लुरे माइला
मलाई थाहा छ
तिम्रो आगनमा कसैले पनि
बाइबल पढेको मन पर्दैन तिमीलाई
तर
तर मलाई यो पनि थाहा छ
तिम्रो आगनमा तिम्रै सरकारले
आइएनजीओको नाममा
कुनै कुनै न कुनै बहानामा
यो गर्छु र त्यो गर्छु भनेर
अनि
अनि यो दिन्छु र त्यो दिन्छु भनेर
लोभ्याएर सधैँजसो
बाइबलहरु घोकाईरहेका छन् ।
तिमीमाथि अन्याय भइरहेको
त्यो टुलुटुलु हेरिरहने
मन्दिर र गुम्बाले केही गर्दैनन्
पुरेत र पण्डितहरू पनि केही गर्दैनन्
त्यसो त चर्चहरूले पनि त
तिम्रो लागि केही गर्न सक्दैन
अनि पास्टरले पनि केही गर्न सक्दैन
आफैले गंड्यौलाले माछा मार्न सक्दैन
तिमी यो सोच्नु की
कुनै बल्छीमा उनियो भने
कसैको सहायता नै माछा मार्छ ।
त्यसैले
लुरे माइलादाई
तिम्रा सरल हातहरू
कर्मयोगी काँधहरू
अग्रपथमा लम्किरहेका पाइतालाहरू
दुःखी मनहरू
भाग्यलाई धिकार्ने विचारहरू
ठूला नेता मान्नु पर्ने बाध्यताहरू
खुम्चिएका आत्मविश्वासी छातीहरू
यी सबलाई
एकीकृत पार्नु आजको आवश्यकता हो
त्यसैले तिमीले चुम्केका हत्केलाहरू
आजैबाट कसिलोगरी कस्नु छ
किनकि फेरि
विद्रोहको आवश्यकता छ ।
रत्नप्रसाद अनामणि श्रेष्ठ नाला, काभ्रे, हाल काठमाडौं ।