• मंसिर ११ २०८१, मंगलवार

ओली सरकारको भ्रष्टाचारविरुद्ध देशव्यापी अभियान चलाउँछौं : लालबहादुर थापा

चैत्र २३ २०७७, सोमबार

(राष्ट्रियता, जनतन्त्र र धर्म निरपेक्षताको नारा दिएर अघि बढिरहेको राष्ट्रिय जनमोर्चा नेपालले यहि चैत्र २४, २५ र २६ गते बुटवलमा राष्ट्रिय सम्मेलन सम्पन्न गर्न गैरहेको छ । सम्मेलन तयारीका क्रममा संघीयताको खारेजीसँगै भ्रष्टाचारविरुद्ध संघर्षको नारा पनि अघि सारिएको छ । नेपालमा निम्तिएको राजनीतिक संकट, संसदमा आएको गतिरोध तथा यस्तो बेलामा हुन गैरहेको मोर्चाको राष्ट्रिय सम्मलेनसँग सम्बन्धित रहेर गोलमेडिया खबरका सम्वाददाता नरेश रानाले मोर्चाका केन्द्रीय सदस्य लालबहादुर थापासँग लिएको अन्तरवार्ता यहाँ जस्ताको तस्तै प्रस्तुत गरिएको छ- सं.।)

२. भोलिदेखि सुरु हुने राष्ट्रिय जनमोर्चा पार्टीको राष्ट्रिय सम्मेलन कहाँ हुँदैछ ?

हाम्रो पार्टीको चौथो राष्ट्रिय सम्मेलन बुटवलमा हुने भएको छ । तीन दिनसम्मका लागि तय गरिएको सम्मेलन भोलि (मंगलबार)बाट सुरु भई बिहीबार सम्पन्न हुनेछ ।

३. सम्मेलनको तयारी कहाँसम्म पुर्याउनु भयो नि ?

सम्मेलनका लागि सबै आवश्यक तयारी पूरा गरिसकेका छौँ । अतिथिका लागि विशाल पण्डल निर्माण पनि भैसकेको छ । सम्मेलनमा सहभागिता जनाउनका लागि देशका ७७ वटै जिल्लाबाट हाम्रा थुप्रै प्रतिनिधिहरू आउनेक्रम जारी नै छ । सम्भवतः आज बेलुकीसम्म सबै जना आइपुग्नु हुनेछ । आज बेलुकीसम्म नपुगेका प्रतिनिधि भालिसम्म पनि आउनेक्रम जारी रहने छ । त्यसका लागि खानपान र आवसको तयारी पनि हामीले पूरा गरेका छौँ ।

४. बुटवलबाहेक अन्य जिल्लामा सम्मेलन गर्न सकिन्थो, किन त्यही गर्न लाग्नु भयो ?

हाम्रो पार्टीले बुटवलमा सम्मेलन गर्नुको कारण पहिलो कारण त पार्टीले गरेको निर्णय नै हो । पार्टीले गरेको निर्णयअनुसार बुटवलमा सम्मेलन गर्ने तयारी भएको हो । भौगोलिक हिसाबले पनि बुटवलाई नै रोज्नुको दास्रो कारण सबैको पायकपर्ने ठाउँ भएकोले यहीँ उपयुक्त होला भनेर नै पार्टीले निर्णय गरेको हो । पार्टीको निर्णयबमोजिम नै यो सम्मेलन बुटवलमा गर्ने तयारी भएको छ ।

५. जनमोर्चाको सम्मेलनका मुख्य उद्देश्य के–के हुन सक्छन् ?

हाम्रो पार्टीले प्रत्येक पाँच–पाँच वर्षको अन्तरमा राष्ट्रिय सम्मेलन गर्ने गर्छ । यो हाम्रो पार्टीको विधानमै उल्लेख छ । सम्मेलनको मुख्य उद्देश्य भनेको पार्टीको नयाँ कार्यसमिति निर्वाचित गर्नु नै हो । यसभन्दा अघिको कार्यसमितिको समयावधि सकिएको छ । उसको समयसीमा सकिएपछि पार्टीका वैधानिक कार्य गर्न उसले पाउँदैन । विधानसंवत उसले पार्टीको काम गर्न सम्भव हुँदैन । त्यसका लागि नयाँ कार्यसमिति यस सम्मेलनबाट निर्वाचित हुनेछ । र, उसले वैधानिक रूपमै पार्टीको नयाँ कामको थालनी गर्ने छ । अर्को उद्देश्य भनेको हामीले तय गरेको नारामा हाम्रो उद्देश्य केन्द्रित हुनेछ ।

६. जनमोर्चाको चौथो राष्ट्रिय सम्मेलनबाट अध्यक्षमा पुनः चित्रबहादुर केसी नै दोहोरीने सम्भावना छ ?

