• मंसिर ११ २०८१, मंगलवार

अध्यात्म र जीवन दर्शन

चैत्र २३ २०७७, सोमबार

मोहको क्षय हुनु भनेको मोक्ष हो । विषयप्रति राग घटेर, हटेर ईश्वरप्रति अनुराग बढ्नु मोक्षको संकेत हो । ईश्वर सर्जक हो, विज्ञान चाहिँ विसर्जक मात्र पनि हुन सक्छ । सर्जक प्रतिको धन्यवाद भनेको भक्तिको प्रक्रिया शुरु हुनु हो । मोक्ष धाम भनेको के होला ? जिज्ञासा हुन्छ सबैलाई ।
मोक्ष÷स्वर्ग भनेको कुनै स्थान, समय र परिवेश विशेष चाहिँ होइन । स्वर्ग भन्नु भाव विशेष हो । धर्मको निवासलाई स्वर्ग भनिन्छ । मोक्ष धाम भनेको त्यही हो । मोक्ष धाम त्यो धाम हो जहाँ, ज्ञान, दैवी संपदा, सदाचार हुन्छ, भ्रष्टाचार हुन्न । हिजो आज जताततै वासना ज्यादा देखिन्छ, वासनाको त्यागमा स्वर्ग बसेको हुन्छ । त्याग भनेको विषयवस्तुको अभावमा त्याग हुनु होइन । सम्पत्ति र सुखको अभावमा सबैले त्याग गर्न सक्छन् तर वरिपरि विषयको सुखानुभूतिमा त्याग हुनुको अर्थ त्याग हो । लक्ष्मी, सम्पत्ति, ज्ञान, शक्ति, पद, सत्ता सबैथरि साथमा हुँदा त्यागको अनुभव हुनुचाहिँ त्याग हो ।

मनले, वचनले, कर्मले, जसले अरुको निन्दा गर्दैन त्यो स्थल, क्षेत्र ,त्यो वातावरण, त्यो गाउँ, सहर, समुदाय, टोल वास्तवमा मोक्षधाम हो । शिवपुरी क्षेत्र, शिवक्षेत्र, पशुपति क्षेत्र, अयोध्या क्षेत्र, वृन्दावन क्षेत्र यी मोक्ष धाम हुन् किनभने यहाँ त्याग गर्ने महापुरुष, सिद्धपुरुष, योगीजन सेवक हुन् । शिव त्यागी छन् । राम त्यागी छन् । कृष्ण त्यागी हुन् । बुद्ध त्यागी भएकाले लुम्बिनी क्षेत्र मोक्षधाम हो । बुद्धले कसैको निन्दा गरेनन् ।

जहाँ नित्य उपासना गरिन्छ, दीक्षामंत्र पढिन्छ, वेदका ऋचाहरु घन्कन्छन् । गाईको सेवा हुन्छ, तुलसी, गीता, सज्जन, भक्त, सत्पात्र, सच्चरित्र व्यक्ति जहाँ रहन्छ, त्यो क्षेत्र दिव्य, मोक्ष, धाम क्षेत्र हुन्छ । देवी वन्दना जहाँ हुन्छ, त्यो क्षेत्र मोक्ष क्षेत्र हुन्छ । पावनी गंगा धारा वहेको स्थान, महात्माहरुको वासस्थान मोक्ष धाम हो । जहाँ मदिरा पान हुन्न, क्रय विक्रय हुन्न, मांस भक्षण हुन्न, जीव हत्या हुन्न, त्यो क्षेत्र मुक्ति क्षेत्र हो, मोक्ष धाम हो । सत्पुरुषसँग वार्ता जहाँ हुन्छ, संगीतका धुन, भजन, गायन, नृत्य क्षेत्र, पवित्र क्षेत्र त्यो ठाउँ मोक्ष धाम हो । भगवत नाम संजीवनी जहाँ हुन्छ, तीर्थ स्नान जहाँ हुन्छ, ती मोक्ष धामहरु हुन् । पाप नहुनु भनेको प्रदूषण नहुनु हो । जल प्रदुषण, ध्वनी प्रदुषण, वायु प्रदुषणले रोग सिर्जना गर्दछ । रोग र राग एकै विषय हुन् । राग पछि रोग र रोग पछि राग आउने गर्छन् । मन, वचन र कर्मले जहाँ प्रदुषण हुँदैन त्यो क्षेत्र पापरहित क्षेत्र हो र धर्म क्षेत्र हो ।

