काठमाडौँ। माओवादी केन्द्रले प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता गरेको अविश्वासको प्रस्ताव फिर्ता लिएको छ ।
सोमबारको प्रदेशसभा वैठकमा नेकपा माओवादी केन्द्र प्रदेश १ संसदीय दलका नेता ईन्द्रबहादुर आङ्बोले सरकारविरुद्ध दर्ता गरेको अविश्वास प्रस्ताव फिर्ता लिएको घोषणा गरे ।
उनले विशेष परिस्थितिमा दर्ता गरिएको अविश्वास प्रस्ताव वर्तमानमा असान्दर्भिक भएकाले फिर्ता लिइएको बताए ।
गत पुस १२ गते तत्कालिन प्रचण्ड-माधव नेपाल पक्षले मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएको थियो । तर फागुन २३ गते सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि प्रदेशमा अविश्वासको प्रस्ताव पास हुने अवस्था थिएन ।