यो अहिले नै भन्न सक्ने अवस्था छैन । सम्मेलन तीन दिनका लागि तय गरिएको छ । यो तीन दिनको समयावधि भित्रै यो कुरा फाइनल हुन्छ । तर, हामी सहमतिको आधारमा भन्दा पनि लोकतान्त्रिक पद्धतिमार्फत नै अगाडि बढ्छौं । लोकतान्त्रिक पद्धति भनेकै निर्वाचन गर्नु हो । हामीले निर्वाचन गरेरै भोटिङ गर्छौं र आफ्नो मन परेको प्रतिनिधि छनोट गर्छौं । लोकतन्त्रमा यसरी नै चुनिएको प्रतिनिधि नै वैधानिक हुन्छ ।

७. चौथो राष्ट्रिय सम्मेलनको मुख्य एजेण्डा के-के छन् ? सम्मेलन पश्चात् के गर्नुहुन्छ ?

हाम्रो पार्टीको चौथो राष्ट्रिय सम्मेलनको मुख्य एजेण्डा भनेकै नारामा भनेझै भ्रष्टाचारविरुद्ध संघर्ष गर्ने नै हो । प्रधानमन्त्री केपी शर्मा ओली सरकारले गरेका भ्रष्टाचारविरुद्ध हामी संघर्ष गर्नेछौं । जनताले उहाँलाई देश विकास गर्नका लागि भोट दिएका हुन् । भ्रष्टाचार गर्नका लागि दिएका होइनन् । ओली सरकारको भ्रष्टाचारविरुद्ध हाम्रो सम्मेलनमा आधिकारिक लेख्य निर्णय गरेरै देशव्यापी अभियान चलाउने छौं । हामी सम्मेलन पश्चात् यहीँ अभियानमा सरिक हुनेछौं ।

८. जनमोर्चाले संघीयताको विरोध गर्नुको खास कारण के हुनसक्छ ?

हामीले के भनेका छौं भने हाम्रो जस्तो सानो, अल्पविकसित मुलुकले संघीयताको भार थेग्न सक्दैन । देशको राजनीतिक, आर्थिक, भौगोलिक, प्राकृतिक स्रोत साधनका कठिनाइका बावजुत संघीयता लागु गरिएको छ । यो शासन प्रणाली खर्चिलो बन्दै गएको छ । यसको आयव्यय भार देशले थेग्न नसक्ने भएकाले हामीले संघीयताको विरोध गर्दै आएका छौं । यो शासन व्यवस्था खारेज हुनैपर्छ । यसले भ्रष्टाचार मौलाएको छ ।

९. जनमोर्चा बाम पार्टी भएपनि बाम पार्टीकै सरकारको किन विरोध गरिरहेको छ ?

नेपालमा वामपन्थी सरकार छ । हामी पनि बामपन्थी नै भएकोले बाम सरकार रहिरहनु पर्छ भन्ने हाम्रो मान्यता छ । तथापि बामपन्थी सरकार हुनुपर्छ भन्दैमा ओली सरकार हुनैपर्छ भनेको होइन । ओलीले सकभर सरकारबाट बाहिरिदा हुन्छ । पब्लिक लेभलमा उहाँको निकै आलोचना हुँदै आएको छ । भ्रष्टारीलाई पोस्ने, माफिया, दलाली, बलात्कारीलाई बचाउने रणनीति भएकोले ओलीजीले सरकार छोड्नु नै बुद्धिमानी हुन्छ । उहाँको विकल्पमा कुनै बाम पार्टीले नै सरकार बनाउनु पर्छ । त्यसैले हाम्रो पार्टी ओलीको निरन्तरता चाहादैन । बरु अन्य बाम पार्टीको सरकारले निरन्तरता पाओस् भन्ने जनमोर्चा चाहान्छ ।

१०. वाम पार्टीहरू सत्ताका लागि सौदाबाजी गरिरहेका छन्, यसप्रति जनमोर्चाको चासो बढ्दैन ?

सकभर हामी वाम पार्टीहरूको एकमत भए राम्रो । नभए समझदारीका माध्यमबाट सत्ता सञ्चालन गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो । बिडम्वना त्यसो हुन सकेको छैन । हाम्रो पनि वाम राजनीतिक दल भएको हैसियतले सत्ताप्रति चासो, चिन्ता नहुने भन्ने हुँदैन, हुन्छ । तर, भएर हामीले सुझा दिनेबाहेक अरू सम्भावना छैन ।

११. समय र संवादका लागि यहाँलाई धन्यवाद !

यहाँको मोल मिडिया खबर, सम्पूर्ण पाठकबृन्द लगायत हाम्रा शुभचिन्तक र तपाईंलाई पनि धन्यवाद ! सकेसम्म भोलिदेखि सुरु हुने हाम्रो राष्ट्रिय सम्मेलनमा यहाँहरूको गरिमामय उपस्थितिका लागि निम्तो गर्न चाहन्छु ।