तप गरेर मोक्ष प्राप्ति हुन्छ तर तप भनेको के हो ? शरीर सुकाएर तप हुने होइन, भोजन त्याग गरेर तप हुने होइन, पंचाग्नी तापेर तप हुने होइन, जलाहारी वा फलाहारी भएर मात्र तपस्वी हुने भए जलचर, कीट पतंग, मृग, हात्ती, उँटहरु तपस्वी हुन्थे । हृदयमा श्रद्धा, मनमा विश्वास हुनुको नाम तप हो । पतन हुनुबाट बच्नुको नाम तप हो । तपस्वी हुने भनेको मोक्ष प्राप्त गर्नु हो । शिव र शक्ति साथमा लिनेले तप गरेको ठहर्दछ । शिव र शक्ति दुई विश्वास र श्रद्धा हो । ईश्वरप्रति भजन गर्नेले, प्रेम गर्नेले, भक्ति गर्नेले, हृदयदेखि ईश्वर प्राप्त गर्न प्रयास गर्नेले ईश्वर सर्वत्र देख्न सक्छ । ईश्वर विशालमा ब्रह्माण्डमय छन् भने शुद्धतामा चित्त् स्व?प आत्ममय छन् । निराकार उनको स्वभाव हो भने विशाल आकार उनको साकार ब्रह्माण्ड स्वरुप हो ।

निस्काम भावमा तप हुन्छ, निस्काम भावमा मोक्ष हुन्छ । धर्तीलाई स्वर्ग बनाउन सकिन्छ । धर्ती स्वर्ग हुन सक्ने हुँदा देवलोक, दिप्तलोक भावले देवताहरु धर्तीमा आधारित भएका हुन्छन् । महापुरुषहरु, दिव्यपुरुषहरु स्वर्गबाट धर्तीमा आधारित भएका छन् । धर्तीलाई स्वर्ग बनाउने विभिन्न अवस्थाहरु छन् । यिनलाई स्वर्गका ढोकाहरु भनिन्छ । मोक्षका द्वारहरु हुन् यिनीहरु । मूल रुपमा यश, दान, अध्ययन, अध्यापन, तप, शास्त्रज्ञान, पराक्रम, वुद्धिको समुचित प्रयोग, कृतज्ञता, धेरै नबोल्नु, सरल हुनु, कोमल हुनु, इन्द्रिय निग्रह हुनु, निर्लोभी हुनु अरुको धन सम्पत्तिमा तुच्छ दृष्टिपात नगर्नु वास्तवमा धर्तीलाई स्वर्ग बनाउने आधार स्तंभहरु हुन् । जहाँ धर्मको चिन्तन हुँदैन, त्यो धार्मिक स्थल हुन सक्तैन, धार्मिक सभा हुन सक्तैन । त्यो दिव्यधाम हुँदैन, त्यो दिव्य क्षेत्र हुँदैन, मोक्ष क्षेत्र पनि हुनसक्तैन ।

कुटुम्बमा वैर छ, परिवारमा द्वेष छ, सर्वत्र दोषदृष्टि छ भने उसलाई तपस्वी भन्न मिल्दैन । मानिस ध्यान–ब्रतमा संलग्न भएर मात्र व्यक्ति तपस्वी बन्ने होइन । माला लगाएर पनि होइन, गेरु वस्त्र लगाएर मात्र पनि होइन । समाजमा, राष्ट्रमा वैर छ भने व्यक्ति तपस्वी भन्न मिल्दैन । मोक्षधाम समक्ष पु¥याउने आत्मा साच्चै साथी हो, मित्र हो । आत्मैव ह्यात्मनो बन्धु भनिएको छ शास्त्रमा । आफ्नो आत्मा नै साँचो अर्थमा मित्र हो । आत्मा प्रति विश्वास नगर्नेलाई परमात्मा प्रति विश्वास हुँदैन । गीता अध्ययन, वेद पाठ र उच्च अनुष्ठानहरुले पनि मनलाई पवित्र पार्न कठिन हुन्छ यदि व्यक्ति आफैंलाई आफ्नो आत्मालाई आँफैले विश्वास गरेको हुँदैन भने । आत्म विश्वास गर्नेहरुले आत्महत्यालाई स्वीकार गर्दैनन् । सर्वोपरि मंत्र भनेको “हरि ओम् तत्सत्” नै हो । सबै मन्त्र सबैलाई सहज नहुन सक्छ । धेरै लगानी र ठूला मन्त्रोच्चारणबाट मात्र आत्मबोध हुन्छ भन्ने पनि होइन ।

