• मंसिर १३ २०८१, बिहीबार

कर्णालीका तीन मन्त्रीद्वारा आजै राजीनामा

चैत्र २३ २०७७, सोमबार

काठमाडौं । कर्णाली प्रदेश सरकारका आर्थिक मामलामन्त्री प्रकाश ज्वाला, सामाजिक विकासमन्त्री दल रावल र पर्यटन, उद्योग, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढा गरी तीनैजना मन्त्रीले सोमवार राजीनामा दिने तयारीमा छन् । तीनै जनाले सामुहिक रुपमा राजीनामा दिएपछि अब माओवादी केन्द्रका नेता तथा प्रदेश मुख्यमन्त्री महेन्द्र शाहीको प्रदेश सरकार अल्पमतमा पर्ने भएको छ ।

मन्त्री प्रकाश ज्वालाका अनुसार आफू सम्बद्ध पार्टीको संसदीय दलले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता गर्ने निर्णय गरी सरकारबाट बाहिरिन निर्देशन दिएपछि सामूहिक राजीनामा गरिन लागिएको हो । केही दिन अघि बसेको नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलको बैठकले तीनैजना मन्त्रीलाई तत्काल राजीनामा गरी सरकारबाट बाहिरिन निर्देशन दिएको थियो ।

४० सदस्यीय कर्णाली प्रदेश सभामा नेकपा एमालेका २० र माओवादी केन्द्रका १३ जना सांसद छन् । बाँकी रहेका ७ जनामा ६ जना नेपाली कांग्रेसका र १ जना राष्ट्रिय प्रजातन्त्र पार्टीका छन् ।