• मंसिर ११ २०८१, मंगलवार

प्रविधियुक्त पर्यटनको पहिचान बनाउँदै बन्दीपुर

चैत्र २४ २०७७, मंगलवार

तनहुँको बन्दीपुर आफैमा नेपालको अति आकर्षक पर्यटकीय क्षेत्र हो । यसलाई ‘पहाडकी रानी’ को उपमा त्यतिकै दिइएको होइन । यसलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न बन्दीपुरवासी लागिपरिरहेका छन् । अहिले त प्रविधियुक्त पर्यटनको पनि विकास गरिदै छ । पूर्वाधारयुक्त केबुलकार परियोजना निर्माण कार्यलाई सफलतापूर्वक अघि बढाइएको छ ।

पहिले बन्दीपुर छोडेर अन्यत्र बसाइ सरेका स्थानीय अहिले धमाधम आफ्नो पुख्र्यौली थलोमा फर्कन थालेका छन् । अहिले बन्दीपुर केबुलकार एण्ड टुरिज्मले सुरु गरेको करिब दुई अर्ब रुपैयाँ लागतको पर्यटकीय अवधारणाले सिंगो गाउँ नै पर्यटकीय क्षेत्रमा अघि बढिरहेको छ ।

यस कार्यलाई बन्दीपुर गाउँपालिकाले पनि निकै बल मद्दत पुर्याइरहेको छ । अहिले त निजी लगानीकर्ताहरु पनि ओइरिन थालेका छन् । लगानीको माहोल बनेको छ । हाल बन्दीपुरमा मिनी ग्रेटवाल, साइकल लेन, जंगल सफारीका पूर्वाधार निर्माण भैरहेका छन् । हाल बन्दै गरेको केबुलकारले त्यहाँको पर्यटन प्रवद्र्धनमा ‘सुनमा सुगन्ध’ थपिरहेको छ । बन्दीपुरलाई अहिले साहसिक पर्यटकीय स्थलको रुपमा पनि विकास गराइन थालिएको छ ।

केबुलकार निर्माता कम्पनीले अग्लो बन्जी जम्पको निर्माण प्रक्रिया थालेको छ । जंगल पिङ, एक हजार ८ सय मिटर लामो स्पाइडर जीप लाइन, ६ सय मिटर लामो भीरमा टुँडिखेलसम्म वाक थ्रु र ५० मिटर लामो सिसाको पुलसमेत बनाउने गरी डीपीआर तयार गरिसकेको छ ।

 

साहसिक पर्यटनसँग सम्बन्धित स्काई साइकिलिङलगायतका मनमोहक मनोरञ्जनको पूर्वाधार निर्माण गरिन थालिएको छ । लक्ष्यअनुसार यहाँ दैनिक पाँच हजारभन्दा बढी पर्यटक बन्दीपुरमा भित्र्याउने योजना रहेको छ । यहाँ अन्य पाँच सहायक कम्पनी पनि थप एक अर्ब रुपैयाँ लगानी लिएर पर्यटन पूर्वाधार निर्माणमा जमेरै लागिरहेका छन् । ‘होस्टेमा हैसे’ हुँदै गएपछि यसबाट ‘हर्स राइडिङ सेवा र छिम्केश्वरीदेखि रामकोटसम्म ४० किमि साइक्लिङ सेवासमेत सुरु गरिने योजना बनिरहेको छ ।

 

हाल बन्दीपुर केबुलकारको ६५ प्रतिशत निर्माण कार्य सम्पन्न हुँदै गर्दा माथिल्लो स्टेसनमा १५ तल्ले क्विनटावर निर्माण कार्य निकै तिब्रतामा अघि बढिरहेको छ । क्विन टावरबाट फराकिलो कुहिरोको समुद्र र हिमालय दर्शन गराउने लक्ष्य रहेको छ ।

बन्दीपुरको विकासका लागि आगामी १० वर्षभित्र १० लाख लगानीकर्तामार्फत् १० अर्बको लगानी लगाएर सामूहिक व्यावसायिक अभियान सञ्चालन गर्ने योजना बनाइएको छ ।