• माघ १८ २०८१, शुक्रबार

थपलियाको गीत ‘यस्तो साथी’मा अभिव्यक्त राष्ट्रिय भावना

चैत्र २४ २०७७, मंगलवार

कुनैपनि देशको राजनैतिक परिवर्तन होस् या साँस्कृतिक परिवर्तन नै किन नहोस बिना क्रान्ति कुनैपनि परिवर्तन आजसम्म सम्भव भएको इतिहास छँदैछैन । संसारमा भएका ठूला ठूला परिवर्तनहरुमा मानिसहरुको सहभागिता रहने गरेको छ । मानिसद्वारा मानिसमाथि गरिएको थिचोमिचो र भेदभावको विरुद्धमा उत्पीडित वर्गले परिवर्तनको निम्ति गरिने विद्रोह जसलाई क्रान्ति भनिन्छ । त्यो क्रान्ति हतियारवद्ध पनि हुनसक्छ हतियार बिनाको फनि हुनसक्छ । क्रान्तिमा बलिदान हुन्छ । यदि बलिदान बिनाको क्रान्ति कसैले गर्न खोज्छ वा चाहन्छ भने त्यो केवल भनाइमा मात्रै सिमित हुन जान्छ । बलिदान बिनाको क्रान्ति भन्नु केवल ‘मनको लड्डु घ्यूसँग . . . ‘ भने जस्तै हो । परिवर्तनको लागि जब क्रान्ति हुन्छ त्यहाँ बलिदान अवश्यमभावी छ ।

नेपालमा विगत २०५२ सालदेखि क्रान्ति शुरु भयो । परिवर्तनको लागि भएको सो क्रान्तिको शिलशिला अझैपनि जारी छ । क्रान्तिमा खासगरी २०५२ सालदेखि २०६३ सालको अवधिमा नेपाली समुदायमा बलिदानीको उच्चश्रृंखला नै चल्यो । क्रान्तिले बलिदानी मात्रै गरेन केही सिमित उफलब्धि समेत हासिल गर्यो । क्रान्तिले कयौं मानिसलाई कवि बनायो, साहित्यकार बनायो, नेता बनायो । क्रान्ति भित्रबाट समाजका विभिन्न अवयवहरूमा चाहिने प्रतिभाहरु समेत उत्पादन भए । क्रान्तिले गीतकार संगीतकारलाई कवि मात्रै बनाएन कविलाई गीतकार समेत बनायो । यो क्रम चलिरहेको छ । यो क्रममा पछिल्लो पटक जनसाहित्यकार कवि तथा नाटककार मात्रै नभएर समालोचक र आख्यानकार समेत रहेका खेम थपलिया थपिएका छन् । उनी हालै गीतकारको रुपमा देखा परेका छन्

यस्तो साथी
यस्तो साथी

थपलियाले हालै एक ‘यस्तो साथी’ शिर्षकको लोक आधुनिक गीत सिर्जना गरेका छन् । साथी भन्ने बित्तिकै जो कसैलाई लाग्ने गर्छ, सँगै बस्ने, खाने, सुख दु:खमा साथ दिने एक अर्को मानव जीवन । साधारणतया हुनपनि साथी त्यही हो जस्ले मानिसको सुख अनि दुःखमा सँगै बसेर साथ दिन्छ । तर थपलियाले सिर्जना गरेको गीत ‘यस्तो साथी’मा केवल सुख र दुःखमा साथदिने अर्को जीवनलाई मात्रै साथी भनिएको छैन । उनको गीतमा साथीको रुपमा आउने मानिसमा हुनुपर्ने साधारण गुण र आम लक्षण बाहेक अरु पनि केही कुराहरु खोजिएको छ ।