हृदयमा शंका हुनेलाई, आत्माप्रति विस्मय हुनेलाई, आत्माप्रति स्नेह र विश्वास नहुनेलाई ईश्वरप्रति स्नेह र विश्वास हुन सक्तैन । यस्ता व्यक्तिलाई यो लोकमा सुख मिल्दैन । यो लोकमा सुख प्राप्त नगर्नेले परलोकमा सुख प्राप्त गर्छ भन्ने होइन । घर बनाउनु अघि नक्सा कोरिन्छ, इन्जिनियर, योजनाकारले काम गर्नु अघि नक्सा तयार गर्छ, डिजायन तयार गर्छ । खेलाडीहरुले उत्कृष्टता प्राप्तिका लागि रिहर्सल गर्छन् भने श्रव्य, दृश्यमा, नाटक, गीत, भजन देखाउनु अघि रेकर्ड गरिन्छ । अर्थात् सबैथरिको पूर्व योजना हुन्छ । पूर्व योजना हुनु भनेको पूर्व अभ्यास पनि हो । भविष्यमा के कस्तो होला, मोटामोटी आँकलन गर्ने हो । स्वर्गीय आनन्द लिनेले त्यसको पूर्वाभ्यास गर्नुपर्ने हुन्छ । अभ्यास नगरी सहजै कुनै कुराको प्राप्ति संभव छैन । ”अभ्यासेन तु कौन्तेय वेराग्येन तु गृण्यते” भनिएको छ गीतामा ।

आत्माको शरीर वेद हो, स्वरुप यसको मन्दिर हो । वेद स्वयं भगवान् हो । वेदको सार आत्मा हो । वेदको उपसंहार पनि आत्मा नै हो । तत्वज्ञान प्राप्त भएपछि छोड्न मन लाग्दैन । बुद्धिद्वारा यसको बोध हुन्छ । वेदबाट तत्वज्ञान प्राप्ति हुन्छ । वेद ४ किसिमका छन् । यजुर्वेद, ऋग्वेद, अथर्ववेद र सामवेद । सबै वेदहरु मानव शरीका लागि नभई नहुने विषयहरु हुन् । तपबाट स्वर्ग मिल्छ, दानबाट भोग र सुख मिल्छ, तीर्थ स्नानबाट पाप नाश हुन्छ । ज्ञान र वैराग्यबाट मोक्ष प्राप्ति हुन्छ । भक्तिबाट ज्ञान र वैराग्य प्राप्ति हुन्छ । यो साइकलको चक्का जस्तै छ, घुमिरहन्छ । सबैको मूल जरो चाहिँ भक्ति नै हो, भक्ति वास्तवमा भाव हो, भक्ति सेवा हो, भक्ति सरलता हो । व्यक्तिले सरल, तरल हुन चाहनेले भक्तिको शरण, चरण ग्रहण गर्नु जरुरी छ । व्यक्तिको सरलता उसको संलग्नतामा हुन्छ ।

कठोर हृदयबाट व्यक्ति सरल हुन सक्तछ । आत्मबोधबाट ईश्वरबोध हुन्छ । ईश्वर बोधबाट परमेश्वर बोध हुन्छ । प्रयास विना केही संभव छैन । घडा घोप्ट्याएर राख्दा वर्षाको पानीले भरिन्न । नव वर्षको पूर्व सन्ध्यामा छौँ हामी अहिले आशा गरौ हाम्रो देव भूमिमा शान्ति र अहिँसाको उज्यालो घामले प्रवेश गरोस्, काला बादलहरु हटून्, सवत्र नवीनतम होस् जन जीवन । जनजीविका सबैका लागि सहज होस् । वसन्तको आगमन सँगै नयाँ वर्ष २०७८ ले हर नेपालीमा सुख र समृद्धि ल्याओस् ।