• मंसिर १३ २०८१, बिहीबार

बालुवाटारबाटै देशभरका सडक शिलान्यास गर्नु नौटंकी नै होः शाही

चैत्र २३ २०७७, सोमबार

काठमाडौँ। प्रतिनिधि सभा सदस्य रंगमती शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीले तयारीविनै बालुवाटारबाट १६५ निर्वाचन क्षेत्रका सडक शिलान्यास गर्नुलाई नौटंकीको संज्ञा दिएकी छन् । सोमबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै शाहीले तयारी नै नगरी १६५ सडकको शिलान्यास गरिएको बताएकी हुन् ।

उनले भनिन् ‘तयारी नै नगरी प्रधानमन्त्रीज्‍युले रणनीतिक सडक बालुवाटारबाट शिलान्यास गर्नुहुन्छ । यो त नौटकी नै हो,’

उनले संसदले जन्माएको प्रधानमन्त्री संसद र सिंहदरवारमा आउन डराएको र बालुवाटार पनि सरकारी निवास नै भएकाले बालकोटमै गएर राज गर्दा राम्रो हुने सुझाव दिइन् । ‘संसदले जन्माएको प्रधानमन्त्री संसद र सिंहदरबार आउन डराउनुहुन्छ । बालुवाटार पनि सरकारी निवास हो । अब बालकोटमै गएर राज गर्दा राम्रो होला’ उनले भनिन् ।

उनले नेकपा एमालेले नयाँ बनाउन लागेको पार्टी कार्यालयप्रति पनि टिप्प्णी गरिन् । ‘देश रेलमार्ग, जलमार्ग र सुरुङमार्गमा प्रवेश गर्यो रे नयाँ युगमा प्रवेश गर्यो रे । मेरो जिल्लाका बासिन्दाले अहिलेसम्म एम्बुलेन्स देखेका छैनन् । बिरामीले अकालमै ज्यान गुमाउनु परेको छ । भ्रष्टाचार गर्दिनँ, गर्न पनि दिन्नँ भन्नुहुन्छ । जसले राज्यको कर छली गर्न सक्छ उसैको घरमा पार्टी कार्याल्य हुन्छ ।’