नेपालको जनक्रान्ति र जनसंघर्षमा धेरैको योगदान रहेको छ । योगदान यस्तोपनि रहेको छ जहाँ मानिसहरुले आफ्नो जीवनको समेत बलिदानी गरेका छन् । क्रान्तिमा सामेल हुँदा मात्रै होइन बलिदानी हुँदा समेत योद्धाहरु एकार्कामा यति साथित्वको भावनामा लिन भएका हुन्थे कि एउटाको बलिदानी हुदा अर्को युद्धबाट फिर्ता हुनुको औतित्य नै देख्दैनथ्यो । साथीलाई आन्दोलनको मोर्चामा गुमाएर आउँदा सातदिन सातै रात अर्को साथीले रोएर बिताएको घटना हाम्रै इतिहाले बोकिसकेको छ । जनताको घरमा डोको बोक्ने आमालाई साथ दिने साथी युद्ध मैदानमा ढल्दा अर्को साथीले अन्यायका विरुद्धमा छाती थापेको कथा पनि नेपालमा लेखिइसकेको छ । जतिबेला एकतन्त्रात्मक राजतन्त्र नेपालमा कायम थियो त्यतिबेला देशलाई गणतन्त्रमा ल्याउन युद्धमा लड्ने साथीहरुको बीचमा यति आत्मियता र साथित्व कायम थियो कि, एउटा साथी ढल्दा खसेको बन्दुक अर्कोले साथीले समातेर साथीका बाँकी सपना पुरा गर्ने कसम खान्थ्यो । अहिले विगतको त्यो गती हामीमा कताकता हराएको हो कि जस्तो पनि भएको छ । उनी अर्थात् थपलिया भन्छन्, ‘शहीदहरुको बाटोलाई पछ्याउने प्रतिबद्धता सहित यो गीत सिर्जना गरेको छु ।’

गीत एक अनुभूतिजन्य र आख्यानशुन्य आत्मपरक विधा हो । यो नाटक जस्तो पनि होइन । गीत लय, सुर र संगीतबद्ध हुने एक श्रव्य विधा भएपनि हाल आएर प्रविधिमा आएको चामत्कारीक परिवर्तनले गर्दा यो दृश्य विधामा समेत देखिने गरेको छ । आज कुनै गीतको भिडियो नबनेको खण्डमा गीत हराउने जोखिम समेत देखापरेको छ । समयको परिवर्तनसँगै यस्तो भएको हो । गीतले प्रकट गर्ने भाव र यसले दिने सन्देशका हिसाबले मात्रै होइन यसले छोड्ने प्रभावका हिसाबले समेत यो विधा साहित्यका अरु विधाभन्दा धेरै अगाडी छ भन्दा फरक नपर्ला । गीत एउटा आत्मपरक विधा भएपनि यसलाई बुझ्न कुनै बौद्विकता वा विशेषज्ञताको आवश्यकता भने पर्दैन । कुनैपनि गीतमा गीतकारका संवेग, अनुभव मात्रै होइन विचार समेत अभिव्यक्त भएका हुन्छन् । गीत एक कल्पना हो तर पनि यो अलिकति प्राकृतिक जस्तो देखियो भने यसले स्रोतामाझ छिट्टै स्थान पाउन सक्छ । गीतमा स्थायी जुन रुपमा स्थापना गरिएको हुन्छ । अन्तराहरुले यसलाई विस्तार गर्दै पुष्टि गरेको खण्डमा गीत एक पूर्णजस्तो देखिन्छ । गीतमा गीतकार आफै बोल्छ तापनि संगीतकारले त्यो गीत बोल्ने लय सिर्जना गर्छ । संगीत संयोजकले शब्द र आवाजको तादम्यता मिलाएर गायकलाई दिन्छ भने गायकले गीतलाई स्रोतासम्म पुर्याउँछ । स्रोताले सुनेर आनन्द लियो वा भनौं गीत सुनेर स्रोतामा केही बललाव देखियो भने त्यो गीतलाई पूर्ण रुपमा सफल मान्नुपर्छ ।

खेम+रमण+अनिश
खेम+रमण+अनिश

यहाँ ‘यस्तो साथी’ मा गीतबारे माथि बताइएका कुराहरु प्रयाप्त मात्रामा प्रयोग भएको पाइएको छ । गीतकारले गीतको स्थायी जुन रुपमा स्थापना गरेका छन् त्यसका विभिन्न अन्तराहरुले स्थायीलाई पुष्टि गर्दै गएका देखिन्छन् । ‘खोज्दैछु म यस्तो साथि रुँदापनि सँगै रोओस्, हाँस्दापनि सँगै हाँसोस्, मर्दा पर्दा पनि आँगनीमा उभिएकै होस् ।’ यो गीतको स्थायीको रुपमा देखा परेको छ भने अन्तराहरुमा उनी साथी खोज्दै जान्छन् । गाँउघरका मेलापातमा धाइरहने आमाबुवालाई सघाउने साथीको खोजीमा गीतकार अन्तरामा भन्छन्, ‘डोको बोक्ने आमालाई साथ देओस् मेरो साथी, हलो जोत्ने बाबालाई हात देओस् मेरो साथी’ । गरिब निमुखा जनताहरुले न्याय नपाएको मात्रै होइन नेपालको राष्ट्रिय स्वाधिनता नै खतरामा परेको वर्तमान समयमा उनलाई अन्यायका विरुद्धमा छाती थाप्ने र राष्ट्रिय स्वाधिनताको झण्डा बोक्ने साथी चाहिएको छ त्यसैले गीतमा उनी भन्छन्, ‘अन्यायका विरुद्धमा छाति थापोस् मेरो साथी, स्वाधिनताको झण्डा बोकोस् सधैं सधैं मेरो साथी ।’ हाम्रो देशमा सीमा मिचिने समस्या लामो समयदेखि रहेको छ । छिमेकीले हाम्रो देशलाई सधैं झम्टिने गर्छ तर कोही बोल्दैन । समय अनुसार बुझेर परिवर्तन चाहने साथीको खोजीमा रहेका गीतकार गीतको स्थायीलाई पुष्टि गर्दै भन्छन्, ‘परिवर्तनको सपना बोकी सधैं हिंडोस मेरो साथी, सुन्दर संसार बनाउन सँगै लडौं आऊ साथी ।’

