प्रकोप न्यून भएपछि भाषा परीक्षा हुन सक्ने आकलन गरिएको छ । अबको परीक्षा भने अनलाइन माध्यमबाट लिने पक्षमा दुवै देशका प्रतिनिधि सहमत भएका छन् । एकपटकमा २ सय भाषा परीक्षार्थीको परीक्षा लिने गरी तयारी भइरहेको छ । दुवै देशले परीक्षा गर्न सफ्टवेयर निर्माण गरिरहेको हुँदा केही समयमा परीक्षार्थीहरुले भाषा परीक्षा दिन सकिने अपेक्षा गरिएको छ ।