एउटा गज्जबको कल्पनामा रहेर प्राकृतिक जस्तो लाग्ने ‘यस्तो साथी’ बोलको गीतमा थपलियाले एउटा राष्ट्रवादी भाव दर्शक तथा स्रोतालाई पस्किएका छन् । गीतका आधारभूत विनम्रतालाई विशेष ख्याल गर्दै सरल भाषामा उपयुक्त बिम्ब र प्रतिक प्रयोग गरेर सिर्जना गरिएको सो गीतलाई जनसंगीतकर्मी अनिष योञ्जन ‘च्याङ्वा’ले मनछुने संगीत सिर्जना गरेका छन् भने सुन्दर लामाले आवाज, शब्द र लयलाई उचित तालमेल गरी संगीतको संयोजन गरेका छन् । गीत भनेकै गाउनको लागि हुने भएकोले नगाइएसम्म गीत कहिल्यै पूर्ण हुँदैन । यो कुरा त सबैलाई ज्ञात छ । जनगायक रमण थामीको सुमुधुर स्वर यो राष्ट्रवादी गीतमा सुन्न पाइन्छ । गीत लेखन देखि रेकर्ड मात्रै नभई यसको लिरिकल भिडियो निर्माणसम्म जनसंगीतकर्मी ढुण्डीराज अधिकारीको सहयोग रहेको बुझिन्छ ।

गीत सिर्जना गर्दा कविताको जस्तो बनावट भन्दाभिन्दै गरेर साथै अन्तराहरुलाई दुईदुई पंक्तिका बनाएको गीत कस्तो हुन्थ्यो होला ? मात्रै होइन अलि माथिल्लो स्केलबाट गाइएको भएको यो गीत कस्तो सुनिन्थ्यो होला भनेर स्रोताहरुलाई जिज्ञाशा भने लाग्न सक्छ ।

जे होस् गीत अभिव्यक्ति माध्यमको लोकप्रिय र शसक्त विधा भएकोले गीत सिर्जना गर्ने सर्जकहरुको संख्या बढ्दो छ । त्यही गीत सिर्जना गर्ने सर्जकहरुको पंक्तिमा जोडिन आएका थपलियालाई भने यस विधामा पनि सफलताको शुभकामना चाँही दिनैपर्छ ।

पढौं गीत

यस्तो साथी

खोज्दै छु म यस्तो साथी
रुँदा पनि सँगै रोओस्
हाँस्दा पनि सँगै हाँसोस्
मर्दा पर्दा आँगनीमा उभिएकै होओस् ।

डोको बोक्ने आमालाई साथ देओस् मेरो साथी
हलो जोत्ने बाबालाई हात देओस् मेरो साथी
अन्यायका विरुद्धमा छाती थापोस् मेरो साथी
स्वाधिनताको झण्डा बोकोस् सधैँसधैँ मेरो साथी
खोज्दै छु म यस्तो साथी. . . . . . . . .

सीमा सार्ने ढोकाहरू बन्द गरोस् मेरो साथी
मेरो देशलाई झम्टिनेको शिरै ढालोस् मेरो साथी
परिवर्तनको सपना बोकी सधैँ हिँडोस् मेरो साथी
सुन्दर संसार बनाउन सँगै लडौं आऊ साथी
खोज्दै छु म यस्तो साथी . . . . . . .

हेरौं भिडियो ⇓